काठमाडौं : कीर्तिपुर नगरपालिकामा ३०० यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदाय सम्पर्कमा रहेका समर्पण सभ्य समाज नेपालले जनाएको छ। तेस्रो लिङ्गी अभिभावकका बालबालिकाको शिक्षामा काम गर्दै आएको समाजले ३०० समुदायका सदस्य सम्पर्कमा रहेको जानकारी दिएको हो।
विद्यालयलाई तेस्रो लिङ्गी अभिभावकका बालबालिका मैत्री बनाउने अभियानमा स्थानीय तहले तथ्याङ्क माग गरेको समर्पण सभ्य समाजका सचिव हनि महर्जनले जानकारी दिए। कीर्तिपुरको ३ नं. वडा कार्यालयले सचेतना अभियान सञ्चालन गर्नका लागि तथ्याङ्क माग गरेको र आफ्नो संस्थाको सम्पर्कका रहेका समुदायको सङ्ख्या ३०० सय रहेको जानकारी दिएको सचिव महर्जनले बताए।
सचिव महर्जनले वडा अध्यक्ष र कार्यालयका कर्मचारीलाई आफ्नो समुदायको बारेमा सचेतना दिँदै तथ्याङ्क सङ्कलन गर्ने काम राज्यको भएको बताए।
यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायबारे वडा कार्यालय नै अनविज्ञ रहेको पाइएको समर्पण सभ्य समाज नेपालका स्वयंसेवक नमस्तिका श्रेष्ठले बताए। ‘वडा अध्यक्षलाई नै हाम्रो समुदायको बारेमा केही थाहा रहेनछ, पहिलो पटक सुनेको भन्नुभयो,’नमस्तिकाले भने,’अहिलेसम्म वडामा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायकोबारेमा केही कार्यक्रम गरेका छैनौ भनेर फर्काउनुभयो।’
केन्द्रीय तथ्याङ्क कार्यालयले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको गणना नगर्दा सरकारी निकायहरू नै अलमलमा परेको उनले बताए। ‘म तेस्रो लिङ्गी हुँ, म जस्तै धेरै साथीहरू सम्पर्कमा आउनु भएको छ,३०० जना हाम्रो सम्पर्कमा छन्,’उनले भने,’सरकारले गणना नगर्दा तथ्याङ्क सहित समुदायको आवश्यकताका लागि कुरा गर्न अप्ठ्यारो परेको छ।’
दोस्रो मिस्टर गे हेन्डसम नेपालका मनिन्द्र सिंह दनुवारले केही सीमित व्यक्तिको स्वार्थपूर्तिमा बाधा आउने देखिए पछि गणना गर्न रोकिएको बताए। ‘विना तथ्याङ्क काम गर्न र माग गर्न पनि सकिँदैन,’यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको तथ्याङ्कमै काम गरेका मनिलले भने,’सीमित व्यक्तिको स्वार्थपूर्तिका लागि समुदायको गणना गर्ने काम नरोकियोस्।’
किन लुक्यो ‘अन्य’ पहिचानको तथ्याङ्क? (भिडियो)
तथ्याङ्क कार्यालयले गत २०७८ मा भएको राष्ट्रिय जनगणनामा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकको गणना गरेन। तत्कालै सर्वे गरेर तथ्याङ्क निकाल्ने भनेको कार्यालयले कुनै तयारी सुरु नभएको बताएको छ। तथ्याङ्क कार्यालयले घर परिवार गणनाका आधारमा ‘अन्य’ लैङ्गिक पहिचान भएका नागरिकको सङ्ख्या २ हजार ९२८ रहेको सार्वजनिक गरेको छ।
चालु आर्थिक वर्ष गणना गर्ने योजनामा राखिए पनि अर्थ मन्त्रालयसँग सम्झौता नहुँदा तयारी नै सुरु नभएको तथ्याङ्क कार्यालयका उपनिर्देशक ढुण्डिराज लामिछानेले बताए। ‘तथ्याङ्क कार्यालयले यो वर्ष पनि योजनामा राखेको थियो,डोनरको पैसा हो,’उनले पहिचानसँग भने,’अर्थ मन्त्रालयसँग सम्झौता नहुँदा काम सुरु भएको छैन।’
तथ्याङ्क कार्यालयले आगामी आर्थिक वर्षको योजनामा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको सर्वे गर्ने कार्यक्रम राखिएको उनले बताए। ‘अब आउने वर्ष गणना होला भनौँ,’उनले भने,’कार्यान्वयनमा नगएसम्म के हुन्छ भन्न सकिँदैन।’
यो पनि : नेपालको सर्वेका लागि भुटानमा छलफल, अर्थले रोक्यो २७ करोड
नील हिरा समाज, मितिनी नेपालसहितका संस्थाले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको सर्वे गर्न सरकारी निकायका प्रतिनिधि समेतलाई लगेका थिए। नेपालको सर्वे गर्ने छलफल विदेशमा गर्नेहरूकै कारण समुदायको यकिन तथ्याङ्क सङ्कलन गर्ने काम सुरु गर्न नसकिएको स्रोतले बताएको छ।
नेपालमा पहिलो समलिङ्गी विवाह कानुनी रूपमा दर्ता गर्न सफल मायाको पहिचान नेपालले यो या त्यो बहानामा तथ्याङ्क सङ्कलनको काम रोकिन नहुने बताएको छ। अध्यक्ष माया गुरुङ्गले समुदायको तथ्याङ्क लिने काम तत्काल सुरु गर्न माग गरिन्।
उनले तथ्याङ्क नहुँदा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको पहिचानमा धावा बोल्ने काम भएको बताइन। ‘तिमीहरू कति छौँ? सङ्ख्या कति हो? राज्यले गणना गरेको छैन र? भन्ने जस्ता प्रश्न बारम्बार सुनिरहनु परेको छ,’अध्यक्ष गुरुङ्गले भनिन्,’यो या त्यो बहानामा हाम्रो समुदायको तथ्याङ्क सङ्कलन गर्ने काम रोक्नु हुँदैन।’
सम्बन्धित समाचार :
मायाको पहिचान नेपाल : विवाह दर्ताका लागि सहयोग गर्ने, कसरी भयो पहिलो विवाह दर्ता (भिडियो)
यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले उठाए नील हिरा समाजको अपरदर्शिता
अन्यको नागरिकता लिन प्रमाण पेस गर्नु नपर्ने, तोकिएको पहिचान खुलाउन पाउने
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.