जेल परेका चार सहकारीका सञ्चालकसँग बयान

जेल परेका चार सहकारीका सञ्चालकसँग बयान

264
SHARES

काठमाडौं : सहकारी क्षेत्रमा देखिएका समस्या समाधानका लागि गठित ‘संसदीय छानबिन विशेष समिति’ले पीडकहरूसँग धमाधम बयान लिएको छ।

शुक्रवार पहिलो दिन गौतम श्री, लालीगुराँस र गोरखा बचत तथा ऋण सहकारी संस्थाका सञ्चालकहरूसँग बयान लिएको समितिले शनिवार थप चार सहकारीका सञ्चालकहरूसँग बयान लिएको हो।

विशेष समितिको कार्यविधिअनुसार विभिन्न सहकारीको बचत दुरुपयोगमा संलग्न व्यक्तिहरूमध्ये पशुपति बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष तथा कान्तिपुर सेभिङ एन्ड कोअपरेटिभका पूर्व अध्यक्ष सीबी लामा भनिने चन्द्रबहादुर तामाङसँग केन्द्रीय कारागार, जगन्नाथ देवलबाट समितिको बैठकमा ल्याएर सोधपुछ गरिएको सभापति सूर्य थापाले जानकारी दिए।

नागरिक विकास सहकारी संस्थाका अध्यक्ष नुनम सुब्बासँग नख्खु जेलबाट समितिको बैठकमा ल्याएर सोधपुछ गरिएको उनले बताए।

सभापति थापाका अनुसार शिवशिखर बहुउद्देश्यीय सहकारी संस्था, कौशलटार भक्तपुरका शेयर सदस्य, ऋणी तथा केदारनाथ शर्माकी श्रीमती गीता शर्मासँग केन्द्रीय कारागार, जगन्नाथ देवलबाट समितिको बैठकमा ल्याएर सोधपुछ गरिएको छ। यस्तै तुलसी बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष केदारनाथ शर्मासँग नख्खु जेलबाट समितिको बैठकमा ल्याएर सोधपुछ गरिएको छ।

जेल भित्रै रहेका कैदीहरूलाई संसदीय समितिमै ल्याएर बयान गरिएको हो। बयानकालागि शिव शिखर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, तुलसी बहुमुखी सहकारी संस्था लिमिटेड, पशुपति सेभिङ क्रेडिट को–अपरेटिभ लिमिटेड र नागरिक बचत तथा ऋण सहकारीका सञ्चालकहरूसँग बयान लिइएको समिति सदस्य ईश्वरी देवी न्यौपानेले जानकारी दिइन।

सात सदस्यीय ‘सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समिति’ले तीन महिनाभित्र प्रतिवेदन पेस गर्नुपर्ने छ।

सहकारी विभाग र समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले सार्वजनिकीकरण गरेका अनुसूची, १ मा उल्लेख भएका संस्थाहरूको समस्या समाधानको प्रयास गरेको समितिले जनाएको छ।

समस्याग्रस्त सहकारीको अध्ययन विश्लेषण गरी अविलम्ब बचत फिर्ताको उपायसहितको सुझाव दिने समितिले बताएको छ। समितिले पाएको तीन महिना मध्ये २ महिना सकिएको छ। समितिले अबको एक महिना भित्रमा काम सकाउनुपर्नेछ।

आगामी भदौ एक गतेसम्म सहकारीका सञ्चालक तथा अध्यक्षहरूसँग बयान लिने कार्य सक्ने योजना बनाएको समितिले अहिले अर्बौँ रुपैयाँ अपचलन भएका सहकारीका अध्यक्ष र सञ्चालकलाई सोधपुछ सुरु गरेको हो।

समितिले गोर्खा मिडिया नेटवर्कमा गएको सहकारीको रकमबारे पूर्वगृहमन्त्री रवि लामिछानेसँग पनि सोधपुछ गर्ने तयारी गरेको छ।

समाचार शेयर गर्नुहोस्
264
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.