जङ्गीअड्डामा उपहार आदानप्रदान गरेर बिदा भए शर्मा

जङ्गीअड्डामा उपहार आदानप्रदान गरेर बिदा भए शर्मा

408
SHARES

काठमाडौं : करिब ४२ वर्ष सैनिक सेवा एवं प्रधान सेनापतिको तीन वर्षे कार्यकाल सम्पन्न गरी भाद्र २४ गतेबाट अवकाश प्राप्त गर्न लागेका प्रभुराम शर्माको सम्मानमा जङ्गी अड्डामा बिदाइ कार्यक्रम भएको छ।

कार्यक्रममा रक्षा सचिव रामेश्वर दंगालले नेपाली सेनाको संस्थागत सुदृढीकरण, आधुनिकीकरण र व्यावसायिक क्षमता वृद्धिका लागि प्रधान सेनापति शर्माले पुर्‍याउनु भएको योगदान चिरकालपर्यन्त स्मरणीय रहने बताए। प्रधान सेनापति शर्माको बौद्धिक व्यक्तित्व, रणनीतिक सुझबुझ र नेतृत्व कौशलबाट आफू प्रभावित रहेको उनले उल्लेख गरे।

नयाँ प्रधान सेनापतिको रूपमा कार्यभार सम्हाल्न लागेका कायममुकायम प्रधान सेनापति अशोकराज सिग्देललाई बधाई दिँदै सचिव दंगालले रक्षा मन्त्रालय र नेपाली सेनाबिच रही आएको सौहार्दपूर्ण सम्बन्धलाई आगामी दिनमा थप सुदृढ र नतिजामुखी बनाउन आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने बताए।

कार्यक्रममा कायममुकायम प्रधान सेनापति सिग्देलले शर्माको सन्तुलित जीवन तथा शालीन शैली, जटिल परिस्थितिहरूको बस्तुपरक ढङ्गबाट सामना गर्न सक्ने क्षमताबाट आफू ज्यादै प्रभावित भएको उल्लेख गरे।

नेपाली सेनाको साख तथा प्रतिष्ठालाई थप उचाइमा पुर्‍याउन शर्माले प्रदर्शन गर्नु भएको दृढता र समर्पण भाव नेपाली सेनाको इतिहासमा सदैव जीवन्त रहने सिग्देलले बताए।

प्रधान सेनापति शर्माले नेपाली सेनामा नेतृत्व परिवर्तन नियमित प्रक्रिया रहेको उल्लेख गर्दै आफ्नो कार्यकालमा भएका दीर्घकालीन योजनाहरूको कार्यान्वयन तथा अन्य साङ्गठनिक उपलब्धिहरू सम्पूर्ण सकलदर्जाको सामूहिक प्रयासबाट सम्भव भएको बताए।

उनले आफ्नो कार्यकालमा भएका संस्थागत सुदृढीकरण एवं विविध सकारात्मक प्रयासहरूमा निरन्तर साथ, सहयोग र रचनात्मक सुझाव प्रदान गर्ने रक्षा मन्त्रालय लगायत सम्बद्ध सबैमा कृतज्ञता व्यक्त गरे।

यो पनि : सेनापतिको कार्यभार लिएका सिग्देल को हुन्?

कार्यक्रममा प्रधान सेनापति शर्माले नेपाली सेनालाई सम्झना स्वरूप उपहार प्रदान गरे भने नेपाली सेनाको तर्फबाट प्रधान सेनापतिलाई कायममुकायम प्रधान सेनापति सिग्देलले सम्झना स्वरूप उपहार प्रदान गरे।

त्यसै गरी सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक राजु अर्याल, नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक टेक प्रसाद राई र राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक हुतराज थापाले प्रधान सेनापति शर्मालाई सम्झना स्वरूप उपहार प्रदान गरे।

यस अघि प्रधान सेनापति शर्माले कायममुकायम प्रधान सेनापति सिग्देललाई नेपाली सेनाको झन्डा, प्रधान सेनापतिको झन्डा तथा छडी हस्तान्तरण गरेका थिए भने प्रधान सेनापति शर्माको सम्मानमा एक टुकडीले सम्मान गारद समेत अर्पण गरेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ।

समाचार शेयर गर्नुहोस्
408
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.