काठमाडौं : प्रधानसेनापति प्रभुराम शर्माले शुक्रवारदेखि अनिवार्य अवकाशमा जाँदै छन्। नेपाली सेनाको सहायक सेनानी दर्जामा प्रवेश गरी करिब ४१ वर्षसम्म सेवा गरेका प्रधान सेनापति शर्मा शुक्रवारबाट अनिवार्य अवकाशमा जान लागेका हुन्।
नेपाली सेनाको प्रचलित परम्परा अनुसार उनी शुक्रवारबाट बिदामा बस्दैछन्। बिदामा बस्ने अघिल्लो दिन प्रधानसेनापति शर्माले बलाधिकृत रथी अशोकराज सिग्देललाई प्रधान सेनापतिको कार्यभार बुझबुझारथ गरेका छन्।
सिग्देलले शुक्रवारबाट कायममुकायम प्रधानसेनापतिको जिम्मेवारी सम्हाल्ने जङ्गी अड्डाले जनाएको छ। करिब ३८ वर्षदेखि नेपाली सेनामा सेवारत बलाधिकृत रथी सिग्देलले स्वदेश तथा विदेशबाट उच्च शिक्षा र सैनिक तालिम लिएका छन्।
उनले आर्मी कमान्ड एन्ड स्टाफ कलेज, शिवपुरी र चीनको नेशनल डिफेन्स युनिभर्सिटीबाट स्नातकोत्तर, नेपालको आर्मी वार कलेजबाट हायर कमान्ड एन्ड म्यानेजमेन्ट कोर्स र भारतबाट डिफेन्स म्यानेजमेन्ट कोर्स पूरा गरेका छन्।
सिग्देलले पदिक पृतना, बाहिनी र गणको कमान्ड गर्नुका साथै प्रतिविद्रोह तथा जङ्गल वारफेयर स्कुलको कमान्डेन्टको जिम्मेवारी पनि बहन गरेका छन्। युद्धकार्य विभाग र व्यवस्था, नीति तथा योजना महानिर्देशनालयको विभागीय प्रमुखका साथै प्रधानसेनापतिको सैनिक सहायकको रूपमा समेत उनले जिम्मेवारी निर्वाह गरिसकेका छन्।
अन्तर्राष्ट्रिय सेमिनार, तालिम तथा बैठकहरूमा सहभागिताका अलावा उनीसँग संयुक्त राष्ट्र सङ्घीय शान्ति सैनिकका रूपमा पूर्व युगोस्लाभिया, ताजिकिस्तान र लाइबेरियामा खटिएको अनुभव छ। सिग्देल सुप्रवल जनसेवाश्री तेस्रा लगायत विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पदक र मानपदवीहरूबाट विभूषित भएका छन्।
नागरिकता विवाद भने कायमै
कायममुकायम प्रधानसेनापति सिग्देल नागरिकतामा जन्ममिति फरक परेपछि विवादमा तानिएका थिए। जिल्ला प्रशासन कार्यालय रुपन्देहीबाट २०४० साउन २९ मा जन्ममिति १७ वर्ष कायम भएको नागरिकता लिएका रथी सिग्देलले २०५८ मा जिल्ला प्रशासन कार्यालय जाजरकोटबाट लिएको नागरिकताको प्रमाणित प्रतिलिपिमा जन्ममिति फरक देखिए पनि विवादमा तानिएका हुन्।
सेनापतिको रोलक्रममा रहेका बलाधिकृत रथी ताराध्वज पाण्डेले नागरिकता विवादमा राजीनामा दिए पछि सिग्देललाई प्रधानसेनापति बन्ने बाटो खुलेको हो। उनी जन्ममिति विवादमा परिरहँदा कायममुकायम प्रधानसेनापति बनेका छन्।
सिग्देललाई प्रधानसेनापति बनाउन लागेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायत विभिन्न ठाउँमा उजुरी समेत परेको छ। सिग्देलले नागरिकताको प्रतिलिपि लिँदा पुरानो विवरणमा थपघट गरेको आरोप लागे पनि नेपाली सेनाले सिग्देलको नागरिकता किर्ते वा दुई वटा नभएको दाबी गर्दै आएको छ।
वैयक्तिक विवरण नागरिकताको प्रमाणपत्र र शैक्षिक योग्यता प्रमाणपत्रमा जन्म मिति वर्ष, महिना र गतेसमेत खुलेको र सबैमा एउटै मिति नरहेको भएमा जुन मितिबाट पहिले अवकाश हुन्छ, सोही मितिबाट अवकाश दिइने सैनिक सेवा नियमावलीले प्रस्ट व्याख्या गरेको छ।
केही दिन अघि जङ्गीअड्डामा भएको पत्रकार सम्मेलनमा सैनिक प्रवक्ता सहायक रथी गौरवकुमार केसीले नागरिकता प्रमाणपत्रमा उल्लेख उमेर (वर्ष) र शैक्षिक प्रमाणपत्रमा उल्लेख जन्म मितिमध्ये कुनलाई मान्यता दिने भन्नेसम्बन्धी छुट्टै कानुनी व्यवस्था रहेको बताएका थिए।
कुनै प्रमाणपत्रमा वर्ष मात्र उल्लेख भएको र अर्को प्रमाणपत्रमा पूरा जन्ममिति खुलेको रहेछ र त्यस्तो प्रमाणपत्रमा उल्लिखित जन्म मितिको बीचमा एक वर्षको अन्तर देखिएमा पूरा खुलेको जन्म मितिलाई आधार मान्नुपर्ने कानुनी व्यवस्था रहेको प्रवक्ता केसीले सुनाएका थिए।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.