पूर्वतयारीमा चुकेको स्वीकार, राहत प्याकेज गुमनाम

पूर्वतयारीमा चुकेको स्वीकार, राहत प्याकेज गुमनाम

काठमाडौं : अविरल वर्षा सँगैको बाढी पहिरोका कारण ज्यान गुमाएका नागरिकको शव निकाल्ने काम चलिरहेको छ। बाढी पहिरोमा फसेका नागरिकको उद्धारमा हेलिकप्टर उडिरहेका छन्। अस्पतालहरू घाइतेहरूले भरिएका छन्। बेड पाउन मुस्किल परेको पीडितले गुनासो गरेका छन्।

गृह मन्त्रालयको पछिल्लो तथ्याङ्क अनुसार बाढी पहिरोमा मृत्यु हुनेको सङ्ख्या २३८ पुगेको छ। १०७ जना घाइते भएका छन्। २९ जना बेपत्ता रहेका तथ्याङ्क मन्त्रालयले दिएको छ। बाढी, पहिरो र डुबानमा परेर उपत्यका र अन्य चार प्रदेशका ३२ जिल्ला प्रभावित भएका छन्।

कोशी प्रदेशमा २५, मधेस प्रदेशमा ७, उपत्यकामा ९८, बागमती प्रदेशमा १०५ र लुम्बिनी प्रदेशमा ३ जनाको मृत्यु भएको सशस्त्र प्रहरीका प्रवक्ता, नायब महानिरीक्षक कुमार न्यौपानेले जानकारी दिए। उनका अनुसार ४ हजार ५०९ जनाको भने सकुशल उद्धार गरिएको छ। बाढी पहिरोपछि उद्धारका लागि ३० हजार सात सय ६ जना सुरक्षाकर्मी परिचालन भएका छन्।

सरकारले बाढी पहिरोका कारण अहिलेसम्म १८ अर्ब भन्दा बढी क्षति पुगेको बताएको छ। खानेपानीको संरचनामा ३ अर्ब ५५ करोड, सडक संरचनामा २ अर्ब ५२ करोड, ऊर्जाको पूर्वाधारमा ४ अर्ब तथा सिँचाइमा १ अर्बको क्षति भएको अनुमान सरकारले गरेको छ। कृषि तथा पशुपक्षी तर्फ ६ अर्बको नोक्सानी भएको छ। दूर सञ्चारको ३१२ साइटमा क्षति पुगेको छ।

गृहमन्त्री रमेश लेखकका अनुसार सरकारले ७ सयभन्दा बढी मानिसको हेलिकप्टरबाट उद्धार गरेको छ। सरकारले तत्काल अस्थायी आवास निर्माण गर्ने र आगामी दिनमा स्थायी आवास बनाउने व्यवस्था मिलाएको दाबी गृहमन्त्री लेखकले गरे। मन्त्रालयका सहसचिवको नेतृत्वमा ८ वटा टोली बनाएर मङ्गलवार क्षतिग्रस्त ८ जिल्लामा पठाइएको जानकारी उनले दिए।

वर्षाका कारण काठमाडौँ र सिन्धुपाल्चोकको सीमामा रहेका दुई गाउँ पहिरोको उच्च जोखिममा परेका छन्। काठमाडौँको शङ्खरापुर नगरपालिका–१ र सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका वडा नं –१३ को सिमानामा पर्ने छापभञ्ज्याङस्थित दुई गाउँ पहिरोको उच्च जोखिममा परेका हुन्। छापभन्ज्याङ र ढकालबस्तीमा सडकसँगै बस्ती नै भासिएको छ भने करिब डेढमिटर जमिन बगिसकेको छ।

अविरल वर्षाले बाढी र पहिरो जाँदा ७८ वटा सामुदायिक विद्यालयमा क्षति पुगेको छ। शिक्षा मन्त्रालयका प्रवक्ता लक्ष्मीप्रसाद भट्टराईका अनुसार अझै बाढी पहिरोबाट क्षति पुगेका विद्यालयहरूको सङ्ख्या बढ्ने देखिएको छ। क्षति पुग्ने विद्यालयको थप विवरण आउने क्रम जारी छ।

पूर्वतयारीमा चुकेको स्वीकार

बाढी पहिरोले विध्वंस गर्दा उद्धार र राहतमा खटिनु पर्ने सरकार भने बेपत्ता बनेको छ। बाढी पहिरोले तहसनहस पारे पछि झुल्किएका प्रधानमन्त्री केपी शर्मा ओलीले उद्धार र राहतमा ढिला भएको स्वीकार गरेका छन्।

बाढी पहिरोको समयमा प्रधानमन्त्री ओली, नेपाल प्रहरीका प्रमुख आइजिपी वसन्तबहादुर कुँवर र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख (सीईओ) अनिल पोखरेल देश बाहिर थिए। प्रधानमन्त्री ओली सोमबार फर्किए पनि आइजिपी कुँवर र सीईओ पोखरेल विदेशमै छन्।

प्रधानमन्त्री ओली पूर्वनिर्धारित कार्यक्रममा भाग लिएर सोमबार मात्रै स्वदेश फर्किए। भैँसी दुहुन नगएको अभिव्यक्ति दिए पछि आलोचित बनेका प्रधानमन्त्री ओलीले मङ्गलवार मौसम विभागले पूर्वानुमान गरेर अलर्ट जारी गरे पनि सरकार पूर्व तयारीमा चुकेको स्वीकार गरे।

उद्धार, राहत र पुनर्स्थापना पर्खेका नागरिकलाई बैठक नै बैठक राखेर अत्त्याउने काम मात्रै गरेको सरकारले अझै राहत प्याकेज घोषणा गरेको छैन। एउटै निर्णय गर्न उपप्रधानमन्त्री प्रकाशमानसिंह देखि गृहमन्त्रीले पटकपटक बैठक राखे।

प्रधानमन्त्री ओली फर्कँदै गर्दा बाटोबाटै बोलाइएको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय शोक घोषणा गर्‍यो तर, राहत प्याकेज गुमनाम राखेको छ। प्रधानमन्त्री ओलीले भने राष्ट्रिय शोकको घडीमा सबै नेपालीमा एक हुन आह्वान गरे। विपद्को यस्तो जटिल अवस्थामा कुनै राजनीतिक रङ्ग नदल्न समेत ओलीले भनेका छन्।

दुखका बेला सरकारमाथि चौतर्फी हमला भएको गुनासो प्रधानमन्त्री ओलीले गरे। सरकाले जे गरे पनि चित्त बुझाउन नसक्ने तत्त्वहरूले आफ्ना विरुद्ध भ्रम छरिरहेको भन्दै प्रधानमन्त्री ओलीले दुखका बेला बाढी पहिरोका विषयमा कुरा गर्दा सहकारीको बखेडा झिकेर अनर्गल प्रचार भएको टिप्पणी गरे।

पूर्वगृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टीका (रास्वपा)का सभापति रवि लामिछानेमाथि सहकारीको बचत रकम अपचलनमा संसदीय छानबिन समितिले कारबाहीको सिफारिस गरेको छ। राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा लामिछानेले सरकार विपद्को पूर्व तयारी भन्दा पनि आफूलाई फसाउन लागि परेको आरोप लगाए।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.