नेपालको आर्थिक वृद्धिदर ५.१ प्रतिशत पुग्ने विश्व बैङ्कको प्रक्षेपण

नेपालको आर्थिक वृद्धिदर ५.१ प्रतिशत पुग्ने विश्व बैङ्कको प्रक्षेपण

काठमाडौं : विश्व बैङ्कले चालु आर्थिक वर्ष (सन् २०२५)मा नेपालको आर्थिक वृद्धिदर गत आर्थिक वर्ष (सन् २०२४)को ३.९ प्रतिशतबाट बढेर ५.१ प्रतिशत पुग्ने प्रक्षेपण गरेको छ।

उच्च पर्यटक आगमन, जलविद्युत र धान उत्पादनको वृद्धिले निर्देशित गर्ने विश्व बैङ्कको बुधवार सार्वजनिक नेपाल डेभलपमेन्ट अपडेट : अन्तर्राष्ट्रिय आप्रवासन र नेपालमा यसको प्रभाव विषयक प्रतिवेदनमा उल्लेख छ।

नेपालको अर्थतन्त्र आगामी आर्थिक वर्ष (सन् २०२६)मा भने ५.५ प्रतिशतले वृद्धि हुने अनुमान विश्व बैङ्कले गरेको छ। केन्द्रीय बैङ्कको लचक मौद्रिक नीति र नियामकीय प्रावधानहरूमा गरिएको सहजीकरणका कारण नेपालको वृद्धिमा निजी क्षेत्रको महत्त्वपूर्ण योगदान रहने बैङ्कले उल्लेख गरेको छ।

प्रतिवेदनले बहु जोखिमहरू पनि पहिचान गरेको छ, जसअन्तर्गत वित्तीय प्रणालीमा उच्च जोखिमसहितको निजी क्षेत्रको कर्जा वृद्धिलाई सीमित गर्ने निष्क्रिय कर्जा, लगानी नै प्रभावित हुन सक्ने गरी सम्भावित नीतिको अनिरन्तरता, पूर्वाधार विकासलाई असर गर्ने पुँजीगत खर्चको कार्यान्वयनमा हुन सक्ने ढिलाइ, क्षेत्रीय अस्थिरता र व्यापार अवरोध जसले पर्यटन र आन्तरिक मागलाई कम गर्न सक्ने जस्ता जोखिमहरू रहेका उल्लेख गरिएको छ।

‘नेपालको अर्थतन्त्र क्रमिक सुधारको मार्गमा छ’,राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राध्यापक डा. शिवराज अधिकारीले भने,‘बजेटरी प्रक्रियामा सुधार ल्याउँदै पूरा हुने चरणमा रहेका परियोजनाहरूलाई सम्पन्न गरेर पुँजीगत खर्च बढाउने हाम्रो प्राथमिकताले बृहत् अर्थतन्त्रको स्थायित्व सुदृढ गर्नेछ, आन्तरिक उत्पादन बढाउनेछ र धेरै रोजगारी सिर्जना हुनेछन्।’

आप्रवासी श्रमिक प्राप्त गर्ने गल्फ मुलुकहरू र मलेसियामा आएका झट्काहरूले पनि वृद्धिलाई धिमा गर्न सक्छ, खासगरी घरपरिवारको उपभोग, गरिबी निवारण र मानव पुँजी विकासमा भूमिका खेल्ने अन्तर्राष्ट्रिय विप्रेषणमा यसले असर पुर्‍याउनेछ। तथापि, नेपालको आप्रवासन अत्यन्त महँगो, असमान अवसरहरू र धेरैका लागि प्रक्रिया नै चुनौतीपूर्ण रहेको अवस्था कायम छ।

प्रतिवेदनले नेपालको आप्रवासनको फाइदा र लागतका पछिल्ला तथ्यहरू प्रस्तुत गर्दै दिगोपन र प्रतिफल विस्तारको सुनिश्चितता गर्ने उद्देश्यले समावेशी आप्रवासन व्यवस्थापन प्रणाली निर्माणका लागि आवश्यक प्रमुख नीतिगत हस्तक्षेपहरूलाई प्राथमिकताका साथ उल्लेख गरेको छ।

‘वृद्धिको गतिलाई कायम राख्नु नेपालको विकासका लागि महत्त्वपूर्ण छ। यसका लागि प्रमुख क्षेत्रहरू जस्तै पूर्वाधार, सुशासन, मानव पुँजी विकास र निजी क्षेत्रमा निरन्तर सुधारको आवश्यकता पर्दछ’,विश्व बैङ्कका मालदिभ्स, नेपाल र श्रीलङ्काका लागि राष्ट्रिय निर्देशक डेभिड सिस्लेनले भने,‘नेपालले विदेशी कामदारहरूबाट रेमिट्यान्सबाट धेरै फाइदा हासिल गरेको छ र यी प्रवाहहरूको व्यवस्थापनमा सुधार, विदेशमा काम खोज्ने नेपालीलाई राम्रोसँग सहयोग गर्न र नेपालमा दक्ष नेपालीलाई उत्पादनशील बनाउन वातावरण सिर्जना गर्ने जीवन्त घरेलु अर्थतन्त्रको निर्माण नेपालको भविष्यको लागि महत्त्वपूर्ण छ।

सुदृढ र थप समावेशी आप्रवासन व्यवस्थापन प्रणालीले पारदर्शी भर्ना प्रक्रिया स्थापित गर्नेछ,श्रमिकलाई विदेश जान राम्रो तयारी गराउनेछ, श्रम बजारमा आप्रवासीहरूको सुरक्षा र आवतजावतलाई सुनिश्चित गर्नेछ, दीर्घकालका सीप र गन्तव्य विविधीकरणका लागि योजना बनाउनेछ र फर्किएका श्रमिकहरूको पुँजी र सिपलाई प्रभावकारी उपयोग गर्नका लागि सहयोगी वातावरण निर्माण गर्नेछ।

अर्धवार्षिक रूपमा प्रकाशित हुने नेपाल डेभलपमेन्ट अपडेटले दीर्घकालीन र विश्वव्यापी दृष्टिकोणसँग सान्दर्भिक गराउँदै पछिल्ला वर्षका आर्थिक विकास सम्बन्धी गहनतम विश्लेषण प्रदान गर्ने विश्व बैङ्कले जानकारी दिएको छ।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.