कर्णाली डेभलपमेन्टको व्यवस्थापन राष्ट्र बैङ्कको नियन्त्रणमा

कर्णाली डेभलपमेन्टको व्यवस्थापन राष्ट्र बैङ्कको नियन्त्रणमा

285
SHARES

काठमाडौं : नेपाल राष्ट्र बैङ्कले कर्णाली डेभलपमेन्ट बैङ्कलाई समस्याग्रस्त घोषणा गरेको छ। राष्ट्र बैङ्कले प्रेस वक्तव्य जारी गर्दै बाँकेको नेपालगन्जमा मुख्य कार्यालय रहेको ‘ख’ वर्गको इजाजतप्राप्त बैङ्कलाई समस्याग्रस्त संस्था घोषणा गरेको जनाएको हो।

नेपाल राष्ट्र बैङ्क सञ्चालक समितिको बैठकले नेपाल राष्ट्र बैङ्क ऐन, २०५८ को दफा ८६ ख बमोजिम उक्त संस्थालाई समस्याग्रस्त संस्था’ घोषणा गर्ने निर्णय गरेको राष्ट्र बैङ्कका सह प्रवक्ता एवम् सूचना अधिकारी डिल्ली राम पोखरेलले जानकारी दिए।

समस्याग्रस्त घोषणा गर्नु भन्दा एक महिना अगाडि पनि कर्णाली डेभलपमेन्ट बैङ्क कारबाहीमा परेको उनले बताए।

अर्को व्यवस्था नभएसम्मका लागि ऐनको दफा ८६ ग बमोजिम कर्णाली विकास बैङ्क लिमिटेडको व्यवस्थापन नेपाल राष्ट्र बैङ्कले नियन्त्रणमा लिएको छ। उक्त संस्था सञ्चालनका निम्ति बैङ्क तथा वित्तीय संस्था नियमन विभागका उप–निर्देशक टीकाराम खतिवडाको संयोजकत्वमा तीन सदस्यीय व्यवस्थापन समूह गठन गरिएको पोखरेलले बताए।

समूहमा वित्तीय संस्था सुपरिवेक्षण विभागका उप–निर्देशक विष्णुकुमार विश्वकर्मा र कानुन महाशाखाका उप–निर्देशक जुगल किशोर कुशवाहालाई सदस्य तोकिएको छ।

व्यवस्थापन समूहलाई सर्वसाधारणको हित संरक्षणलाई केन्द्रित गर्दै बचतकर्ताको बचत भुक्तानी र संस्थाको ऋण असुलीलाई प्राथमिकता दिई कार्य गर्ने, संस्थामा भएका वित्तीय अपचलनउपर आवश्यक छानबिन गरी कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाउने लगायतका अख्तियारी प्रदान गरिएको छ।

कर्णाली डेभलपमेन्ट बैङ्कले राष्ट्र बैङ्कले तोकेको न्यूनतम पुँजीकोष अनुपात कायम नगरेको, संस्थागत सुशासनको अवस्था कमजोर भएको, आर्थिक हिनामिनाको आशङ्का भएको, कमजोर तरलता स्थितिसँगै संस्थाले भुक्तानी गर्नुपर्ने निक्षेप दायित्व पूरा गर्न नसक्नुको साथै संस्थाबाट प्राप्त वित्तीय अपचलनको जानकारीसमेतका आधारमा समस्याग्रस्त घोषणा गरी नियन्त्रणमा लिइएको राष्ट्र बैङ्कले जनाएको छ।

समाचार शेयर गर्नुहोस्
285
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.