ओलीसँग सिँगौरी खेल्ने आउट, विरोध गर्ने निलम्बित

ओलीसँग सिँगौरी खेल्ने आउट, विरोध गर्ने निलम्बित

452
SHARES

काठमाडौं : नेकपा एमालेमा पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग सिँगौरी खेल्ने नेता पार्टीबाटै आउट भएका छन्। ओलीको बोली नै शासन रहेको एमालेमा पार्टी निर्णय विपरीत अभिव्यक्ति दिनेलाई कारबाहीको डन्डा चलाइएको छ।

पार्टीको १० औँ महाधिवेशनमा ओलीसँग सिँगौरी खेल्दै अध्यक्ष पदमा उम्मेदवारी दिएपछि निशानामा परेका भीम रावल अन्ततः तीन वर्ष पछि एमाले पार्टीको सङ्गठित सदस्यबाटै आउट हुन बाध्य भए।

सर्वसम्मत रूपमा एमालेको अध्यक्ष बन्न भाँजो हालेका रावललाई पार्टीले उपाध्यक्ष बन्न गरेको आग्रह समेत लत्त्याएपछि ओली थप रुष्ट बनेका थिए। चाहेको पद नपाएपछि रावलले एमालेको केन्द्रीय सदस्यमा समेत जान मानेका थिएन। एमालेप्रति तीव्र असन्तुष्टि बढेपछि रावल एमालेबाट टाढै थिए।

त्यसपछि एमालेले पार्टीको वैधानिक व्यवस्था अनुसार पार्टीको सल्लाहकारको भूमिका सुम्पिएको थियो। उक्त जिम्मेवारी पनि पूरा नगरेको भन्दै रावललाई सङ्गठित सदस्यबाट समेत मुक्त गरिएको एमाले उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए।

पार्टीको बुधवार बसेको सचिवालय बैठकले स्थायी कमिटी सदस्य बिन्दा पाण्डे र उषा किरण तिम्सिनालाई निलम्बन गरेको छ।

भाटभटेनीका मालिक मीन बहादुर गुरुङले दान दिएको जग्गामा पार्टीको केन्द्रीय कार्यालय बनाउने पार्टीको निर्णयविरुद्ध टिप्पणी गरेको भन्दै दुवै जनालाई ६ महिनाका लागि निलम्बन गरिएको उपमहासचिव ज्ञवालीले बताए।

ललिता निवासको जग्गा प्रकरण, राजश्व छली लगायतका विचाराधीन मुद्दा मिलाउन प्रधानमन्त्री ओली अध्यक्ष रहेको पार्टी एमालेलाई भवन बनाउन गुरुङले घुस बापत दिएको जग्गा नलिन पाण्डे र तिम्सिनाले सुझाव दिएका थिए।

उनीहरूले दिएको अभिव्यक्तिमा मागेको स्पष्टीकरण चित्त बुझ्दो नभएकाले थप निर्देशन दिँदै दुवै जनालाई तत्कालको जिम्मेवारीबाट समेत हटाइएको उपमहासचिव ज्ञवालीले जानकारी दिए।

समाचार शेयर गर्नुहोस्
452
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.