“मण्डले”भनेका मण्डले नै हुन्। मण्डलेले के गर्छन् भन्ने कुराको सानो झिल्को हो तीनकुने कोटेश्वर क्षेत्रमा राजावादीको नाउँमा भएको अपराध। इतिहासको कालखण्डमा यस्तै पर्दा पछाडिको नेतृत्व र निर्देशनमा यिनीहरूले धेरै कुरा हजम गरेका छन्। त्यही भएर राजनीतिमा अपराधलाई नस्विकार्ने हो भने मण्डलेका मुख्य नाइके र अन्य दाइनाइके, भाइनाइके, राजानाइके वा साहेब नाइकेहरूलाई नियन्त्रण गर्नु अनिवार्य हुन्छ।
मण्डलेहरूले राजनीतिक आडमा कसरी जनताको सम्पत्ति ध्वस्त पार्छन् लुट्छन्,यसका लागि २०६१ साल भदौ १६ गतेको घटना सम्झनुपर्छ, जसको प्रकृति तीनकुने कोटेश्वर घटनासँग धेरै हदसम्म मेल खान्छ। सरकारले अनुमति नदिएको देशमा सरकारलाई छलेर गएका १२ जना नेपालीको इराकमा इस्लामिक अतिवादीहरूले हत्या गरेपछि दिनभर काठमाडौँ उपत्यकामा तोडफोड र लुटपाट भयो। ज्ञानेन्द्र शाहको प्रत्यक्ष शासनको बेला भएको यो लुटपाटमा निश्चित घरानियाँहरूले पर्दा पछाडि संरक्षण दिएका टोले गुन्डाहरू परिचालित थिए। राजनीतिक दलको ब्यानर बिना उच्छृङ्खल भीडले छानिछानी विदेशी वा अरबी भाषाका साइनबोर्ड भएका तथा मण्डले बाहेकले नेतृत्व गरेका व्यवसायहरू तोडफोड गरेर कम्प्युटरदेखि नोटका बिटासम्म लुटे।
निर्दलीय तथा घरानियाँहरूको संरक्षणमा ६१ भदौ १६ र ८१ चैत्र १५ मा भएको मण्डले गुण्डागर्दी उस्तै शैलीको छ। औपचारिक तथा उत्तरदायी ब्यानर बिना दुर्गा प्रसाईँ तथा रवीन्द्र मित्र जस्ता नवमन्डलेहरूले तीनकुने तोडफोडको नेतृत्व गरे। ६१ भदौ १६ को लुटपाट नेपालीलाई घाँटी रेटेर मारिएको भिडियो हेरेर विचलित भएको नेपाली मनसायलाई भड्काएर आफ्नो स्वार्थपूर्ति गरेको थियो भने अहिले वर्तमान राजनीतिक दलका कामसँग असन्तुष्ट समुदायलाई आफ्नो कुण्ठाका लागि भड्काइएको छ। राजाको शासनका मण्डलेका नाइके मध्येका एक थिए नवराज सुवेदी जो अहिले तीनकुने कोटेश्वर क्षेत्रमा भएको तोडफोडका पनि भाइनाइके हुन। मन्डलेहरूको मुख्यनाइके त्यतिवेला राजाका भाइ वा भतिजहरू वा पुस्तैनी दरबारले पालेका भारदारे गुन्डाहरू हुन्थे। अहिले रवीन्द्र मिश्र स्वागत नेपाल, दुर्गा प्रसाईँ, राजेन्द्र लिङदेन, धवल समसेर वा बुद्धिमान तामाङ जस्ता व्यक्तिहरू नवमण्डलेहरू बने।
रवीन्द्र र दुर्गा नवमण्डले
राजेन्द्र लिङदेन, धवलसमसेर, कमल थापा लगायतका मन्डलेहरूको त खासै चर्चा गर्नु परेन। रवीन्द्र मिश्र र दुर्गा प्रसाईँलाई नवमण्डले भन्न सकिन्छ। रवीन्द्र मिश्र आफ्नो पिता पुर्खालाई दरबारले लगाएको गुन तिर्न राप्रपा प्रवेश गरेको कुरा छर्लङ्ग छ। धन्न चुनावमा जनताले हराए, मिश्रको नेतृत्वमा विवेकशील साझा पार्टीले अलिकति मात्रै पनि प्रगति गरेको भए त्यो समूह कस्तो हुन्थ्यो अहिले कल्पना गर्दा नि उदेक लाग्छ। रवीन्द्र मिश्रका पिता देखिका तीन पुस्ता दरबारका भृत्य एवं भारदार थिए, मण्डले प्रवृत्तिका पक्षपोषक थिए। बीबीसी नेपाली सेवा मार्फत नेपाली भाषाको रेडियो प्रसारणमा जति नै योगदान दिए पनि मन्डले शैली मिश्रको पुस्तैनी शैली हो। राजाको सत्ता गएको शोकमा रवीन्द्र मिश्रका पिता गुफा पसेका थिए। अहिले रवीन्द्र मिश्र पितापुर्खाले गरेको भारदारीको निरन्तरताका लागि राजावादी अभियानमा सहभागी भएका देखिन्छन्।
दुर्गा प्रसाईँ झन्डै १० अर्ब ऋण पचाउनका लागि राजनीतिक छाया खोज्दै भौँतारिएका व्यक्ति हुन्। उनी प्रचण्ड, केपी ओली वा हिन्दु धर्मको नाउँमा अखाडा जमाएर व्यापार गर्ने कथित साधुहरू हुँदै मण्डले मोर्चाको सरदारको शरणमा पुगेका हुन्। सामाजिक सञ्जालमा आएका उनका अभिव्यक्तिले यस्तो व्यक्ति शक्तिमा आयो भने के कतिसम्म लुट मच्चाउँछ र नागरिक अधिकार हनन गर्छ भन्ने कुरा छर्लङ्ग हुन्छ। तीनकुने कोटेश्वर घटनामा प्रसाईँले देखाएको व्यवहारले नै मानसिक रूपमा ऋणले विचलित मान्छे पक्का नवमण्डले गुन्डा प्रवृत्तिको भएछ भन्ने देखाउँछ।
क्षतिपूर्ति चाँडो भराऊ, खोइ निर्णय?
मण्डले गुण्डागर्दी वा राजावादी समर्थक सबैले राज्यबाट पाइरहेको सेवा सुविधा सबै खारेज गर्ने निर्णय वर्तमान मन्त्रिपरिषद्ले किन नगरेको होला? के केपी ओलीलाई त्यसो गर्न डर लाग्छ वा राप्रपाले चुनावमा लगाएको गुनले एमालेलाई छेकिरहेको छ? राजालाई नारायणहिटीबाट निकाल्दा उनले मागेर वा नमागी दिएको सबै सम्पत्ति राज्यको नाउँमा गर्न केले रोकेको छ? व्यवस्थाको विरोध र शान्तिपूर्ण प्रदर्शनसम्म त ठिकै छ तर लुटपाट, हत्या र सुरक्षा घेरालाई अवहेलना गर्नेको सबै जायजेथा, बैङ्क खाता र व्यापार व्यवसाय सरकारीकरण गर्न कसले रोक्छ? वर्तमान व्यवस्था र संविधान नै नमान्नेहरूले फौजदारी अपराध गरिसकेपछि संविधानले दिएको सबै अधिकार किन प्रयोग गर्न दिनुपर्यो?
काठमाडौँ महानगरपालिकाले आफ्नो क्षेत्राधिकार भित्रको क्षतिको विवरण मात्रै सङ्कलन गरेर जरिवानाको पत्र ज्ञानेन्द्र कहाँ पठाएको छ। सरकारले सम्पूर्ण व्यक्तिगत तथा सार्वजनिक सम्पत्तिमा भएको क्षतिको यकिन हिसाब निकालेर सार्वजनिक गरेको खोइ? सम्पूर्ण जनधनको क्षतिको विवरण सार्वजनिक गरेर मन्डले सरदारको जायजेथाबाट क्षतिपूर्ति भराउनुपर्छ।
सरकारी, सार्वजनिक, व्यक्तिगत तथा संस्थागत सम्पूर्ण सम्पत्तिमा पुगेको क्षतिको हिसाब कति हो? अनि त्यस्तो क्षति मध्ये ज्ञानेन्द्र, रवीन्द्र, दुर्गा, धवल वा अन्य क कसको सम्पत्तिबाट कसरी शोधभर्ना गराउने हो सरकारको योजना खोइ? खोइ छानबिन गरेको? राजनीतिक प्रदर्शनको नाउँमा चाहे राजावादी हुन वा गणतन्त्रवादी वा अन्य कुनै वादीबाट भविष्यमा हुनसक्ने यस्ता तोडफोड र लुटपाटलाई निस्तेज गर्न पनि क्षतिपूर्ति भराउने सरकारी निर्णय र योजना सार्वजनिक हुनुपर्छ। जिउँदै पत्रकार जलाएर मार्ने, मिडिया हाउसमाथि आक्रमण गर्नेहरूले कानुनी कारबाहीबाट उन्मुक्ति पाउनु हुँदैन। राज्यका निकायले स्वतन्त्र र निष्पक्ष न्याय दिन सक्नुपर्छ।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.