"/>
काठमाडौँ : आन्दोलनरत शिक्षकहरूले सडकमै शोक मनाए। शिक्षक आन्दोलनमा सहभागी भएर घर फर्किने क्रममा सवारी दुर्घटनामा मनाङको नार्फु गाउँपालिका–८ घर भई नासो गाउँपालिका–८ मा रहेको जनविकास आधारभूत विद्यालयका प्रधानाध्यापक मन घलेको सडक दुर्घटनामा मृत्यु भएको शोकमा शिक्षकहरूले सडकमा मौन धारण गरे।
आन्दोलनको समय परिवर्तन गरेर बिहान ९ बजेदेखि १२ बजेसम्म कायम गरेका शिक्षकहरू सरकारसँग कुस्ती खेलिरहेका छन्। २० औँ दिनसम्म माग सम्बोधन नहुँदा आक्रोशित शिक्षकहरूले आन्दोलनमा मिसिन गएका एक अभिभावकलाई हातपात समेत गरे।
शिक्षा ऐन जारी नभएसम्म विद्यालय नफर्कने अडानका साथ २० औ दिनसम्म सडकमा नारा लगाइरहनु परेको पीडा शिक्षकहरूले ललितपुर गोदावरीका एक अभिभावकमाथि पोखे।
बिहान काठमाडौँको माइतीघर बानेश्वर सडकमा भएको प्रदर्शनमा घुसेका गोदावरीस्थित सरस्वती माध्यमिक विद्यालयका अभिभावक बताउने सनोज महतले कुटाई नै खाए। शिक्षकहरूले सरकारसँगको रिस महतमाथि पोखे।
महतले आफ्नो छोरीको भर्ना नभएपछि बाध्य भएर शिक्षकहरूलाई विद्यालय फर्कन आग्रह गर्न आएको बताए पछि शिक्षकहरूसँग भनाभन नै भयो।
शिक्षकहरू सडकमा डेरा जमाएर बसे पछि विद्यार्थी भर्ना ठप्प भएको छ। सडकमा जादु देखाउने शिक्षकले पढाउने विद्यालयको कक्षा ८ को जिल्ला स्तरीय परीक्षामा नतिजा शून्य आएको छ।
अब कक्षा १२ र ११ को वार्षिक परीक्षा सुरु हुँदैछ। तर, शिक्षकहरू बन्द विद्यालय खोल्न तयार छैनन्। विद्यार्थी नपढाउने, जागिर खाने र राजनीति गर्ने आरोप शिक्षकहरूमाथि लाग्दै आएको छ।
अहिले भर्नाको समयमा निजी विद्यालय पोस्ने गरी सामुदायिक विद्यालयमा भर्ना बन्द गरे पछि अब कसलाई पढाएर शिक्षकहरूले सरकारी तलब बुझ्ने हुन्? लमजुङको सुन्दरबजार नगरपालिकाका मेयर कृष्णप्रसाद कोइरालाले प्रश्न गरे।
शिक्षकहरूले आन्दोलन गरेको अभिभावकहरूलाई फिटिक्कै मन परेको छैन। विद्यार्थी भर्नै नलिएपछि अभिभावकहरूले कक्षा कोठाका खाली बेन्च र डेस्कलाई पढाउने अवस्था आउन लागेको बताएका छन्।
विद्यार्थीलाई गुणस्तरीय शिक्षा दिनुको सट्टा सधैँ सडक मात्रै तताएर नहुने लमजुङको सुन्दरबजार नगरपालिका वडा नम्बर ९ मा रहेको भक्ति नमुना माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मानकृष्ण आर्चायले बताए।
अभिभावकहरूले पाठ्यपुस्तक वितरण गरेर पढाई सुरु गर्न आग्रह गर्दै आएका छन्। तर, शिक्षकहरू भने शिक्षा ऐन माग्दै सरकारसँग कुस्ती खेलिरहेका छन्।
भर्ना अभियान सुरु गरी पठनपाठन गराउन निर्देशन दिँदा पनि शिक्षकहरूले नसुनेको मुगुको सोरूँ गाउँपालिकाका अध्यक्ष धर्म बहादुर शाहीले बताए।
सामुदायिक विद्यालयका शिक्षकहरूले आन्दोलनमा सहभागी नहुने शिक्षकहरूसँग जनही दुई हजार रुपैयाँ उठाएर काठमाडौँ बसाइको खर्च जोहो गर्दै आएको समेत पाइएको छ।
आन्दोलनमा सहभागी इलामका एक शिक्षकले काठमाडौँको खर्च जोहो गर्न अनुपस्थित हुने शिक्षकहरूसँग जनही २ हजार रुपैयाँ उठाउने गरेको बताए।
निजी विद्यालयहरू सामुदायिक विद्यालयमा भर्ना बन्द हुँदा विद्यार्थी तान्न लागेका छन्। नेपाल शिक्षक महासङ्घले सरकारसँग वार कि पार गर्न अब निजी विद्यालयमा पनि पठनपाठन बन्द गराउन दबाब दिइरहेको छ।
तर, निजी विद्यालयले स्कुल बन्द नगर्ने बताएका छन्। प्याब्सनका अध्यक्ष कृष्ण अधिकारीले उल्टै शैक्षिक हडताल गरेर विद्यार्थीहरूको भविष्यप्रति खेलबाड गर्नेलाई कारबाहीको माग गरे।
शिक्षकहरू विद्यालय फर्कन तयार नभएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षा ऐन बोक्न यति धेरै शिक्षक काठमाडौँ आइरहनु नपर्ने बताए। शिक्षकहरूको आन्दोलन र प्रधानमन्त्री ओलीका यस्ता अभिव्यक्ति आइरहँदा शिक्षा मन्त्री विद्या भट्टराईले भने पदबाट राजीनामा बुझाइन।
प्रधानमन्त्री ओलीलाई भेटेरै मन्त्री भट्टराईले राजीनामा पत्र बुझाइन। तर, बेलुकी बसेको मन्त्रिपरिषद् बैठकले राजीनामाबारे कुनै छलफल नै गरेन। एक मन्त्रीका अनुसार,मन्त्रिपरिषद् बैठकमा शिक्षा मन्त्रीको राजीनामाबारे छलफल भएन।
शिक्षकहरू भने शिक्षामन्त्रीको राजीनामा पछि आफ्नो आन्दोलन निर्णायक मोडमा पुगेको बताउन थालेका छन्। नेपाल शिक्षक महासङ्घका अध्यक्ष लक्ष्मिकिशोर सुवेदीले प्रधानमन्त्रीको अभिव्यक्तितर्फ लक्षित गर्दै ‘हाँसो मजाक गरेर देश नचल्ने’ प्रतिक्रिया दिए।
प्रतिपक्षमा हुँदा आन्दोलन गर्न उक्साउने उनै ओली सरकारको नेतृत्वमा रहँदा माग सम्बोधनका लागि आन्दोलन नै गर्न नपर्ने बताउँछन्।
एसइई परीक्षा नै सञ्चालन गर्न नपर्ने समेत बताए ओलीले। के ओलीको अभिव्यक्तिपछि बसेको मन्त्रिपरिषद् बैठकले एसइई परीक्षा सञ्चालन नगर्ने निर्णय गर्यो? सार्वजनिक भएको छैन।
कक्षा ११ र १२ का विद्यार्थीहरू परीक्षाको तयारीमा व्यस्त छन्। तोकिएकै मितिमा परीक्षा सञ्चालन नहुने देखेका छैनन्। मेहनतका साथ कक्षा ११ र १२ अध्ययन गरिरहेका विद्यार्थीहरूमा देशभित्र आशाका भन्दा निराशाका बादल मडारिरहेका छन्। यसमा सरकारको अकर्मण्यता र विवेकहीन सांसदहरू दोषी देख्छन्, लोक सेवा आयोगका पूर्वअध्यक्ष उमेश मैनाली।
शिक्षकहरूसँग विश्वासघात, लोलोपोतो नगर्न दिए चेतावनी (भिडियो)
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.