नक्कली भुटानी शरणार्थी : अदालतमा प्रतिवादीहरुको दैनिक हाजिरी सुरु, १९ जनाको सकियो बकपत्र

नक्कली भुटानी शरणार्थी : अदालतमा प्रतिवादीहरुको दैनिक हाजिरी सुरु, १९ जनाको सकियो बकपत्र

2.1k
SHARES

काठमाडौं : ‘खाने अरू नै छन्, भारी हामीले बोकिरहेका छौँ’ पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीको भनाई हो यो। नक्कली भुटानी शरणार्थी मुद्दामा हिरासतबाट बकपत्रका लागि काठमाडौं जिल्ला अदालतमा उपस्थित रायमाझीले अपराधी उम्कने र निर्दोष फस्ने अवस्था देखिएको प्रतिक्रिया दिए। 
 
उनले मुद्दा निरन्तर अगाडी बढेमा दुई महिनाभित्र आदेश आउने आशा पनि सुनाए। ‘अब के हुन्छ, बकपत्र चलिरहेको छ,यसमा मेरो खास भन्नु केही छैन,’रायमाझीले भने,‘अरूले गरेको गल्तीको भारी बोकाइदिएका छन्, हेरौँ जे होला।’ आरोपीहरू रातोपिरो भएर उपस्थित हुने गरेका छन्। 

मङ्गलवारदेखि रायमाझीसहित नक्कली भुटानी प्रकरणका आरोपीहरूको काठमाडौं जिल्ला अदालतमा दैनिक हाजिरी चलिरहेको छ। आरोपीहरू बिहान १० बजे उपस्थित हुने र ५ बज्नै लाग्दा निस्कने क्रम चलिरहेको छ। 

अदालतमा प्रतिवादीहरूको उपस्थितिमा नक्कली भुटानी शरणार्थी प्रकरणका जाहेरवाला सरकारी साक्षीको बकपत्र भइरहेको छ। बुधवारसम्म १९ जना जाहेरवाला सरकारी साक्षीको बकपत्र घटना विवरण कागजात गर्ने काम सकिएको अदालतका सूचना अधिकारी दिपक कुमार श्रेष्ठले जानकारी दिए। 

जाहेरवाला सरकारी साक्षीको तर्फबाट बकपत्रका लागि ३५ जनाले अदालतमा उपस्थित भएर निवेदन दिएका छन्। शुक्रवारसम्म जाहेरवाला सरकारी साक्षीको बकपत्र सकेर प्रतिवादीहरूका साक्षीको बकपत्र सुरु गर्ने तयारी अदालतले गरेको छ। 

नक्कली भुटानी शरणार्थी मुद्दाका प्रतिवादीहरू पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँण, पूर्वगृहसचिव टेकनारायण पाण्डे, डा.ईन्द्रजित राई, केशव दुलाल, सानु भण्डारी, भुटानी मानवअधिकारवादी नेता टेकनाथ रिजाल सहित २० जनाको दैनिकी हाजिरी पनि चलिरहेको छ।

हिरासतमा रहेकाहरूलाई प्रहरीले विना हतकडी अदालतमा उपस्थित गराएको छ। बुधवारसम्म वालकृष्ण पन्थी, दिपक प्रसाद न्यौपाने, सुर्य न्यौपाने, पवन पोखरेल, धर्मराज शाही, पेम्बा शेर्पा, लम्डोमा शेर्पा, सोनी शेर्पा, जिमा शेर्पा, निमा शेर्पिनी तेन्जी पुरी शेर्पिनी, भेषराज शर्मा लम्साल, प्रेमराज पन्थीको बकपत्र सकिएको छ। 

यस्तै राजु भण्डारी, कञ्चन श्रेष्ठ, झविन्द्र मनि पोखरेल, सागर मणि पाठक, युनिक राई, गजेन्द्र बुढाथोकी, श्यामकृष्ण श्रेष्ठ, राजु तामाङ, फुपुछिरिङ शेर्पाको बकपत्र सकिएको छ। 
प्रतिवादीकै रोहवरमा बकपत्र भइरहेकाले हिरासतमा रहेका र धरौटीमा रिहा भएकाहरू दैनिक अदालतमा उपस्थित भएर हाजिर जनाउनु पर्ने सूचना अधिकारी श्रेष्ठले जानकारी दिए।
 
बकपत्र सकिएपछि मुद्दाको पेशी तोकिने अदालतका श्रेस्तेदार तिर्थराज भट्टराईले बताए। ‘बकपत्र सम्पन्न भएपछि अरू थप प्रमाण बुझ्नु नपर्ने भएमा पेशी तोकिन्छ,श्रेस्तेदार भट्टराई पहिचानसँग भने,‘कति समय लाग्छ यकिन गर्न सकिँदैन।’

काठमाडौँ जिल्ला अदालतले वैशाख २ गते नक्कली भुटानी शरणार्थी प्रकरणमा सहसचिव बालकृष्ण पन्थी नेतृत्वको सक्कल प्रतिवेदन झिकाउने आदेश दिएको थियो। 

जिल्ला न्यायाधीश बलराम लम्सालको इजलासले वादी नेपाल सरकारका साक्षी जाहेरवाला लगायतका घटना विवरण गर्ने मानिसहरू, प्रतिवेदक, निवेदकहरू सुनिता गौतम, प्रितम शर्मा र यम बहादुर परियारलाई तोकिएको मितिमा जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौँ मार्फत बकपत्रको लागि उपस्थित गराई तथा उपस्थित भएका प्रतिवादीहरूको साक्षी निजै मार्फत उपस्थित गराई बकपत्रको कार्य सम्पन्न गर्न आदेश दिएको थियो। 

नक्कली भुटानी शरणार्थी : साक्षी बकपत्र गराउने र बालकृष्ण पन्थी नेतृत्वको सक्कल प्रतिवेदन झिकाउने आदेश

समाचार शेयर गर्नुहोस्
2.1k
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.