मैले अमेरिकामा हुँदादेखि नै सुन्दै आएको नाम झापाको बुद्धशान्ति! कहिले पारिवारिक कुराकानीमा आउँथ्यो त कहिले साहित्यिक कुराकानीमा मूलतः दाइ पदम निरौलासँग यस क्षेत्रका बारेमा। झन् प्रत्यक्ष रूपमा आफ्नै कार्यक्रमको आयोजना गरिदिएर बुद्धशान्तिले मेरो मनमा साँच्चै नै शान्ति छरिदियो। बुद्धशान्तिले मेरो पुस्तकको विमोचन मात्र गरिदिएन यसले त अमेरिका, शरणार्थी शिविर र भुटानलाई समेत अवसर दियो, जसका निम्ति म सदा ऋणी बन्ने छु।
यस क्षेत्रको एउटा मात्र साहित्यिक संस्था घर दलान रहेछ। प्राय: अवकाश प्राप्त शिक्षकहरूको साहित्यिक भेटघाट चौतारी रहेछ यो। अधिकांश अवकाश प्राप्त शिक्षकहरू भए तापनि केही सक्रिय युवाहरूको पनि संलग्नता पाएँ मैले।
किन ज्येष्ठ व्यक्तित्वहरूको यस भेलालाई यसरी वर्णन गर्नु पर्ने ? यो ठुलो प्रश्न हुन सक्छ। मैले जे पाएँ त्यसलाई यस लेखमा उतार्ने छु। प्राय: बूढाबूढीहरूको बोल्ने वा सुनिदिने कोही हुँदैन। यी मानिसहरूको भावना सायदैले बुझ्लान् र सुन्लान् तर बुद्धशान्तिले बुझ्ने या सुन्नेको जमात खोज्न हिँडेन, आफूले नै जमातलाई आफ्ना कुरा सुनाउनलाई माहौल बनायो। हरेक अवकाश प्राप्त व्यक्तिहरू भेला हुने र नयाँ पुस्तालाई साहित्य र समाज पढाउँदो रहेछ घर दलान साहित्यले।
यो काम हरेक गाउँ र सहरमा हुनु हो भने मनको भारी मनभित्र बोकेकाहरूले मनको आवाज बमको भन्दा सयौँ गुना सशक्त आवाजमा बर्साएर मनको रोग निको पार्न सक्छन् भन्ने सन्देश पाएँ मैले! यसका लागि बुद्धशान्तिको जति नै गुणगान गाए पनि कम नै हुन्छ।
समाजका युवाले नगरेर के भयो र गाउँका बुढापाकाहरू नै यसरी तात्ने हो भने मनका रोग धेरैको निको हुन्न र ? यसको उत्तर कसैले त खोज्ने नै होला। अझ पश्चिमा मुलुकमा त घर घरमै बसी बसी जुमका माध्यमबाट दिन दिनै यस्ता कार्यक्रम चलाउन कुनै कठिन देखिन मैले, केवल देखेँ त इच्छाशक्ति र नेतृत्वको।
फेरि बुद्धशान्तिमै जाँदा मैले पाएको त्यहाँको रोचकिलो पक्ष चाहिँ आफूले बस्ने कुर्सी आफैँ तान्नु पर्ने रहेछ, त्यसो हुँदा न कोही सानो भयो, न कोही ठुलो। सबै कार्यकर्ता सबै नेता रहेछन् त्यस संस्थाका सदस्य। कुर्सीकै मोह गर्नेहरूलाई भन्दा नि साहित्य र समाजको चिन्तन गर्न इच्छा राख्नेलाई दर्बिलो शिक्षा ‘घर दलान’ साहित्यले सिकाइरहेको रहेछ।
घर दलान समाजका पुराना र नयाँ पुस्ताका लागि पुनः ज्ञानार्जनको सेतु बन्दै छ। हुन त जति बुढो भए नि शिक्षक- शिक्षक नै रहन्छ त्यसैले त होला अवकाश प्राप्तिपछि पनि समाजलाई शिक्षाको ज्योति निरन्तर फैलाइरहेछ घर दलान साहित्यले। यो र यस्ता कार्य हरेक समाज र बस्तीमा आवश्यक छ चाहे त्यो बुद्ध शान्तिमा होस् या प्यनसिलभेनिया, ओहायो, सिड्नी या अन्य कुनै हामी भएको सहरमा !
यहाँको अनौठो दृश्य चैँ हरेक महिना एक सदस्यको घरमा भेला हुने, उपस्थित मध्येको ज्येष्ठ नागरिक कार्यक्रमको सभापति हुने अनि घर धनी जसले साहित्यिक मनलाई आमन्त्रण गर्यो ऊ नै उद्घोषक हुने।
यो कुर्सी मोह र पद मोह भन्दा हजारौँ गुणा माथि छ घर दलान। न एउटैले सभापतिको कुर्सीमा जुको झैँ टाँसिनु पर्यो न एउटैले घोक्रो फुल्याउँदै मपाईँ हुँदै उद्घोषण नै। ससाना स्कुले नानीहरूले हौसला स्वरूप पुस्तक वा विद्यालयमा चाहिने सामाग्री पुरस्कार पनि पाउँदा रहेछन् जसले नयाँ पीढीलाई साहित्य र भाषाको मोह बढायो।
जय साहित्य !
जय भाषा !!
(निरौला भुटानी अमेरिकन पत्रकार हुन। )
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.