‘नेपाली सिने नगरीमा विवादित शृङ्खलाको खेल’

‘नेपाली सिने नगरीमा विवादित शृङ्खलाको खेल’

2k
SHARES

अहिले सामाजिक सञ्जालको भीडमा नेपाली कलाकारको सिर्जना, बहस वा बहिष्कारहरू केही महिना अघि देखि चर्किएको छ। जसको पछिल्लो उदाहरण हाम्रो बागलुङका कलाकार प्रकाश सपुत सामाजिक सञ्जालको आक्रोशको केन्द्रका रूपमा छाई रहे। ‘वसन्त’ जस्तो सिर्जनात्मक प्रयासलाई राजनीतिक चस्माबाट हेरेर गरिएको बहिष्कारले न ‘वसन्त’आएको अनुभूति दिलायो, न कलाकारलाई न्याय नै ! यो विषय सेलाउन नपाउँदै, अभिनेत्री सुरक्षा पन्त गणतन्त्र र राजावादीको दोबाटोमा फसेर अनावश्यक रूपमा आलोचितको तगारो भइन्।

सामाजिक सञ्जालमा देखिएको गालीगलौज, चरित्र हत्या र बहिष्कारको प्रवृत्तिले हामी कहाँ उभिएका छौँ भन्ने गम्भीर प्रश्न खडा गर्छ। कलाकार सुरक्षा पन्तले चलचित्र ‘आमा’ मा प्रस्तुत गरेको अभिनय र त्यही चलचित्रको एक दृश्य—जहाँ उनले टाउको मुण्ड्याएकी थिइन्—लामो समय चर्चा र प्रशंसाको विषय बनेको थियो। तर आज, त्यही कलाकार केही विचार राख्न खोज्दा ट्रोलिङको सिकार बन्छिन् र बनाई रहन हामी लालायित पनि छौ।

यस्तै घटनामा मनीषा कोइरालाको सन्दर्भ पनि उल्लेखनीय छ। ‘हिरामण्डी’ जस्तो अन्तर्राष्ट्रिय परियोजनामा संलग्न कलाकारलाई, उनको राजनीतिक धारणा आधारमा गाली गर्नेहरूले पनि सो शृङ्खला हेर्न भने पछि परेनन्। विरोधको नाममा सिर्जनाको मूल्याङ्कन गर्ने यो प्रवृत्ति स्वयं विरोधाभासी पक्कै छ।

अहिले कलाकारहरूका लागि कुनै टेलिभिजन अन्तर्वार्ता वा युट्युब शोहरू मात्र प्रदर्शनको मञ्च होइनन्, जालझेल, कन्टेर्वेर्सीको मैदान बन्न थालेका छन्। ‘इट्स माई सो’ जस्तो रियालिटी टक शोमा स्वस्तिमा खड्का फस्न पुगिन् भने, ‘द प्रकाश सुवेदी सो’ मा सुरक्षा पन्तलाई पनि उस्तै प्रश्नको घेराबन्दीमा पारियो। यी कार्यक्रमहरूको टीआरपी त बढ्ला, तर नेपाली मिडियाको साख घटाउने खतरा बढ्दो छ।

प्रश्न उठ्छ के हामीले कलाकारको सिर्जनालाई हेर्न सक्ने आँखा गुमाइसकेका हौ र? उनीहरू के अभिनय मात्र हो त? आफ्नो व्यक्तिगत बिचार,धारणा राख्ने कुनै हक छैन।

स्वयं प्रकाश सपुत, मह जोडी, स्वस्तिमा खड्का, दीपाश्री निरौला वा सुरक्षा पन्त—यी सबै कलाकारको यात्रा, सङ्घर्ष र अभिनयले आफैँमा उल्लेखनीय दर्जा पाइसकेको छ। सुरक्षा पन्त त ‘कान्स फिल्म फेस्टिभल २०२२’मा नेपालको प्रतिनिधित्व गरिसकेकी अभिनेत्री हुन्। त्यसैले, केही अभिव्यक्ति वा वैचारिक असहमतिका आधारमा उनीहरूको सिर्जना बहिष्कार गर्नु अन्याय मात्र होइन, मूर्खता हो।

हाम्रो सानो सिने नगरीले यसरी अनावश्यक विवादमा समय र ऊर्जा खर्च गर्दा सिङ्गो मनोरञ्जन उद्योग धराशायी र बिस्तारै पतन हुन सक्छ। यसले देशको आर्थिक, सांस्कृतिक, सामाजिक पर्यटकीय विकासलाई पनि पछाडि धकेल्न सक्छ। बलिउड, हलिउड जस्ता फिल्म उद्योगहरूमा यस्ता विवाद भए पनि तिनलाई एक हदसम्म नियन्त्रणमा राख्ने परिपक्वता देखिन्छ, जुन हाम्रोमा अभाव खट्केको जस्तै देखिएको छ।

हामी सामाजिक सञ्जाल प्रयोगकर्ताहरू केही सेकेन्डको ‘क्लिप’ हेरेर कलाकारको जिन्दगीको मूल्याङ्कन र बहस गर्न पुग्छौँ। न त सन्दर्भ बुझ्ने चेष्टा गर्छौँ, न त त्यसको पछाडिको कथा, व्यथा जान्न नै। यसले कलाकार मात्र होइन, सिर्जनात्मक स्वतन्त्रता नै सङ्कटमा पार्छ।

कुनै नेता वा सेलिब्रिटी ठान्नेहरूको बारेमा बोल्दा बिचार पुराएर बोल्न आवश्यक होला तर बोल्नै नपाइने र बहिष्कार अभियान नै थालनी गर्नु कहाँ जायज होला र! यी हुने कार्यक्रमहरू कतिको आफ्नै ‘प्रोग्राम फर्मेट’त कतै जानी जानी ‘अटेनशन क्रिएट’ गर्न, कुनै सङ्घ संस्थाका सामाजिक सार्वजनिक कार्यक्रमहरू बोलिने भाषण,अभिव्यक्ति साथै अहिले चलेका टि.भी. च्यानल, सामाजिक सञ्जाल र युट्युबहरू अगाडि छन्। प्रकाश सपुतको ‘वसन्त’ हुँदै सुरक्षाको ‘खेल’ले सोचे अनुरूप नगर्नु यसैको नतिजा हो।

राजनीतिक धारणा वा विचारधारा—राजावादी होस् वा गणतन्त्रवादी—जुनसुकै भए पनि कलाकारलाई आफ्नो विचार राख्ने अधिकार लोकतन्त्रले दिन्छ। विरोध गर्नु स्वाभाविक हो, तर अपमान, गालीगलौज र बहिष्कार अभियान कदापि स्वीकार्य हुन सक्दैन।

कलाकारको सिर्जना एउटा सामूहिक मेहनतको परिणाम हो—जहाँ कलाकार मात्र होइन, निर्देशक, प्राविधिक, लगानीकर्ता र थुप्रै मेहनतमा कामदारहरूको पसिना मिसिएको हुन्छ। त्यसैले एउटा विचार वा संवादको कारणले सम्पूर्ण मेहनतमाथि ‘बायकट’को छाया हाल्नु, सयौँको रोजगारीमाथि खेलबाड गर्नु हो।

आजको दिनमा कलाकारको विरोध गरिनुमा कुनै ठोस कारण देखिँदैन। न त उनीहरूले संविधान, समाज, भाषा, लिङ्ग वा धर्मको अपमान गरेका छन्, न नै अनैतिक धारणा राखेका छन्। तर पनि ‘भाइरल’को लहरमा उनीहरूलाई बलिको बोका बनाइन्छ।

वास्तविकता के हो भने, यस्ता कार्यक्रमहरू धेरैजसो ‘प्रोग्राम फर्मेट’ अनुसार डिजाइन गरिन्छन्—धेरैपटक उक्साउने शैलीमै। ‘कन्ट्रोभर्सी’ बेचेर ‘भ्युज’ चर्चा बटुल्ने प्रवृत्तिले हाम्रो सिने नगरीलाई थप अस्थिर बनाएको छ।

अन्ततः, जब एक समय प्रधानमन्त्री केपी ओलीले भनेका थिए, ‘कलाकार भनेका राष्ट्रका गहना हुन्’ त्यो अभिव्यक्तिले धेरै नेपालीको मन छोएको थियो। तर दुर्भाग्यवश, उनकै कार्यक्रममा प्रकाश सपुतलाई आफ्नो निजी बिचार राख्दा सामाजिक सञ्जालमा हेपिएको र हनुमान प्रवृत्तिको अनुभव हुन पुग्यो।

यही विरोधाभासले हामीलाई प्रश्न गर्न बाध्य बनाउँछ—अब फेरि कुन कलाकार साइबर आक्रमणको सिकार बन्ने हो र अब पनि नबोल्ने हो भने, अब पनि मौन बस्ने हो भने, सिने नगरीको आत्मा कता जान्छ ! अझै पनि हामी नसुध्रिए कहिले सुध्रिने अनि भन्नै मन लागेको हाम्रा कलाकार,चलचित्रकर्मी भन्नेहरू, सम्बन्धित सङ्घ संस्था यस्तो घटना बारम्बार घटी रहँदा पनि त चुप म चुप किन हुन सक्या होला? की फेरी अरू कसको पालो कुर्ने हो ‘साइबर एटेक’का लागि!

कम्तीमा अब त हामी सिकौँ, कलाकारलाई सम्मान गरौँ। विरोध त लोकतन्त्रको सौन्दर्य हो, तर सम्मान बिना त्यो विरोधले सिर्जनाको संसार उजाड मात्र बनाउँछ।

समाचार शेयर गर्नुहोस्
2k
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.