"/>
काठमाडौं : ‘संस्थामा बजेट छैन। महिला दिदीबहिनीले सहयोग गरे। आफैँले खल्तीबाट निकाल्नु पर्ने अवस्था छ कुनै कार्यक्रम गर्नका लागि। सबैले आफ्नो स्वार्थका लागि गर्ने हुन् सहयोग। तर, त्यो स्वार्थ व्यवस्थित हुन पर्यो भन्ने राज्यको कुरा छ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको हक हितको लागि बोल्दै गर्दा व्यवस्थित होस। समाजमा नेगेटिभ पार्ट नजाओस्।’
यी भनाई तेस्रोलिंगी अधिकारकर्मी सम्झना केसी र प्रहरी अधिकारीको हो। अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा सबैका लागि सहयोगी नेपालको कार्यालयमा भएको कार्यक्रममा व्यापारिक कम्प्लेक्सहरूमा माग्न जाने नयाँ अनुहारका व्यक्तिहरू को हुन्? भनेर पनि छलफल भयो।
अधिकारकर्मीहरू देवेन्द्रबहादुर खत्री (मधु), सम्झना केसीले समुदाय सुधार अभियान पनि चलाउँदै आएका छन्। प्रहरीले न्यूरोड क्षेत्रमा २०/२५ जना नयाँ अनुहारका माग्न जानेहरू देखेको बताएको छ। अधिकारकर्मी केसी भने काठमाडौं उपत्यकामा त्यस्ता व्यक्तिहरू ७ सय जना रहेको बताउँछिन्।
ती व्यक्तिहरू परिचालन गर्ने नाइके पत्ता लगाउन उनले सहयोग खोजिरहेकी छन्। तर, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको नाममा धेरै पहिला खुलेका संस्थाहरू मौन बसेका छन्। त्यसको जरोमा पुग्नका लागि संस्थाहरूको आवश्यकता रहेको केसी बताउँछिन्।
संस्थाहरूले सपोर्ट गरिदिएको भए त्यस्ता व्यक्तिहरूलाई समातेर प्रहरी चौकीमा बुझाउन सकिने उनले सुनाइन। ‘के कारणले आउनु भएको? वास्तविकता के हो?हाम्रो समुदायका मान्छे हुन कि होइनन्?,’केसीले भनिन्,’नेपाल अधिराज्यभरका संस्थाले मागेर खाऊ भनेर पठाउँदैन। सबैले दुखै गरेर खाएका छन्।’
केसीले धूप बाट्ने काममा तीन जनालाई रोजगारी दिएकी छन्। तीन जना बच्चाको खाने, बस्ने र पढाई खर्च व्यापारिक घरानाहरूमा त्यही धूप बाले बापत दिने सहयोगले पुर्याइरहेकी छन्। ‘ए मोटी साहुनी धूप ल्याउनु पर्दैन? खोइ धूप बाल्न आएको भने मलाई। हप्तामा एक पटक धूप बाले बापत भाडा तिर्ने, तीन जना बच्चा पालिरहेको छु,उनीहरूलाई खुवाउने, पढाउने यही हो,’उनले भनिन्,’मलाई कुनै संस्थाले सहयोग गरेको छैन। हाम्रो संस्था नयाँ भएर पनि हामीसँग पैसा छैन अहिले।’
जसरी भए पनि व्यापारी व्यवसायीहरूलाई दुख दिने गरी माग्न पठाउने व्यक्तिको जरोसम्म पुगेर समातेर प्रहरी चौकीमा जिम्मा लगाउने सम्झनाको लक्ष्य छ।
जनसेवा प्रहरीले महिला कष्टडी नभएकाले पक्राउ गरेर बुझाएमा होल्ड गर्न सक्ने अवस्था नहुन सक्ने बताएको छ। सामाजिक सञ्जालको प्रयोग गरेर प्रहरीलाई नै नराम्रो बनाउने अवस्था भइरहेका जनसेवाको गुनासो छ। ‘अहिले दरो शब्द बोल्दिदा पनि सामाजिक सञ्जालमा गाली खाने अवस्था आएको छ,’जनसेवाका प्रहरी अधिकारीले भने,’कसले कसले भिडियो खिचेर हालिदिन्छन्। व्यवस्थित गर्ने प्रयास गरौँ।’
लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदाय सुधारका अभियन्ता एवं मायाको पहिचान नेपालका उपाध्यक्ष देवेन्द्र बहादुर खत्री (मधु)ले समुदायका नाममा यौन पेसाकर्मीहरूबाट विभिन्न किसिमका आपराधिक गतिविधिलाई निरुत्साहित गर्ने अभियान चलाइआएको बताए।
उनले अभियानको प्रभाव राम्रो देखिएको बताए। ‘हामीले चौकीचौकीमा गएर ब्रिफिङ पनि गरेका छौँ। प्रहरी प्रशासनलाई बुझाएका पनि छौँ,’उनले भने,’केही हदसम्म यौन पेसाकर्मी साथीहरूले आफ्नो रवैयामा सुधार ल्याएको पाइएको छ।’
उनले प्रहरी प्रशासनबाट पनि रेस्पोन्स चाहेको सुनाए। ‘यो राज्यको जिम्मेवारी हो। किनभने एउटा श्रमिकलाई रोजगारी सिर्जना गर्ने, उनीहरूलाई अवसरहरू उपलब्ध गराउने राज्यको जिम्मेवारी हो,’उनले भने,’त्यो भन्दैमा हाम्रा संस्थाहरू आफ्नो कामबाट विमुख छैनौ। हामी जबाफदेही छौँ।’
यौन पेसाको आवरणमा चोरी चकारी, अन्य विभिन्न आपराधिक गतिविधिमा संलग्न भएकालाई कारबाही गर्न प्रहरीको जिम्मा लगाउने गरिएको उनले बताए। ‘काम गरेर खान पाइन्छ। पब्लिकलाई दुख दिन पाइँदैन। जबरजस्ती गर्न पाइँदैन। विभिन्न किसिमका अतिरञ्जित गतिविधि गर्न पाइँदैन,’उनले भने,’प्रहरीलाई देख्दा अनुशासनहीन भएर नटेर्ने, गाली गलौच गर्ने, मुख छोड्ने गर्न पाइँदैन।’
उनले आपराधिक गतिविधि गर्नेलाई नेपालको कानुन अनुसार सजाय दिनुपर्ने बताए। ‘यसमा समर्थन गर्दैनौ भनेका छौँ। यस्ता घटनामा हाम्रो समुदायका साथीहरू संलग्न हुन्छन् भने हामीलाई खबर गर्नु होला,’उनले भने,’हामीले अभियान चलाइरहेका छौ। सहयोग गर्छौ।’
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.