साहित्य अकादमी अनुवाद पुरस्कारबाट पुरस्कृत तेजपुर, आसामका स्रष्टा छत्रमान सुब्बाको पठन र लेखन चेतनाको कोशेली बनेर आएको ‘साहित्यमा उत्तर चेतको खोजी’ लाई समालोचकीय धारको अलग कृतिका रूपमा लिन थालिएको छ। यसअघि मुलत नेपाली र असमीया कविता लेखन तथा हिन्दी, असमीया र नेपाली भाषा अनुवादको पहिचानमा जोडिएका सुब्बाले नेपाली विशिष्ट प्रतिनिधिमूलक रचना (कृति) मार्फत साहित्यमा उत्तर–चेतको खोजी गर्दै ल्याएको कृति विश्वविद्यालयका अध्येताका निम्ति सोध–सन्दर्भ सामग्री समेत बनेको छ।
कृतिकार सुब्बाले प्रा.डा.गोविन्दराज भट्टराईका १० वटा कृतिको मीमांसा गर्ने क्रममा सुब्बाले ‘उत्तरआधुनिक विमर्श’, ‘डायस्पोरा सिद्धान्त र समालोचना’, ‘समयबोध र उत्तरआधुनिकता’, ‘मुगलान’, ‘आराधना (अङ्ग्रेजी निबन्धको नेपाली रूपान्तरण)’, ‘मेरो पहिलो बेलायत यात्रा’, ‘निर्वाचित निबन्धावली’, ‘भूकम्प प्राथना’, ‘सुकरातका पाइला’ र ‘गोविन्दराज भट्टराईका चिठीपत्र’ लाई छनौट गरेका छन्। कृतिको अन्त्यमा भने असमीया भाषामा लेखिएको डा.लक्ष्मीनन्द बराको ‘कायाकल्प’ कृतिलाई सुब्बा स्वयमले गरेको नेपाली अनुवादबारेको विवेचनालाई राखिएको रहेछ।
आफ्नो सृजनामा उत्तर चेतको चेतनालाई बुझ्ने र लेख्ने अनुप्ररेणा दिने गुरु प्रा भट्टराईलाई स्रष्टा सुब्बाले सबैभन्दा उपल्लो स्थानमा राखेका छन्। प्रा.डा. भट्टराईका हालसम्म प्रकाशित ७२ कृतिमध्ये छानिएका १० कृतिबाट आफूले कला साहित्यको सिद्धान्त र प्रयोग राम्ररी बुझेको स्वीकारोक्ति छत्रमानले दोहोर्याउँदै जनाएका छन्। यो नवीनतम कृतिले स्रष्टा छत्रमानको साहित्यिक उचाइ स्वतः आकासिएको र कृतिका नायक प्रा.डा. भट्टराईको सृजन उचाइलाई अझ विस्तृत बनाएको अनुभूत हुन्छ।
भट्टराईको सृजन शिल्पीबारेमा समालोचक अभि सुवेदी, ज्ञानबहादुर क्षेत्री, मुक्तिप्रसाद बराल, डा.ज्ञानु पाण्डे, अनिता कोइराला आदिले राख्दै आएको दृष्टिकोणलाई स्रष्टा सुब्बाले उद्धृत गरेका छन्, लेखन–पठन प्रमाणका रूपमा। समालोचक डा.पाण्डे भन्छिन्—“उत्तरआधुनिकताको जरा उधिन्ने क्रममा प्रा.डा. भट्टराई ज्यादै परसम्म पसेका छन् र, उत्तरआधुनिकता कुनै एक निश्चित सिद्धान्तको वाणी नभई अनेक सिद्धान्तहरूको एउटा ठुलो छाता हो भन्ने तथ्यबारे पाठक छर्लङ्ग हुन्छ।”
यस ग्रन्थमा समाविष्ट दश कृतिहरू एकसे एक नै छन्, कुनैलाई पनि कमवेश गर्न मिल्दैन। सर्जकद्वारा मात्र फरक समयमा सिर्जिएका हुन् तथापि उत्तराधुनिक विमर्श,उत्तराधुनिक ऐना साथै डायस्पोरा सिद्धान्त आदिले सर्जग साहित्याकाशमा उज्ज्वल नक्षत्रका रूपमा उदाएको देखिनुहुन्छ। र, नेपाली साहित्यको प्रसङ्गमा डायस्पोरा विचार भित्र्याउने पहिलो व्यक्ति विद्वान प्रा. माइकल हट (बेलायत) हुन् भने यसको व्यवहारिकतालाई नेपालीमा स्थापना गराउने श्रेय प्रा.डा. गोविन्दराज भट्टराईलाई जान्छ।
(प्राध्यापक माइकल हटले ‘मुगलान’ उपन्यासलाई ‘‘फस्ट नोवल अफ दि लाइफ अफ भुटानी नेपाली डायस्पोरा’’ भनी सन् १९८८ मैँ व्याख्या गरेका थिए। संयोगले ‘मुगलान’ उपन्यास हालै मुक्तिप्रसाद उपाध्याय बरालले बङ्गाली भाषामा समेत अनुवाद गरेका छन्। ‘मुगलान’ उपन्यास अङ्ग्रेजी अनुवादमा पनि आइसकेको छ, यसलाई लेखनाथ शर्मा पाठकले अनुवाद गरेका छन्।)
उत्तरआधुनिक प्रविधि र शैली र नवचिन्तकका लागि विश्वसाहित्यको ऐना, साहित्यमा उत्तरचेतको खोजी यस्तै महत्त्वपूर्ण सिर्जनाले नेपाली साहित्यको गरिमा सँगै आयाम बढेको महसुस हुन्छ। फेरि स्रष्टा सुब्बा स्वयमले ‘कायाकल्प’ कृति र ‘मुगलान’ उपन्यासको नेपाली भाषामा अनुवाद गरेर नेपाली भाषालाई ठुलो गुण लगाइदिएका मात्रै छैनन्, बरु नेपाली र असमेली भाषाका बीचमा पुल जोडिदिने काम गरेका छन्।
अन्त्यमा नेपाली भाषा–साहित्यका अग्रज गुरु प्रा.डा. गोविन्दराज भट्टराईको सकारात्मक सोच र प्रेरणादायी बिचारलाई साभार गर्दै आफ्नो विवेचना टुङ्ग्याउन चाहन्छु। गुरुको भनाइ रहँदै आएको छ—‘‘नवागन्तुकलाई कला साहित्यमा कहिल्यै निरुत्साही गर्नु हुँदैन।’’
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.