पोखरा : संविधानसभा सदस्य तथा मायाको पहिचान नेपालका कार्यकारी निर्देशक सुनिल बाबु पन्त निर्देशित वृत्तचित्र ‘अजिमा र ६ प्रकारका लैङ्गिक पहिचान’ पोखरामा विशेष कार्यक्रमबीच प्रदर्शन गरिएको छ। सामाजिक सचेतना र लैङ्गिक पहिचानका गहिरा तहलाई उजागर गर्ने वृत्तचित्रको प्रदर्शनीपछि समीक्षा तथा अन्तरक्रिया कार्यक्रम पनि सम्पन्न भयो।
गण्डकी प्रदेशकी उपसभामुख विना कुमारी थापा मगर प्रमुख अतिथिका रूपमा सहभागी भइन्। उनले वृत्तचित्रले खोजमूलक सामग्री प्रस्तुत गर्दै नागरिकमा चेतना फैलाउने कार्य गरेको उल्लेख गर्दै भनिन्,“यस्ता वृत्तचित्रले समाजमा सकारात्मक परिवर्तन ल्याउन महत्त्वपूर्ण भूमिका खेल्न सक्छन्। सबै नागरिकले यो वृत्तचित्र एक पटक अवश्य हेर्नुपर्छ।”
नेपाल पत्रकार महासङ्घ गण्डकी प्रदेशकी महासचिव जमुना वर्षा शर्माले वृत्तचित्रले परम्परागत संस्कृतिभित्रै लुकेको मातृ शक्ति र त्यसबेलाको लैङ्गिक पहिचानलाई कलात्मक ढंगले उजागर गरेको बताइन्। “नेपालको राष्ट्रिय झन्डालाई मातृ शक्तिसँग जोड्दै वृत्तचित्रले महिलाको शक्ति र संस्कृतिमा रहेको गहिरो सम्बन्धलाई उजागर गरेको छ,” उनले भनिन्।
अर्का विश्लेषक दिनेश सापकोटाले वृत्तचित्रले पितृसत्तात्मक दृष्टिकोणबाट पछाडि पारिएका वर्ग र लैङ्गिक अल्पसङ्ख्यकको सहभागिता र पहिचानलाई उठान गरेकोमा प्रशंसा गरे। “समाजमा हेर्ने दृष्टिकोणमै परिवर्तन ल्याउने सम्भावना यस्तो श्रव्य दृश्य कृतिमा छ,” उनको भनाइ थियो।
निर्देशक पन्तले वृत्तचित्रमा मातृसत्तात्मक परम्परा, मन्त्र, तन्त्र र प्राचीन प्रविधिको अन्तरदृष्टि प्रस्तुत गरिएको बताए। वृत्तचित्र काठमाडौं, भक्तपुर र पाटन दरबार क्षेत्रका मठमन्दिर, सांस्कृतिक प्रथा र ऐतिहासिक सन्दर्भहरूसहित विविध दृश्यमार्फत निर्माण गरिएको छ।
वृत्तचित्रले नेपालको सांस्कृतिक र लैङ्गिक विविधताको जीवन्त चित्रण प्रस्तुत गर्दै, हाम्रो समाजमा विद्यमान मातृसत्तात्मक अभ्यास र लिङ्ग पहिचानका बहुआयामिक अनुभवहरूमा गहिरो प्रकाश पारेको छ।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.