२० वर्षको उमेरमा पहिलो पटक आफ्नो घर छोडेर, घर मात्र होइन देश छोडेर परदेश गएको छोराले मध्यरातमा आफ्नी आमालाई एउटा मेसेज पठाउँछ। छोराको त्यो मेसेज पढी नसक्दिकै आमाको सरर आँखा रसाउँछ। त्यो खुसीको आँसु थियो या पीडाको, पछि छुट्याउनेछु। अहिलेलाई आमाको सिरानी भिजाउने छोराको ‘मेसेज’मा लेखिएको शब्द हु बहु राख्दछु।
“आमा आ-बुवाको धेरै याद आयो। आफू सानो हुँदाको आबुवासँग बुनिएका कुराहरू सम्झे। आफ्नो दाँत कीराले खायो भनेर मलाई काखमा राखी दिनदिनै दाँत माझिदिएको ती प्रत्येक रातहरू याद आयो। अफिसबाट फर्कँदा ५० रुपैयाँको ‘बाइक’ न्युरोडबाट किनेर ल्याइदिएको सम्झना आयो। एक दिन पनि छुटाइसिन्न थियो। मैले एक दिन ‘किन्डर जोए’ ल्याइदिइस्यो भनेको आबुवाले नजानेर अर्कै चकलेट ल्याइदिँदा म रिसाएको थिए। आबुवाको ढाडमा चिप्लेटी खेलेर हैरान पार्थे। हजुर नहुँदा दसैमा शाकाहारी मेरो आबुवाले मासु ल्याएर पकाइदिएको याद आयो। मेरा बोझिला झोला आफैले बोकेर हात समाएर मलाई स्कुल बस स्टपसम्म लगेको अनि ‘आपे’ ‘पापे भनेर एक अर्कालाई सम्बोधन गर्दै बिताएका थुप्रै दिनचर्या मेरो मानस पटलमा अहिले घुमिरहेछ। ठुलो भएसी’ आबुवासँग टाढिएको महसुस भयो आमा मलाई। मलाई त सधैँ आबुवाको ‘पुड्के’ हुन मन छ। आबुवालाई धेरै सम्झे आज अचानक। मेरो धेरै माया भन्दिइस्यो है आमा! धेरै सम्झेको छ रे भन्दिइस्यो है। यो सबै सम्झेर म रोएँ पनि आमा! जति नै गरे पनि पहिलाको जस्तो अब हुन्न , म पनि ठुलो भए, आबुवालाई पनि अप्ठ्यारो लाग्दो हो पहिला जस्तै व्यवहार गर्न। तर मलाई सानो भएर आबुवाको ‘पुट्के’ हुन पुगेको छैन, आबुवाको ‘पापे’ हुन अनि जवाफमा ‘आपे’ भन्न पुगेको छैन, आबुवाको जिउ माथि खुट्टा राखेर सुत्न अनि अँगालो हाल्न पुगेकै छैन आमा!”
भोलिपल्ट १०- ११ बजेतिर उनकी आमाले त्यसलाई पुन सातौँ पटक पढछिन र मेसेजमा रिप्लाई गर्छिन् यद्यपि यो त (आ)बुवा सम्म पुर्याइ दिन अनुरोध थियो। तर जति पटक यसमा छोराले “आमा” सम्बोधन गरेका छन् त्यसले आमालाई चसक्क दुखेको छ र उनी आफ्नो छातीदेखि पेट सम्म हातले सुम्सुम्याउछिन र जवाफ लेख्छिन् यसरी कि “ठुलो हुँदैमा माया नहुने होइन बाबा। माया अथाह हुन्छ केवल रूप फेरिन्छ। यो सम्झना नै त हो तिम्रो सम्पत्ति। यहाँ धेरै छोराछोरी छन् जोसँग यस्तो सम्झना छैन, यस्तो सम्पत्ति छैन। उनीहरू नियतिले ठगिएका हुन। तिमीसँग सम्झना छ तिमी धनी छौ बाबा। बाँकी सबै कुरा प्रकृतिको नियम हो। म तिम्रो भावना आबुवासम्म पुर्याइदिन्छु।”
साँझ अफिसबाट फर्केपछि आमाले त्यो मेसेज जसलाई लेखिएको हो उसैलाई पढ्न दिइन। बुवाले पढेर मोबाइल फिर्ता दिए।
छोराछोरीको व्यवहार, उनीहरूको भनाइ, लेखाइमा बाबु र आमाको प्रतिक्रिया प्रायः फरक हुन्छ। बाबुको अनुभूति झट्ट देखिँदैन। उनी हत्तपत्त जवाफ लेख्दैनन् अनि व्यक्त गर्दैनन् र आफू मजबुत भएको देखाउन खोज्छन्। आफ्नो कोमल भावनालाई भित्रै लुकाउँछन्। त्यसैले त मेसेज पढेर मनमा हजार फूल फुले होलान् प्रतिक्रियामा भने केवल भन्छन्, “पढाइमा ध्यान देऊ।” ती शब्दहरूमा लुकेको उनको माया कहिले काहीँ सजिलै बुझ्न सकिन्न। बुझाउनलाई आमाले नै बारम्बार सेतुको काम गरेकी हुन्छे।
छोराको त्यो मेसेजले आमालाई किन रुवायो अब यसमा विश्लेषण गर्छु।
पहिलो कुरा त रुनु, आँसु आउनु स्वाभाविक प्रक्रिया हो। जब मन कुनै रूप, तत्त्व, दृश्यसँग ठोकिन्छ तब त्यहाँ वेदना सुरु हुन्छ। वेदना भनेको सुख, दुःखको अनुभूति। यद्यपि यो दुई बाहेक पनि एउटा यस्तो अनुभूति हुन सक्छ जहाँ न खुसी हुन्छ न पीडा। हुनु पर्ने त त्यो हो तर माया र तृष्णामा जेलिएको मान्छेलाई जब बाहिरी रूप, शब्द, गन्ध, रस, प्रष्टव्य र धर्मले भित्री चक्षु, स्रोत, घ्राण, जीवा, काय, मनलाई छुन्छ तब केही न केही भएकै हुन्छ। त्यस अनुसार आमालाई छोराको यो सन्देशले जे भयो त्यही नै हो त्यो आमाको अनुभूति पनि। अब सबै आमालाई यस्तै नै हुनुपर्छ भन्ने चैँ छैन।
छोरालाई आफू सानो छदा आमाबुवासँग आफूले बिताएको जीवनले कति हदसम्म छोएको रहेछ कि ऊ त्यो स्वादमा आज पनि कल्पी रहेछ। केटाकेटीमा उसलाई त्यो मिठो पल दिन सकेकोमा एउटी आमाको सफलताको खुसी हुनसक्छ त्यो आँसु।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.