एलजीबीटीआईका लागि सुलभ स्वास्थ्य सेवा, न्यूनतम शुल्कमा स्वास्थ्य परीक्षण

एलजीबीटीआईका लागि सुलभ स्वास्थ्य सेवा, न्यूनतम शुल्कमा स्वास्थ्य परीक्षण

8.2k
SHARES

काठमाडौं : यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक (एलजीबीटीआई) समुदायलाई लक्षित गरी काठमाडौँको थापाथलीमा सुलभ र समावेशी स्वास्थ्य सेवा सुरु हुने भएको छ। ‘मायाको पहिचान नेपाल’ र ‘एक एक पाइला सामुदायिक स्वास्थ्य संस्था’ को सहकार्यमा यो विशेष कार्यक्रम सुरु हुन लागेको हो।

थापाथलीस्थित नेपाल राष्ट्र बैङ्कको कार्यालय अगाडि रहेको ‘एक एक पाइला’ संस्थामा अब एलजीबीटीआई समुदायका व्यक्तिहरूले न्यूनतम शुल्कमा यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी सेवा लिन सक्नेछन्।

सेवा सुरु गर्नुअघि मायाको पहिचान नेपाल र एक एक पाइला सामुदायिक स्वास्थ्य केन्द्रका प्रतिनिधिबीच छलफल भएको छ। स्वास्थ्य सेवा प्रदान गर्ने मोडालिटीबारे कुराकानी भएको छ।

संस्थाका अनुसार सामान्य परामर्श शुल्क रु. १५० र विशेषज्ञ परामर्श शुल्क रु. ३०० मात्र निर्धारण गरिएको छ। साथै, यौन रोग (एसटिडी) उपचार, एचआइभी परीक्षण, यौन स्वास्थ्य स्क्रिनिङ जस्ता सेवाहरू अत्यन्त सुलभ दरमा उपलब्ध हुनेछन्।

यो कार्यक्रम संविधान सभाका सदस्य तथा ‘मायाको पहिचान नेपाल’का कार्यकारी निर्देशक सुनिलबाबु पन्त र लिड नेपालकी कार्यकारी निर्देशक तथा तेस्रोलिंगी मानवअधिकारकर्मी नुमा लिम्बु (चञ्चला) को पहलमा अघि बढाइएको हो।


एलजीबीटीआई समुदायमा एचआइभी लगायत यौन रोगको जोखिम उच्च रहेको चञ्चलाले बताइन। “तर लाञ्छना, विभेद र सामाजिक पूर्वाग्रहका कारण स्वास्थ्य सेवा लिन सक्दैनन्,”उनले भनिन्,“उनीहरूको पहुँचमा सेवा ल्याउन यस्तो कार्यक्रम आवश्यक थियो।”

कार्यक्रम सुरु हुनु गर्नु अघि आगामी बुधवार एक दिने ओरियन्टेशन सञ्चालन गरिनेछ, जसमा स्वास्थ्यकर्मीलाई एलजीबीटीआई समुदायसँग कसरी संवेदनशील व्यवहार गर्ने भन्ने तालिम दिइनेछ।

सेवा लिन आउने व्यक्तिहरूलाई सहज बनाउन मायाको पहिचान नेपालले दुई जना फोकल पर्सन उपलब्ध गराउने भएको छ। साथै, सेवा शुल्क तिर्न नसक्ने बिरामीका लागि विशेष व्यवस्था मिलाउने तयारी पनि गरिएको छ।

अमेरिकी सहयोग नियोग युएसएआइडीको सहयोगमा एलजीबीटीआई समुदायका लागि २० वटा क्लिनिक सञ्चालनमा थिए। तर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दोस्रो कार्यकाल सुरु भएसँगै ती क्लिनिकका लागि प्रदान गरिँदै आएको अनुदान सहयोग बन्द भयो। त्यसपछि क्लिनिकहरू बन्द भए।

मनिन्द्र सिंह दनुवार, मिस्टर गे हेण्डसम २०१७ का विजेता, भन्छन्, “एचआइभी परीक्षण र यौन रोग स्क्रिनिङ पहिलो चरणमै गर्न सकिन्छ। जटिल अवस्थाका बिरामीलाई सरकारी अस्पतालमा रिफर गर्ने व्यवस्था गर्नुपर्नेछ।”

त्यस अभावको भरपाई गर्न मायाको पहिचान नेपालले ‘एक एक पाइला’ संस्थासँग स्थानीय स्रोत र स्वयंसेवकको प्रयासमा सहकार्य गर्न लागेको जनाएको छ।

‘एक एक पाइला’ संस्था २०७२ सालको भूकम्पपछि स्थापना गरिएको हो। संस्थाले सुरुमा भूकम्पपीडित क्षेत्रमा महिनामा एक पटक पुगेर निःशुल्क स्वास्थ्य सेवा दिन थालेको थियो। कुनै दातृ निकायको सहयोग बिना, नेपालीले नेपालीका लागि भन्ने सोचसहित स्थापना गरिएको यो संस्थाले अहिले पनि हिमाली भेगका दुर्गम गाउँमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको जनाएको छ।

संस्थाका प्रमुख चिकित्सक डा. सुमन थापाले सरकारीभन्दा अलिक महँगो, तर निजी क्लिनिकभन्दा निकै सस्तो शुल्कमा सेवा दिइरहेको जानकारी दिए। “एलजीबीटीआई समुदायका लागि सहज र आत्मीय सेवा दिन पाउँदा हामी गर्व गर्छौँ,”उनले भने।

डा. सजनी डङ्गोलले भनिन, “हामी समावेशिता र समानताको मूल्यमा आधारित सेवा दिन्छौँ। सबैको गोपनीयता सुनिश्चित गर्छौँ।”

डा. राविया मानन्धरका अनुसार, यौन र प्रजनन स्वास्थ्यसँगै दन्त परीक्षण सेवा पनि सहजै उपलब्ध हुनेछ।

एक एक पाइलाका अशोक पाण्डेले हप्तामा दुई दिन एलजीबीटीआई समुदायका लागि छुट्टै सेवा सञ्चालन गरिने जानकारी दिए। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायबारे अभिमुखीकरण तालिम लिन र बिरामीसँग व्यवहार गर्न आवश्यक सीप सिक्न तत्पर रहेको बताए।

अमेरिकी अनुदान कटौतीपछि सङ्कटमा परेका एलजीबीटीआईलाई स्वास्थ्य सेवा

समाचार शेयर गर्नुहोस्
8.2k
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.