गभर्नर डा. पौडेलसँग निजी क्षेत्रको माग : १० वर्षसम्म स्थिर नीति

गभर्नर डा. पौडेलसँग निजी क्षेत्रको माग : १० वर्षसम्म स्थिर नीति

1.5k
SHARES

काठमाडौं : नेपाल राष्ट्र बैङ्कका नवनियुक्त गभर्नर डा. विश्वनाथ पौडेलले अर्थतन्त्र चलायमान बनाउन भूमिका खेल्ने बताएका छन्। गभर्नर डा. पौडेलले केन्द्रीय बैङ्कका निर्णयहरू पूर्वानुमान योग्य हुने बताए।

‘निजी क्षेत्र अर्थतन्त्रको संवाहक हो। अर्थतन्त्र चलायमान हुन स्थायित्व आवश्यक छ। निर्णयहरू पूर्वानुमानयोग्य हुनु पर्दछ,’उनले भने,‘ बैङ्किङ क्षेत्रमा आकस्मिक कुनै निर्णय गर्नु भन्दा सरोकारवालाहरुसंग बसेर छलफल गरेर अगाडि बढ्दा नै नीतिगत स्थायित्व कायम गर्न सकिन्छ भन्ने मेरो धारणा हो।’

पदभार ग्रहण गर्दै गभर्नर पौडेलले मौद्रिक नीतिले सरकारको वित्त नीति कार्यान्वयनमा केही अवरोध गरे परिमार्जन गर्दै जाने र अर्थतन्त्र चलायमान बनाउन भूमिका खेल्ने बताए।

गभर्नर डा. पौडेलले पहिलो काम मौद्रिक नीतिले तय गरेका विषयलाई सफल बनाउनेतर्फ र अर्को काम सुपरिवेक्षण बढाउने भएको स्पष्ट पारे।

नेपालका विभिन्न बैङ्कमा सर्वसाधारणको धेरै पैसा बसेको र त्यसको सुरक्षाका लागि सुपरिवेक्षण प्राथमिकतामा पर्ने उनको भनाइ छ। उनले गभर्नरका आकाङ्क्षी गुणाकर भट्टको राजीनामा स्वीकृत नहुनु आन्तरिक विषय भएको बताए।

पदभार ग्रहणपछि गभर्नर पौडेलले पाँच सय र एक हजारका नयाँ नोट छपाइ गर्ने निर्णयमा हस्ताक्षर गरेका छन्।

नवनियुक्त गभर्नर पौडेलले मौद्रिक नीति र वित्त नीति अलग विषय रहेको बताए। गभर्नर पौडेललाई निजी क्षेत्रको छाता संस्था नेपाल उद्योग वाणिज्य महासङ्घले बधाई तथा शुभकामना दिँदै लगानी मैत्री र मनोबल बढाउने कार्यक्रम ल्याउन सुझाव दिएको छ।

महासङ्घले विगत वर्षहरूमा उच्च ब्याजदरका कारण व्यवसायी एवं सर्वसाधारण समेतले कर्जाको किस्ता तिर्न नसक्दा चालु आर्थिक वर्षमा खराब कर्जा बढ्दै गएको उल्लेख गरेको छ। उसले कर्जाको पुनर्तालिकीकरण तथा पुनर्संरचना गर्न पाउने व्यवस्था गर्नुपर्ने सुझाव गभर्नर डा. पौडेललाई दिएको छ।

सरकारले बजेट वक्तव्यमा उल्लेख गरेको उत्पादनमूलक उद्योगलाई अन्य व्यवसाय भन्दा कम ब्याजदरमा कर्जा प्रवाह गरिने व्यवस्थालाई कार्यविधि बनाइ तत्काल लागु गर्नुपर्ने, साना तथा मझौला उद्यमीलाई पुर्नकर्जा उपलब्ध गराउने व्यवस्था गर्नुपर्ने तथा परियोजना सम्भाव्यताको आधारमा परियोजना कर्जा उपलब्ध गराउनुपर्ने व्यवस्था हुनुपर्ने सुझाव दिएको उद्योग वाणिज्य महासङ्घले जनाएको छ।

अध्यक्ष चन्द्र प्रसाद ढकालले राष्ट्र बैङ्कले लगानी मैत्री वातावरण निर्माण गर्दै देशको आर्थिक समृद्धिका लागि भूमिका खेल्नु पर्ने बताए। ‘चालु आ.व. मा कर्जाको ब्याजदर न्यून हुँदा समेत कर्जा विस्तार हुन नसकेको सन्दर्भमा निजी क्षेत्रको मनोबल बढाउन मौद्रिक र गैर मौद्रिक उपाय अवलम्बन गर्नुपर्ने देखिन्छ। नीतिगत अस्थिरता लगानीको मुख्य बाधक रहेको सन्दर्भमा हामीले लगानी दशक घोषणा गर्दै एकीकृत नीति र १० वर्षसम्म स्थिर नीतिको माग गरिरहेका छौँ। केन्द्रीय बैङ्कका नीतिहरू पनि स्थिर हुन आवश्यक छ,’ अध्यक्ष ढकालले भने।

उनले देशको समग्र अर्थतन्त्र चलायमान हुन ग्रामीण अर्थतन्त्र चलायमान हुनु पर्ने उल्लेख गर्दै विप्रेषण आप्रवाह खुला र सहज बनाउनु पर्ने सुझाव दिए। बजार चलायमान हुन नसक्नुको अर्को मुख्य कारण चालु पुँजी कर्जा सम्बन्धी मार्ग दर्शन रहेको हुँदा यसलाई क्षेत्र हेरि सहज बनाउनु पर्ने उनले बताए।

महासङ्घका निवर्तमान अध्यक्ष शेखर गोल्छाले अर्थतन्त्रका अधिकांश सूचक सकारात्मक हुँदा पनि देशको समग्र अर्थतन्त्र चलायमान हुन नसकेको उल्लेख गर्दै समग्र अर्थतन्त्र चलायमान हुने गरी केन्द्रीय बैङ्कले भूमिका खेल्नु पर्ने बताए। वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले बैङ्कमा रहेको तरलतालाई उत्पादनमूलक क्षेत्रमा लगानी गर्ने तथा उद्योग र व्यापारलाई दिइने कर्जाको व्याजमा अन्तर गर्नु पर्ने सुझाव दिए।

महासङ्घका उपाध्यक्षहरू हेमराज ढकाल, ज्योत्सना श्रेष्ठ र कोषाध्यक्ष भरतराज आचार्यले केन्द्रीय बैङ्कले अवलम्बन गर्ने मौद्रिक उपकरणहरू बजारमा माग सिर्जना गर्न लक्षित हुनुपर्ने सुझाव दिए।

समाचार शेयर गर्नुहोस्
1.5k
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.