"/>

अमेरिका पुगेका भुटानी शरणार्थीको पीडा : ‘अब सडक पनि सुरक्षित छैन’

अमेरिका पुगेका भुटानी शरणार्थीको पीडा : ‘अब सडक पनि सुरक्षित छैन’

जन्मभूमिले निकालेको, आश्रयभूमिले अपमान गरेको

1.5k
SHARES

अमेरिका : हिजो साँझ करिब ९ बजे, अमेरिकाको पेनसिलभेनिया राज्यको राजधानी ह्यारिसबर्गस्थित डाउनटाउनमा रहेको सोनोको ग्याँस स्टेसनमा एक भयानक अनुभवको सिकार भए भक्त घिमिरे -जो भुटानबाट निष्कासित भई नेपालको शरणमा बस्दै तेस्रो देश पुनर्वासमार्फत अमेरिका पुगेका एक भुटानी शरणार्थी हुन्।

घटनाको सुरुआत सामान्य देखिएको थियो। उनी सामानको भुक्तानी गर्न लाइनमा उभिरहेका थिए। यत्तिकैमा छातीमा एक बच्चा, पछाडि अर्को बच्चा बोकेकी, करिब आधा दर्जन बच्चाहरू साथमा भएकी मिल्की जस्ती छालाकी एउटी महिला उनीतर्फ आएर आरोप लगाइन्- गाडी चलाएर आउँदा नजिकैको चोकमा आफूलाई ठक्कर दिएको भनिन्।

छेउमै टाटुहरूले भरिएको अनुहार र शरीर भएको एक सेतो छालाको व्यक्ति देखापर्‍यो। उसले घिमिरेसँग ड्राइभर लाइसेन्स माग्यो। घिमिरेले के भयो हो भनेर बुझाउने प्रयास गरे। उनले भने अनुसार, आफूमाथि आरोप लगाइएको सडक प्रयोग नै गरेका थिएनन्; उनी त पार्किङ लटको अर्को छेउबाट प्रवेश गरेका थिए। तर न त ती महिला, न त्यो व्यक्ति, न पसलमा रहेका अन्य कसैले उनको कुरा सुन्ने चासो देखाए।

स्थिति झन् तनावपूर्ण बन्न थाल्यो। घिमिरेले भुक्तानी प्रक्रिया सुरु गरेकै बेला ती टाटुवालाले उनको डेबिट कार्ड खोसेर फालिदियो। परिस्थितिलाई मध्यनजर गर्दै घिमिरेले पसलधनीलाई प्रहरी बोलाउन आग्रह गरे। तर उनले भने, “व्यावसायिक प्रतिष्ठानमा प्रहरी बोलाउँदा नराम्रो असर पर्छ।”

तत्काल उनले आफैँ ९११ मा फोन गर्न थाले। तर फोन डायल हुँदै गर्दा ती महिला, पुरुष र बच्चाहरू पसलबाट बाहिर निस्किएर पार्किङ लटमा झुम्मिए। पसलधनी फेरि बिन्ती गर्न आए—“कृपया फोन नगरिदिनुस्।” उनी दबाबमा परे र फोन काटे।

पसलधनीले उनलाई कारसम्म पुर्‍याए। कारमा बस्दासम्म ती मानिसहरू चिच्याइरहेका थिए—

“ए विदेशी, फर्क! तिमीहरूको देश फर्क!”

“अमेरिका हाम्रो हो, तिमीहरूको होइन!”

घिमिरे शान्त रूपमा वरिपरि हेर्दै कार स्टार्ट गरे र त्यहाँबाट निस्किए। उनले लगाएको विश्व शरणार्थी दिवस लेखिएको टिसर्ट नै आफ्ना विरुद्धको घृणा भड्काउने आधार बन्यो।


शरणार्थी जीवन, निष्कासन र पुनः अपमान

भक्त घिमिरेको यो पीडादायक भोगाइ अमेरिका पुगेका हजारौँ भुटानी शरणार्थीको प्रतिनिधि कथा हो। उनीहरू तेस्रो देश पुनर्वासमार्फत अमेरिका पुगे पनि अझै “विदेशी”को आँखाले हेरिन्छन्। घिमिरे भन्छन्, “आज पसल मात्र होइन, सडक पनि सुरक्षित छैन। के यही हो त्यो ‘महान् अमेरिका’ जुन पछिल्लो चुनावपछि बनाइएको छ?”

डोनाल्ड ट्रम्प अमेरिकी राष्ट्रपति बनेपछि शरणार्थी तथा आप्रवासीहरूप्रति व्यवहार झन् कठोर बन्दै गएको छ। कागजात अभाव, गल्तीपूर्ण अदालती निर्णय वा जानाजान गरिएका निष्कासनका कारण केही भुटानी शरणार्थीहरूलाई अमेरिकाबाट निकालिएको थियो। हालसम्म अमेरिकाबाट निकालिएका चार जना भुटानीको मात्र अवस्थाबारे थाहा छ; बाँकी दर्जनौँको अवस्थाबारे कुनै अत्तोपत्तो छैन।

उनीहरूलाई भुटानले स्वीकार गरेन। भारत-भुटान सीमामा छाडिएका यस्ता भुटानीहरू आज पनि कानुनी हैसियतविहीन, सुरक्षाहीन अवस्थाबाट गुज्रिरहेका छन्। न भारतले नागरिक मानेको, न भुटानले आफ्नो स्वीकारेको। भुटानी शासकहरू भने यो पीडालाई अनदेखा गर्दै आएका छन्।

जन्मभूमिले निकालेको, आश्रयभूमिले अपमान गरेको

भुटान सरकारले ९० को दशकमा दक्षिणी भुटानी नागरिकलाई योजनाबद्ध रूपमा निष्कासन गर्‍यो। नेपालमा दसौँ वर्षसम्म शरणार्थी शिविरमा बसेपछि संयुक्त राष्ट्रसङ्घीय उच्चायोग (UNHCR) को पहलमा पुनर्वासको कार्यक्रम सुरु भयो। अमेरिका, क्यानडा, अस्ट्रेलिया लगायतका मुलुकहरूमा भुटानीहरू पुगी जीवनको नयाँ सुरुआत गरिरहेका छन्।

तर, उनीहरू अझै पनि सुरक्षित छैनन् —न त मानसिक रूपमा, न त सामाजिक रूपमा। शरण दिनु, सम्मान दिनु र मानवीय व्यवहार गर्नु मुलुकको जिम्मेवारी हो। तर अमेरिका जस्तो मुलुकमा यस्तो व्यवहार हुनु दुःखद मात्रै होइन, चिन्ताजनक पनि हो।

भक्त घिमिरेको यो कथाले अमेरिकामा रहेका हजारौँ भुटानी शरणार्थीको वास्तविकता बोल्छ। शरण दिइएकाहरूले सम्मान होइन, अपमान भोग्नु परिरहेको छ। र, जन्मभूमि भुटानका शासक भने आफ्नै नागरिक पीडामा परेका बेला पनि कानमा तेल हालेर बसेका छन्—जसले कुनै दिन उनीहरूलाई नै प्रश्नको घेरामा ल्याउनेछ।

भक्त घिमिरेसँग केही समय अघि गरिएको कुराकानी सुन्नुहोस् :

समाचार शेयर गर्नुहोस्
1.5k
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.