भ्रष्टाचार मुद्दाले नेपाललाई तनाव, देउवा र प्रचण्डबीच छलफल

भ्रष्टाचार मुद्दाले नेपाललाई तनाव, देउवा र प्रचण्डबीच छलफल

2k
SHARES

काठमाडौं : पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई तनाव भएको छ। पतञ्जलि योगपिठलाई नेपाल सरकारको तर्फबाट जग्गा उपलब्ध गराउने नीतिगत निर्णयमा संलग्न रहेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेपछि नेपाललाई तनाव भएको हो।

राजनीतिक वृत्तमा तरङ्ग आएको छ। नेपालले जहाँ पुग्दा पनि भ्रष्टाचार नगरेको जवाफ दिइरहनु परेको छ। मुद्दा दर्ता भएको पर्सिपल्ट शनिवार जनकपुरमा आयोजित पार्टी निकट मधेस प्रदेश सम्पर्क समिति अधिवेशनमा बोल्दै अध्यक्ष नेपालले आफू निर्दोष रहेको जिकिर गरे। आफूले कुनै गल्ती नगरेको दाबी गरे।

पूर्वप्रधानमन्त्री नेपालले आफ्नो प्रधानमन्त्रीत्वकालमा लिइएका नीतिगत निर्णयलाई आधार बनाएर मुद्दा चलाए पनि अदालतबाट न्यायको अपेक्षा आफूले गरेको सुनाए। ‘अहिलेसम्म एक पैसा पनि कसैको खाएको छैन,’नेपालले भने।

नेपालले राजनीतिक जीवनभर स्वच्छ छविका रूपमा बसेको र सार्वजनिक सम्पत्तिमा हात नहालेको दाबी गरे। नेपालविरुद्धको मुद्दा पतञ्जलि योगपिठलाई विभिन्न उद्योग स्थापनाका लागि नेपाल सरकारको स्वामित्वमा रहेको जग्गा सस्तो मूल्यमा भाडामा दिने निर्णयमा आधारित रहेको अख्तियारको दाबी छ।

यो मुद्दा आगामी दिनमा नेपाली राजनीतिमा गम्भीर बहसको विषय बन्ने देखिएको छ। नेकपा एकीकृत समाजवादीले यसलाई राजनीतिक प्रतिशोधको रूपमा चित्रित गरिरहेको छ भने सत्तारुढ दल एमाले यसलाई भ्रष्टाचारविरुद्धको कानुनी प्रक्रिया भन्दै अघि बढाउन जोड दिइरहेको छ।

पूर्वप्रधानमन्त्री नेपालविरुद्ध भ्रष्टाचार मुद्दा, भिजिट भिसा प्रकरणले बन्धक बनेको संसद् खुलाउन नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल भएको छ।

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको संलग्नताको आशङ्कामा प्रतिपक्ष दलहरूले जेठ १३ गतेदेखि संसद् बैठक अवरोध गरेपछि गाँठो फुकाउन देउवा र प्रचण्डबीच छलफल भएको नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले जानकारी दिए।

नेकपा माओवादी केन्द्र सहितका प्रतिपक्ष दलहरूले गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने नभए संसदीय छानबिन समिति बनाउनुपर्ने माग राख्दै आएका छन्। तर सरकारले भने गृहमन्त्रीले राजीनामा दिनु नपर्ने र समिति पनि बनाउन आवश्यक नरहेको बताउँदै आएको छ।

नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले संसद् अवरोध प्रतिपक्षले नभई सरकारले नै गरेको आरोप लगाए। संसद् खुलाउन सरकार नै गैर जिम्मेवार रहेको उनले सुनाए।

संसद्को गतिरोध अन्त्य गर्न सभामुख देवराज घिमिरे पनि सक्रिय छन्। उनले दलका प्रमुख सचेतकहरूसँग निरन्तर संवाद गरिरहेको संसद्का प्रवक्ता एकराम गिरीले जानकारी दिए। ‘सभामुख घिमिरे आइतबार संसद् बैठक अघि सबै प्रमुख सचेतकहरूसँग छलफलमा जुट्दै हुनुहुन्छ,’ गिरीले भने।

सभामुख घिमिरेले पनि आइतबार अवरुद्ध सदन सुचारु हुने दाबी गरेका छन्। प्रतिगामी शक्तिहरू सक्रिय हुन थालेको सङ्केत दिँदै उनले यस्तो संवेदनशील अवस्थामा सत्ता र प्रतिपक्षले मिलेर अघि बढ्नुपर्नेमा जोड दिए।

पूर्वप्रधानमन्त्री नेपालविरुद्धको मुद्दाले भ्रष्टाचार र नीतिगत निर्णयबीचको सिमाना पुनः बहसको केन्द्रमा ल्याएको छ। अब अदालतले यसबारे के निर्णय लिन्छ, त्यो नै प्रमुख प्रतीक्षाको विषय बन्नेछ। नेपाल स्वयं भने आत्मविश्वासका साथ यो मुद्दा सामना गर्ने मनस्थितिमा देखिएका छन्।

समाचार शेयर गर्नुहोस्
2k
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.