सानोमा म माया खोज्थेँ, अब म माया बाँड्दै हिँड्छु : चञ्चला

सानोमा म माया खोज्थेँ, अब म माया बाँड्दै हिँड्छु : चञ्चला

2.1k
SHARES

नुमा लिम्बु ‘चञ्चला’ भित्र जलिरहेको आन्दोलनको उज्यालो अहिले सयौँको आँखामा आशा बनेर बलेको छ। उनी एक पात्र मात्र होइनन्-एक विचार, एक विद्रोह, र एक बाँचिरहेको इतिहास हुन्। तेस्रोलिंगी भएर बाँच्नुपर्ने जीवनका पीडा, अपमान र आत्मसंघर्षलाई आत्मसात् गर्दै उनले आफूजस्तै अरूका लागि जीवन समर्पित गरेकी छन्।

मोरङको बबिया बिर्ता (हाल रङेली नगरपालिका) को परालले छाएको एक झुपडीभित्र जन्मिएकी थिइन्, नुमा। उमेरले काँचो, मनले मायाको तिर्खा पिएको त्यो बाल्यकालमा नै उनको काँधबाट मायाका हातहरू छुट्टिए। पहिले आमाबुबाको निधन, त्यसपछि समाजको ठेलमठेल। “माया दिने सबै गुमे, अनि म आफैँलाई पनि गुमाउँदै थिएँ,” उनी भन्छिन्।

विद्यालयमा उनी तेजिला छात्रा थिइन्। तर उनको हाउभाउ, बोलचाल, पहिरन, अभिव्यक्तिमा फरकपन थियो। फरक भनेको स्वाभाविकता थियो, तर समाजले त्यसलाई ‘त्रुटि’ ठानेर उनलाई हेप्न थाल्यो।

साथीहरू हाँस्थे, ‘हिजडा’, ‘छक्का’ भन्दै। शिक्षकहरूले हप्काउँथे ‘लाज लाग्दैन तेस्रो लिङ्ग भएर?’, ‘यिनीहरूले समाज बिगार्छन्।’ सार्वजनिक स्थलमा प्रहरीद्वारा लात्तीले हानिँदा उनले एक प्रश्न सोचेकी थिइन्,“के मेरो अस्तित्व अपराध हो?”

आफ्नै शरीरसँगको युद्ध

किशोरावस्थामा उनले आफ्नो शरीरसँग एक अनौठो युद्ध लडिन्। आफूलाई ऐनामा हेर्दा घृणा लाग्थ्यो। कहिले हाँस्दै जीवनको अन्त्य गर्ने कल्पनामा डुब्थिन्। “म न पुरुष थिएँ, न समाजले चाहेजस्तो महिला। म त बस, म थिएँ,” उनी भन्छिन्।

जीवन त्यत्तिकै हरेस खाएर सकिने थियो, यदि एक दिन विराटनगरको एक गैरसरकारी संस्थाको कार्यक्रममा उनी आफैँजस्तै यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकहरू भेटेकी नहुँदी। त्यहीँबाट सुरु भयो,पहिचानको आत्मस्वीकृति, जीवनको पुनः परिभाषा, र आफूजस्तै धेरैलाई उज्यालो देखाउने यात्रा।

नुमा भन्छिन्, “म पनि मान्छे हुँ, म पनि प्रेम गर्छु।” त्यो प्रेम विश्वासको थियो, सम्मानको थियो। तर कानुनको नजरमा अपराध थियो।
विवाह दर्ता गर्न उनी प्रेमिकासँग वडा कार्यालय गइन्। त्यहाँका कर्मचारीहरू हाँस्दै बोले,“के बिहे? के नाटक हो यो?”

त्यो दिन नुमा चुप लागिनन्। उनले भनिन,“यो मेरो जिन्दगी हो, नाटक होइन।” त्यसै क्षणदेखि उनले निजी प्रेमलाई सार्वजनिक मुद्दा बनाइन्। जुन मुद्दा अहिले पनि कायम छ। कानुन बनेको छैन। त्यसकै लागि नुमा अहोरात्र खटिएकी छन्।

जब उनले ‘महिला’ पहिचानसहित नागरिकता माग गरिन्, राज्यले उत्तरमा प्रश्न उब्जायो,“तिमी के हौ भन्ने प्रमाण के छ?” सरकारी कागजमा अझै ‘पुरुष’ लेखिएको थियो, जबकि उनी आफैँले आफ्ना सपनाभित्र चञ्चला भइसकेकी थिइन्।

“कागजमा म पुरुष थिएँ, ऐनामा महिला। मभित्रकी म भने सधैँदेखि चञ्चला थिएँ,” उनी भन्छिन्।

संविधानभन्दा अगाडि निस्केको सङ्घर्ष

नेपालको संविधानले लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकको अधिकार ग्यारेन्टी गर्छ। तर व्यवहारमा नुमा जस्ता नागरिकहरू अझै सरकारी सेवा, कानुनी संरक्षण र सामाजिक स्वीकृति विहीन छन्।

“संविधानको भाषा राम्रो छ,” उनी भन्छिन्, “तर व्यवहारको व्याकरण अझै विभेदमै अडिएको छ।”

उनले विवाह दर्ता, पहिचानअनुसारको नागरिकता, तेस्रोलिंगीमैत्री नीति, सार्वजनिक सेवा पहुँच, र कानुनी मान्यताको माग गर्दै सङ्घर्ष गरिरहेकी छन्।

झापाको दमकमा नुमाले कार्यक्रम संयोजक बनेर झन्डै दुई दशक कोशी प्रदेशका १५ भन्दा बढी स्थानीय तहसँग समन्वय गरेर यौनिक शिक्षा, क्षमता विकास तालिम, र नीति निर्माणका कार्यक्रमहरू सञ्चालन गरेर देशको सङ्घीय राजधानी काठमाडौँमा छिन्।

उनले समुदायका सदस्यका लागि सुरक्षित आवासका लागि पनि बजेट माग गर्दै आएकी छन्। उनी प्रदेशमा मात्रै सीमित छैनन्-काठमाडौं पुगेर सिंहदरबारभित्रै अधिकारीहरूलाई यौनिक अल्पसङ्ख्यकको हकबारे बुझाउँदै छिन्। उनी भन्छिन्, “म एउटा हो, तर मसँग हजारौँको आवाज छ।”

परिभाषाको पुनः लेखाइ

उनका लागि परिवार भनेको रगतको सम्बन्ध मात्र होइन। “परिवार भनेको साथ हो, स्वीकृति हो, जहाँ प्रेम छुट्याइनु हुँदैन।”

उनकी प्रेमिका, र सँगै रहेका साथी सङ्गीहरू नै उनको परिवार हुन्-जहाँ कानुनी छापभन्दा आत्मीयताको समर्थन ठुलो हुन्छ।

आज उनी प्रहरीलाई तालिम दिन्छिन्, न्यायाधीशहरूसँग बहस गर्छिन्, कानुन निर्माण प्रक्रियामा संलग्न रहन्छिन्। उनी आत्मविश्वास, न्याय र स्वतन्त्रताको नयाँ व्याख्या हुन्।

नुमा लिम्बु (चञ्चला) अब केवल एक नाम होइन—उनी आन्दोलनको नाम हुन्।

उनले ‘तेस्रोलिंगी महिला’ शब्दलाई मात्रै होइन, ‘प्रेम’, ‘नागरिकता’ र ‘मानव अधिकार’ जस्ता शब्दहरूलाई पुनः परिभाषित गरेकी छन्।

उनको जीवनले भन्छ,“पहिचान लुकाउने होइन, देखाउने कुरा हो।“ र अझै पनि उनी भन्छिन्-“म माया बाँड्दै हिँड्छु। किनभने माया बाँड्दा घृणा हराउँछ।”

समाचार शेयर गर्नुहोस्
2.1k
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.