नेपाल–साउदी श्रम सहकार्य : श्रमिक पठाउने दुई सम्झौतामा सहमति

नेपाल–साउदी श्रम सहकार्य : श्रमिक पठाउने दुई सम्झौतामा सहमति

1.2k
SHARES

जेनेभा : नेपाल र साउदी अरेबियाबीच सामान्य तथा सीपयुक्त श्रमिक पठाउने विषयमा दुई महत्त्वपूर्ण श्रम सम्झौतामा सहमति जुटेको छ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारी र साउदी अरबका अन्तर्राष्ट्रिय मामिलाका उपमन्त्री तारिक अल हमदबीच जेनेभामा भएको साइडलाइन द्विपक्षीय भेटवार्तामा श्रम सहकार्यको दिशा तय भएको हो।

दुवै पक्षबीच सामान्य श्रमिक तथा सीप प्रमाणीकरण कार्यक्रम सम्बन्धी दुई छुट्टाछुट्टै सम्झौता गर्ने समझदारी बनेको मन्त्री भण्डारीले जानकारी दिए।

साउदी पक्ष यसअघि घरेलु श्रमिकसम्बन्धी सम्झौता नहुँदासम्म सामान्य सम्झौतामा हस्ताक्षर नगर्ने अडानमा रहे पनि यस पटकको छलफलले उक्त अडान फिर्ता लिएको र पहिले नै सहमति भइसकेको सामान्य श्रम सम्झौतामा अघि बढ्ने बाटो खुलेको उनले बताए।

“सामान्य श्रमिकसम्बन्धी सम्झौतामा नेपालले पहिल्यै सहमति जनाएको छ। हस्ताक्षर मात्रै बाँकी छ,” मन्त्री भण्डारीले भने, “अब घरेलु श्रमिकसम्बन्धी मस्यौदामा थप गृहकार्य गरी पाइलट परियोजनामार्फत त्यसमा पनि सहमति कायम गर्ने तयारी छ।”

भण्डारीले नेपालको संसद्को निर्देशनअनुसार पहिले सामान्य श्रम सम्झौता र त्यसपछि मात्र घरेलु श्रमिकसम्बन्धी सम्झौता गर्नुपर्ने औपचारिक जानकारी साउदी पक्षलाई दिइएको स्पष्ट गरे।


नेपालको प्रस्ताव र साउदीसँगको सहमतिका मुख्य बुँदाहरू :

१. घरेलु श्रमिकलाई भर्नासम्बन्धी सम्झौता गर्न नेपाल अझै मापदण्ड तय गर्ने चरणमा छ। कूटनीतिक नियोगको क्षमता सुदृढ गर्दै घरेलु श्रमिकको न्यायमा पहुँच र समयमै हस्तक्षेप गर्न सक्ने संयन्त्रको विकासलाई प्राथमिकता दिइएको छ।

२. श्रमिकको शून्य-लागतमा भर्ना गर्ने नीतिमा जोड दिइएको छ। श्रम मर्यादित बनाउन मापदण्डको पालना सुनिश्चित गर्न आपूर्ति र म्यानपावर कम्पनीहरूको कडा नियमन र निरीक्षण आवश्यक छ।

३. सुरक्षित, मानवीय र सम्मानजनक काम र गुणस्तरीय वासस्थान हुनु पर्नेमा जोड दिइएको छ। न्यूनतम ज्याला, सुरक्षा, व्यवसायजन्य स्वास्थ्य, जीवन बिमा, स्वास्थ्य उपचारमा सहज पहुँच र सुरक्षा मापदण्ड स्पष्ट हुनुपर्छ।

४. साउदी अरबको श्रम बजारको क्षेत्रीय आवश्यकताअनुसार नेपालमा व्यावसायिक र प्राविधिक प्रशिक्षण अनुकूल गराउन सहकार्य गर्न नेपाल तयार छ।

५. विदेशमा प्राप्त सीपहरूलाई पहिचान गरी रोजगारी, उद्यमशीलता र सामाजिक सेवा माध्यमबाट फर्केकाहरूलाई सहयोग गर्ने पुनः एकीकरण कार्यक्रम कार्यान्वयनको चरणमा पुगेको छ।

६. फिफा विश्वकप २०३० सफल बनाउन नेपाल सहकार्य गर्न इच्छुक छ।

नेपालले साउदी सरकारले पठाएको सामान्य श्रमिक सम्झौताको मस्यौदामा सहमति जनाई परराष्ट्र मन्त्रालयमार्फत औपचारिक रूपमा साउदी सरकारलाई पठाइसकेको छ। उक्त मस्यौदामा अन्तर्राष्ट्रिय श्रम सङ्गठनका मापदण्ड अनुसार श्रमिकको अधिकार, स्वास्थ्य सुरक्षा, रोजगारदाता परिवर्तन, न्यायोचित भर्ना प्रक्रिया जस्ता विषय समावेश छन्।

साउदी श्रम बजारमा नेपाली श्रमिकको पहुँच अझ सुरक्षित, मर्यादित र व्यवस्थित बनाउन यो समझदारीले सामाजिक सुरक्षा, सीप विकास र श्रमिक हितको सुनिश्चितता गर्ने सरकारको दाबी छ।

समाचार शेयर गर्नुहोस्
1.2k
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.