धार्मिक धारावाहिक टेलिपर्दाका श्रृखलाहरूमा ऋषिमुनि, योगी- तपस्वीका ‘आश्रम वा कुटी’ बारे पढे-देखेका छौँ। ती हेर्दा लाग्छन्,काल्पनिक कथामा आधारित पात्रका लागि तयार बनाइने संयोजन हुन्। जुन हामीले टेलिभिजनको पर्दा र पुस्तक/पुस्तिकामा समेत हेरे-देखेका छौँ। वास्तविक घटनामा अझै पनि यो सम्भव छ र? भन्ने हामी सोच्न सक्छौँ।
बाक्लिँदो कङक्रिट महलहरूमा अझै पनि छिटफुट ‘कुटी’ जीवन छ र? भन्दा आश्चर्य लाग्न सक्छ। तर, साँच्चै नै राजधानीको केन्द्रबिन्दुमा रहेको आश्चर्यपूर्ण ‘कुटी’मा पङ्क्तिकार पुग्छ। नेपालकै प्रमुख शहरभित्र कुटी जीवन! सहज कि असहज, कस्तो होला? कल्पना गर्दा पनि आजको यो समयमा आश्चर्य लाग्छ।
पाँच मिनेट भित्र अनकन्टार जङ्गलको बीचमा सानो ‘कुटी’। त्यही कुटीबाट पाँच मिनेट बाहिर निस्क्यो भने दुनियाँको रमझम, तामझाम र ताल नै बेग्लै। कति हतारमा मानव जीवन दौडिरहेको हुन्छ। मानौँ कि, एक सेकेन्ड ढिला भयो भने मानव जगत्मा एक कदम उसको हिस्सा नै खुस्किँदैछ। त्यसरी ऊ अत्तालिएर सहरको सडक र गल्ली नापेर बेजोडले हिँडिरहेको देख्दा उदेक लाग्छ। आजको सहर र युग यहाँ पुगेको छ।
यस्तो समयमा पनि कुटीमा एक युवा योगी भने फेरि आफ्नै संसार र दुनियाँमा मस्त र मन्द रमाइरहेका छन्। कोलाहल शहरबीच उनको जीवनशैली देख्दा लोभलाग्दो देखिन्छ। पङ्क्तिकार चित्त खाँदै सोच्न थाल्छ कि, खास कुन दुनियाँ सही हो? जीवन त यसरी पनि चल्दो रहेछ। सुखको खोजीमा दुःख पाएका। दुखको खोजीमा सुख पाउन बेजोड-बेतोड दौडिएका। त्यसैबीच सादगी संसारमा ‘कुटी’ जीवन पनि गज्जब बित्दो रहेछ। मानव जगतको दुनियाँमा पङ्क्तिकारको मन भित्र असरल्ल वास गर्दै प्रश्नहरूले छेड्न थाल्छ। वाह! ब्रह्माण्ड-सृष्टि।
पशुपतिनाथ आर्यघाट काटेर थोरै उक्लेपछि पाँच मिनेट पूर्वतिर गौरीघाटको पाखो छ। त्यही पाखोको आडमा सानो भिरालो जग्गामा थोरै बसेको जमिन छ। वरिपरि रूख पात र जङ्गलले घेरिएको छ। तल खोल्सामा वाग्मती सुसाइरहेको। वरिपरि सन्नाटा र अनेकन् चराचुरुङ्गीको मिठो आवाज गुन्जिएको सुनिन्छ। सुनसान र शान्त परिवेशले छुट्टै आनन्दको अनुभूति दिलाउँछ। त्यही एकान्त ठाउँभित्र वरिपरि बाँसले बारेको एउटा कुटी छ। माथि छानो चित्रा, त्रिपाल, प्लास्टिकको सहारामा खरको फुस्कोले ओत ढाकिएको छ। केही भाग माटोले लिपिएको सानो र आकर्षक देखिने चिटिक्क परेको ‘कुटी’ छ। त्यही कुटीबाट अचानक पङ्क्तिकार सहित पुगेका आफन्तजनलाई स्वागत गर्न अनौठो एक युवक फुत्त कुटीको ढोकामा शालीन भेषमा देखा पर्छन्।
खैरो सेतो खाँडीको कपडा आधा काँध शरीर ढाकेका छन्। बोधिचित्तको माला पहिरिएका। कानमा दुई आकर्षक कुण्डल झुन्डेका छन्। लामो कालो कपाल डल्लो पारी जुरो बाँधेका। राजामाहाराजाले झैँ दारीजुङ्गा सजाएका। जोगी, योगी, साधु भन्दा पनि झ्वाट्ट देख्दा भने बुद्ध लामा गुरु जस्ता देखिन्छन्। खाली खुट्टामा दुई हात जोड्दै अतिथिलाई मिठो बोली र मुस्कानले स्वागत गर्छन्। ती योगीले कुटीको आँगन/चउरमा आउनुस् / बसौँ भन्दै सत्कार गरे। ती युवा योगी पुन कुटी भित्र छिर्छन्। अनि, हातले बुनिएका परालका पिरा/गुन्द्री बिछ्याउँछन् र अतिथि सत्कारमा फलफूल दिएर मिठो बोली वचनको सत्कारले हामी सबै प्रफुल्लित बन्छौँ। केही छलफल र कुराकानी पछि सबै खुसीसाथ त्यो कुटीबाट फर्कन्छौँ। त्यसपछि पङ्क्तिकारको मनमा अनेकन् खुल्दुलीले बास गर्छ। आखिर को हुन्? र, उनी यसरी, कसरी आइपुगे? कौतुहलताले आकाश छेड्यो!
‘श्री पञ्च सत्य सनातन’ उनले आफ्नो परिचय बनाएका रहेछन्। ३३ वर्ष अघि कर्णाली प्रदेशको जाजरकोट बारीकोट गाउँपालिका ४ गोठगाउँमा बाबु धनबहादुर सिंह र आमा जसमती सिंहको कोखबाट सनातनको जन्म भएको हो। पछिल्ला बझाङ्गी राजा श्री जय पृथ्वीबहादुर सिंहका पुस्ता रहेको पञ्च सत्य सनातन बताउँछन्। उनी सनातन अर्थात् योगी, ध्यानी, तपस्वी, जोगी, अघोरी विविध उपनामाले देखिए/ चिनिए पनि एक साधकका रूपमा ‘सनातन, धर्मको सेवक ठान्दछन्। र, त्यसै सम्बन्धी थुप्रै काम गरेका छन्।
करिब ४ वर्षको अबोध बाल्यकालदेखि कहाली लाग्दो समय बिताएका छन् सनातनले। बाल्यकालको बालापन खोसिएको छ। किशोर अवस्थाको किशोरपन र युवा अवस्थाको समय सामान्य मानिसले बिताएको भन्दा फरक तरिकाले गुज्रेको सम्झन्छन्। उनी भन्छन् ‘बालापन, किशोर पन र युवावस्था के हो भन्ने आफ्नो समय बितेन।’बाल्यकालमै विद्रोहीहरूले आफूलाई अपहरण गरेपछि जबरजस्त माओवाद र कम्युनिष्टवादको सिद्धान्तको रटानमा समय गुज्रियो। नाबालक अवस्थाबाटै वैदिक साधनहरूमा समय बिताएको सनातन सुनाउँछन्।
२०५२ सालमा तत्कालीन माओवादी विद्रोहीहरूले घरमा लुटपाट गरे। त्यति मात्र होइन केही समयपछि अबोध बाल्यकालमै आफूलाई समेत अपहरण गरेर भारतको लदाखमा राखे। २०५४ साल असारमा बाबुको हत्या गरे। घाँटी रेटेर तड्पाई-तड्पाई यातना दिएर हत्या भयो। सामन्ती र शोषक भन्दै आफ्नो बाबुलाई यातना दिएर हत्या गरेको तितो अनुभव सनातन सुनाउँछन्।
कापी कलम लिएर स्कुल जानुपर्ने अवस्थामा विद्रोहीहरूसँग उठबस सुरु भयो। जबरजस्त माओवाद सिद्धान्त घोकाइन्थ्यो हिउँको थुप्रोमा राखेर दमन र शोषण गर्दै कम्युनिस्ट सिद्धान्त घोकाइन्थ्यो। बाल्यकालबाटै जीवनको तितो भोगाइ र उतारचढावले पनि आफ्नो यात्राले फरक मोड लिएको सनातन बताउँछन्। अपहरणकै बेला विद्रोहीहरूसँग छँदा साधना गर्न थालेको सुनाउँछन्। माओवादी विद्रोहीहरू सिद्धान्त घोकाउँथे। सनातनले भने आँखा खुल्ला पारे पनि आफू ‘आफ्नै’ लागि ध्यानमा डुब्थे। उनी भन्छन्,’विद्रोहीहरूले आफूलाई ध्यान दिएर सुनेको लाग्थ्यो।
तर, त्यसबेला म ध्यानमा मग्न बस्थेँ।’ सनातन रहस्यमय तरिकाले त्यतिबेला योगीहरूसँग भेट भएको सुनाउँछन्। ‘सायद म योगीका लागि योग्य वा कृपा पाएर होला, ती योगीहरूले त्यतिबेला साङ्केतिक रूपमा आफ्नो ध्यान केन्द्रित गर्दथे।’ उनी भन्छन्, कुमाउ, गडवाल, सिम्ला, झारघण्ड, कुल्लु, मनाली लगायत विहार क्षेत्रहरू योगी ऋषिहरूको कुनै पवित्र आश्रय, वासस्थान वा भिक्षा क्षेत्र हुनुपर्छ, त्यसैले ती योगीहरूसँग आफ्नो भेट भयो।
उनी त्यसबेलाको अनौठो रहस्यमय क्षण सम्झन्छन्। जब विद्रोहीहरू व्यस्त हुन्छन् त्यही समय आफूले ती रहस्यमयी योगीहरूसँग भेट गर्दथे। ती योगी सप्तॠषिहरूले आफूभित्र प्रवेश गर्न साङ्केतिक अभिषेकहरू सनातनलाई दिने गर्दथे। यसरी माओवाद र कम्युनिष्टवादको सिद्धान्तबीच सँग-सँगै अध्यात्मवाद पनि रहस्यमय ढङ्गले सुरुवात भएको अनुभव सनातन साट्छन्।
माओवादी विद्रोहीहरूसँगै २०५४ सालमा सनातनलाई नेपाल ल्याए। त्यही बेला आफ्नो बाबुको वार्षिकी गरे। त्यसपछि उनी गाउँ बस्न थाले। तपस्या र ध्यान गर्न उनले छाडेनन्। गाउँ बसाइका केही वर्षहरू बिताए पछि सनातन पुन भारत प्रस्थान गरे।
भारत बसाइमा सनातनले महात्मा योगी तपस्वीहरूको शिष्य बनेर बसे। योगी तथा तपस्वीहरूसँगको उठबसले सनातनको लगाव वैदिक परम्परा, तपस्या र ध्यान, सिद्ध कर्महरू प्रति अझै केन्द्रित हुन थाले। उनले त्यहाँ रहँदा /बस्दा विद्वान योगीहरूसँग नजिक हुने अवसरहरू पाए।
२०६८ सालमा उनले समग्र भारत वर्ष भनेर विभिन्न हिमाल यात्राहरूमा सिद्ध पीठ तीर्थ यात्रा पूरा गरे। भारतको प्रसिद्ध क्षेत्र जम्मुकाश्मीर, कन्याकुमारी, सिम्ला, उत्तराखण्ड, झारखण्ड, लदाख, कुल्लु, मनाली र नेपालका मुस्ताङ, हुम्ला, डोल्पा, बझाङ, बाजुरा, गोसाईंकुण्ड, सगरमाथा बेसक्याम्प, कल्पढुङ्गा क्षेत्र लगायत ५ हजार बढी हिमालय यात्रा सनातनले गरे।
सनातनले सिद्ध हिमाल यात्रा सम्पन्न गरेपछि २०६८ सालमा डा. स्वामी प्रपन्नाचार्यको सम्पर्कमा पुगेको बताए। प्रपन्नाचार्यको स्वामित्वमा पुगेपछि उनको शिष्य बनेर सनातनले काम गर्न थाले। त्यसै क्रममा उनले दरबार हाइस्कुलमा कक्षा दश सम्मको अध्ययन पनि पूरा गरे। महात्मा, योगी तपस्वीहरूका शिष्य बनेर बाँकी शिक्षा लिए।
सनातन आध्यात्मिक ज्ञान र स्व-अध्ययन अनुसन्धानमा आफ्नो समयहरू खर्च गर्दछन्। बौद्ध, हिन्दु, किरात, शिख धर्म लगायतका थुप्रै किताबहरूको अध्ययन गरेका छन्। उनको स्व-अध्ययनले आफूमा ज्ञानको भण्डार भरेका छन्।
२०७० सालमा डा. प्रपन्नाचार्यको आदेशमा सनातन भारत प्रयाग राजका जगतगुरू श्री राम कृपालु त्रिपाठीको सम्पर्कमा पुगे। उनले बौद्धिक वैदिक विद्याआर्जन त्यहाँ गरे। सनातन, दार्शनिक योग, साधक र साधनकाबारे अभ्यास गरेर नेपाल फर्किए।
२०७१ सालमा डा.प्रपन्नाचार्यले आफ्नो प्रमुख शिष्य सनातनलाई बनाए। त्यही वर्ष नेपालका विशिष्ट योगीहरूको भेलाबीच उनका आदर्श गुरु-पिता डा.स्वामी प्रपन्नाचार्यले अभिषेक गरेर ‘श्री पञ्च सत्य सनातन’ पदवी प्राण प्रतिष्ठापन विधि (सिद्ध) गरी औपचारिक रूपमा पदाभिषेक (ग्रहण) गराए। आफूले पाएको पदभार ग्रहण अत्यन्त गौरव र खुसीको पल भएको सनातन भन्छन्।
२०५५/५६ सालको मध्यतिर एक हजार डाकिनी देवीले रहस्यमय तरिकाले अभिषेक गरेको अनौठो स्मरण पनि सनातनसँग छ। हिमाली लद्दाख क्षेत्रमा सनातन सिद्ध पीठ प्रतिष्ठापन गरेर हुम्ला, जुम्ला र २२ पाटन क्षेत्रमा ती हजार देवीहरूद्वारा ‘श्री पञ्च सत्य सनातन’को पट्टाभिषेक गरेको बताउँछन्। त्यही रहस्यमयी अभिषेकको औपचारिकता भने डा. स्वामी प्रपन्नाचार्यले गद्यमा आसन गराएर बौद्धिक योगीहरूको भेलामाझ ‘श्री पञ्च सत्य सनातन’ ले पदाभिषेक गराइएको हो, सनातन सुनाउँछन्।
सनातन धर्ममा ‘श्री ६’ सम्म उपाधि भए पनि युवालाई ‘श्री पञ्च’ उपाधि मात्र दिइन्छ। त्यही अनुसार आफूले उपाधि पाएको जनाउँछन्। यसको व्याख्या लामो भए पनि मुख्यतया पञ्चायतन प्रणाली अनुसार पञ्च बुद्ध,पञ्चब्रम्ह, पञ्चदैव,अघोर रत्न लगायत महादेव शक्तिको बौद्धिक सर्वाङ्गीण प्रतीक ‘श्री ५ पञ्च सत्य सनातन’ हो। ‘सनातनी धर्मको प्रतिष्ठित पात्रलाई गरिने सम्बोधन पनि हो’ उनी थप्छन्। यसैले उनी उपाधि श्री पञ्च सत्य सनातन भनेर परिचित छन्।
सनातन सम्बन्धी काम तथा कर्म, मठ,मठाधी सिद्ध अनुष्ठान तथा प्रतिष्ठापनका कार्यहरू गर्दै आएका छन्। सनातन भन्छन्, ‘त्यही सिलसिलामा नै आफूले हिमालय यात्राहरू गर्दै आएको हो।’ फेरि पनि करिब दस हजार किलोमिटर हिमालय सिद्ध यात्रामा छिट्टै निस्कँदै छन्। त्यसको लागि तयारी गर्दैछन्।
बाटोमा देख्नेले सनातनलाई लामो कपाल जुरो बाँधेको देखेर लामा गुरु भन्दा रहेछन्। धेरैजसो सेतो खाँडीको लबेदामा बुद्धचित्तको माला पहिरिएको देख्दा किरात गुरु पनि भन्छन्। उनलाई हजारौँ बुद्ध र किराँतीहरूको भीडमा यसरी सम्बोधन हुन पाउँदा खुसी लाग्ने बताए। बौद्ध परम्परा बारे पनि आफू जानकार रहेको सनातनको भनाइ छ। किरात धर्मगुरु तथा राष्ट्रिय विभूति माहागुरू फाल्गुनन्दको त आफूलाई नाति भन्न रुचाउँछन्। आफ्ना गुरु डा. स्वामी प्रपन्नाचार्यसँगको निकटताले माहागुरूका बारे नजिकबाट नियाल्न र जान्न बुझ्न पाएको सुनाउँछन्। ‘मैले माहागुरू फाल्गुनन्दको महा समाधीस्थल टेकेको छु।’ उनी भन्छन्, ‘महागुरु फाल्गुनन्दका मार्गदर्शनहरू अध्ययन गरेको छु।’ सबै धर्मको सम्मान गर्ने सनातनले आफ्नो बाटो र मार्गदर्शन भने ‘सनातनी’ धर्म कै सेवक भन्छन्, त्यही अनुसार अघि सर्दै आएका छन्।
चिहान माथि बसेर ‘अघोर’साधना गरेका छन् सनातनले। चिहानमा निदाउँछन्, बस्छन् र पकाएर खान्छन्। उनको साधना देख्दा अघोरी- भयङ्कर लाग्दो देखिन्छ। उनीसँग धेरै प्रकारका साधनाको अनुभव छ। ‘अघोरीबाबा'(अघोर) साधना नकारात्मक होइन सकारात्मक साधना रहेको सनातनको तर्क छ। उनी भन्छन्, ‘अघोर- ‘घोर’ गहिरो साधना, तपस्या, दर्शन मार्गदर्शन नै ‘अघोर’ साधना हो।’
समाजमा ‘अघोर’ साधनालाई नकारात्मक रूपमा हेर्ने परम्परा छ। अघोरको महत्त्व नकारात्मक होइन। ‘तपाई कठोर परिश्रम गर्नुहुन्छ, मेहनत गर्नुहुन्छ, कुनै पनि काममा दत्त चित्त लागेर नित्य कर्ममा लाग्नुहुन्छ। कर्म गरेर फल प्राप्त गर्न लागिरहनु हुन्छ त्यो नै ‘अघोर’ साधन हो।’ सनातन थप्छन्, ‘आइपरेको समस्यासँग जुध्नु, सङ्घर्ष गर्न सक्नु त्यो पनि अघोर साधना हो।’ भयङ्कर डर लाग्दो साधना भनेर जगत्ले बुझेको छ। त्यो, बुझाई गलत हो सनातन भन्छन्, ‘निर्मल, सरल, सहज, सौम्य, समुधर्य घोर साधन प्रणाली नै ‘अघोर साधना’ हो। यो साधना नकारात्मक होइन उनी सुझाउँछन्।
जङ्गलको बीचमा कुटी छ। डर र त्रास बारे जिज्ञासा राख्दा सनातन भन्छन्,’मान्छेसँग डर लाग्छ। दिउँसो कुलतमा फसेका युवाहरूको झुन्ड कुटी वरिपरि डुल्ने गर्दछन्।’ उनी सुनाउँछन्,’कहिले काहीँ बाघ-चितुवाले कुकुर ल्याएर खान्छ।’ आफू ढोका बन्द गरेर सुरक्षित बस्नुपर्छ। जनावरसँग समस्या नहुने उनको भनाई छ। आर्यघाट नजिकै छ। किनारको छेउमा कुटी छ भूतले तर्साउँदैन भनेर ठट्टा गर्दा सनातन मुस्कुराउँदै भन्छन्, ‘अँ हुन्छ। आफ्नो गुनासाहरू, रोदनहरू सुनाउँछन्। उनीहरूको आफ्नै बाटो छ, सुनिदिनुपर्छ।’ बाटो लाग्छन् सनातन अनुभव साट्छन्।
वर्तमान राजनीतिक अवस्थाबारे पनि सनातन सचेत छन्। कहिलेकाहीँ देश कालखण्ड परिस्थिति अनुसार राजनीतिक सचेतनाका लागि पनि खरो रूपमा प्रस्तुत हुन्छन्। धार्मिक सहिष्णुता खलल पुग्ने स्थिति सृजना हुँदा उनी त्यसको विरुद्ध आवाज उठाउँछन्। सरकारले गरेको गलत कदम विरुद्ध होस् वा प्रतिगामी तत्त्वहरूले खेलेको द्वैध चरित्र विरुद्ध नै किन नहोस् उनी खुलेर यसको विरोध गर्दछन्। सही कदमहरू प्रति पनि खुलेरै समर्थन गर्दछन्।
धार्मिक सहिष्णुता र सम्प्रदाय भड्काउने गतिविधिबाट मुक्त हुनुपर्ने उनको जिकिर छ। सनातनले धर्मले ‘राजनीति’ गर्ने होइन। राजनीतिले ‘धर्म’ छाडेर राजनीति गर्न नहुने तर्क सार्छन्। उनी थप्छन्, ‘धर्म युक्त राजनीति गर, राजनीतिमा धर्म हुनुपर्छ, धर्ममा राजनीति हुनुभएन।’ पापको राजनीति राम्रो होइन।’ वर्तमान राजनीतिले धर्म छाडेर राजनीति गरेको प्रति दुखेसो पोख्छन्। राजनीति प्रति चासो रहे पनि आफ्नो कर्तव्य ‘सनातनी’ कर्मकाण्ड नै भएको दोहोर्याए।
३३ वर्षको यात्रामा धेरै नै उतारचढाव सनातनले भोगेका छन्। देख्दा शालीन लाग्छन्। उत्ति नै कठोर पनि छन्। उनले अभाव देखेका छन्। नजिकबाट मृत्यु देखेका छन्, दुख, पीडा, भोक, तिर्खा, चिसो- तातो,आशु-हाँसो रोग, व्यथा सबै भोगाइ उनको छ। ‘परेको बेला संसारमा आफू मात्र एक्लो ‘सहारा’ हो, सनातन भन्छन्। उनले आफू मर्न भनेर हिँड्दा भोगेको तितो कहानी सुनाए। समय र परिस्थिति यति कष्टकर र दयनीय अवस्थासम्म मान्छेलाई पुर्याउँछ। जो कसैले पनि मृत्यु नजिक सम्म पुग्नु परोस् भनेर हिँड्छ। तर, पनि त्यो मान्छे मर्दैन भने उसले जीवनकालमा के चाहिँ भोगेको हुँदैन? उनी प्रति प्रश्न गर्दै भन्छन्, ‘कुनै बेला ‘म’ मर्छु भनेर हिँडेको छु। तर, मरिन।’
आफ्नो बाबु मारिदा पनि त्यति पीडा महसुस भएन। तर, केही त्यस्ता पीडा हुन्छन्, जसले मर्नु परोस् भनेर खाली खुट्टा भारतलाई फन्को मार्दा पनि जिउँदै भइयो स्मरण सुनाउँछन् सनातन। खाली खुट्टा पैदल हिँडेर भारतदेखि फर्कँदा हेटौँडामा कालोपत्रे गरेको सडक टेक्दा पाइतालाका छाला पत्र-पत्र उप्किए। भतभती पोल्यो। रगत बग्यो। ज्वरोले थलिएर दुई महिना हेटौडा बसेको कठिन अनुभव सुनाए। त्यो घटना पछि आजकल चप्पल लगाएर हिँड्न थालेका रहेछन् सनातन। त्यसअघि सनातन खाली खुट्टामा पैदल हिँड्ने गर्दथे।
मर्न हिँडेको मान्छे बाँचेर फर्किएपछि उनी ओडार (गुफा) मा जीवन बिताउन थाले। बाँच्नलाई सहज छैन। ध्यान, योग, तपस्या र साधनाले यहाँसम्म पुगिएको छ। सनातन लामो श्वास तान्दै भन्छन्, ‘जीवनमा आफूले आफूलाई ‘प्रेम’ गर। मस्त रहनु। आफूलाई प्रेम जब गर्छौ, अनि संसारलाई तिमि चिन्छौ। तिमी खुसी छौ, संसार खुसी रहन्छ। तिमी खुसी छैन, दुनियाँले तिमिलाई मतलब गर्दैन।’ अगाडि थप्छन्,’ जीवन हो, बाँच्नु पर्छ। त्यसैले, आफूलाई ‘प्रेम’ गर।’
त्यसो त, नेपालमा योगी, तपस्वी, ध्यानी, जोगी धेरै नै छन्। तर, पनि सनातनलाई भेट्दा भने अरू भन्दा फरक लाग्छन्। उनको धर्म सनातन(हिन्दु) भए पनि उनी पुरातन धारणाबाट बाहिर छन्। समय काल खण्ड परिवेश अनुसार प्रस्तुत हुनुपर्ने उनको भनाई छ। सबै धर्मप्रति सद्भाव, सम्मान,आदर र सत्कार राख्नु उनको विशेषता हो। परिवेश र परिस्थिति अनुसार चल्नुपर्छ। तर, त्यसो भन्दैमा आफ्नो सनातन कर्म छोड्नुपर्छ भन्ने होइन। सबैलाई सम्मान रूपमा हेर्न सक्नुपर्छ धर्मप्रति आफ्नो दृष्टिकोण उनी राख्छन्।
सनातन जो कोहीसँग घुलमिल भइहाल्ने स्वभावका छैनन्। पङ्क्तिकारको करिब एक वर्ष प्रयास पछि उनी अन्तर्वार्ता सम्म पुगेका हुन्। दुनियाँ अनौठो छ, सबैलाई समय दिनु समयको बरबादी हुने उनको ठहर छ। पछिल्ला महत्त्वपूर्ण समय आफ्नै लागि खर्चनु उपयुक्त देख्न थालेका छन्। आफ्नो अधिकांश समय आश्रम/कुटीमा ध्यान, अनुष्ठान, अध्ययन र अनुसन्धान गरेर बिताउँछन्। सल्लाह, सुझाव लिन र उपदेश ग्रहण गर्न भक्तजन तथा शुभचिन्तकहरू उनीकहाँ पुग्छन्। कोही शैक्षिक ज्ञानका परामर्श लिने तथा खोज अनुसन्धान गर्नेहरू समेत उनको सम्पर्कमा पुग्ने गर्छन्।
विचलित मन, थकित मस्तिष्क, मलिन अनुहार लिएर अपेक्षाकृत नजर तेर्स्याउँदै एक व्यक्ति भन्छन्, ‘गुरु महाराज! ‘म सँग सब थोक छ। सबै भएर पनि म सँग केही छैन।’ पङ्क्तिकार आफ्नै धुनमा मल्टिमिडियाको लतमा मोबाइल कोट्याउन छाडेर यस्तो अनौठो शब्द सुनेर ती व्यक्तितिर पुलुक्क नजर तेर्सियो। उनी तराई मूलका अधबैँसे ठुलै व्यापारी रहेछन्। ती व्यक्तिलाई सनातनले सम्झाइ-बुझाईरहेका थिए। यस्ता प्रतिनिधि पात्र मध्ये एक युवक भन्दै थिए, ‘गुरु महाराज! कुनै समय मैले रुने ठाउँ नपाएर होटलमा कोठा ‘बुक्ड’ गरेर ग्वाँग्वाँ रोएको छु।’ आफ्ना शून्य समयका पलहरू सनातनलाई सुनाउँदै थिए। यस्ता अनेक पीडा, व्यथा बोकेर सान्त्वना लिन सनातन कहाँ पुग्नेका जमात पनि छन्। उनलाई भेटेर थोरै भए पनि सहानुभूति शुभचिन्तकले लिने गरेको सनातन सुनाउँछन्। यस्ता थुप्रै पात्र सनातनलाई भेट्न पुग्दा रहेछन्।
सुझाव, सल्लाह, उपदेश र सन्देश दिनु पनि सनातनी धर्म हो। तर, पछिल्लो समय भने यस्ता भेटघाटलाई कम प्राथमिकता दिन थालेका छन्। अदालत, अधिकारकर्मी, न्यायालय, प्रहरी प्रशासन र कानुनले सेवा दिने काम हामी योगी, जोगी तपस्वीले दिने हो भने उनीहरूको जागिर खोसिएन? प्रतिप्रश्न गर्दै लामो हाँसोमा ठट्टा गर्दै सनातनले छिटफुट् व्यक्तिलाई मात्र भेटेर सुझाव र सल्लाह दिन्छु भन्छन्।
पिएचडी गर्ने सोधकर्ताहरूलाई समेत सुझाव दिने गरेका छन्। सनातनलाई भेट्न पुगेका एक पिएचडी शोधार्थी विद्यार्थीलाई कुन विषयमा कसरी अनुसन्धान गर्ने त्यसमा फरक पर्छ, भन्दै सल्लाह दिइरहेका थिए। ‘राम्रो विषयमा पिएचडी गर्ने हो भने जति धेरै समय खर्चेर अनुसन्धान र अध्ययन गर्छौ, त्यति नै राम्रो तिम्रो शोध, खोज तथा अनुसन्धानले निखारता पाउँछ।’ सनातनले सुझाव दिए। उनले विषयगत वस्तु छनोटदेखि अनुसन्धान प्रक्रियाबारे सल्लाह दिइरहेका थिए। समय, मूल्य, मान्यता, लगाव अध्ययन र अनुसन्धानको मेहनतमा त्यसको परिणाम पनि राम्रो निस्कने सुझाव उनको थियो। सनातन योगी मात्र होइनन्,उनीसँग राम्रो ज्ञानको भण्डार पनि रहेछ।
राजवंश कुल घरानामा मात्र उनको जन्म नभएर बौद्धिक ज्ञान,वैदिक सनातन र चिन्तनका अभियानका रूपमा समेत आफ्नो जन्म भएको सनातन बताउँछन्। उनले चार वर्षको बाल्यकालमै रहस्यमयी तरिकाले आफ्नो अभिषेक भएको तथ्य सुनाउँछन्। यसैले पनि सनातनी धर्म सम्बन्धी बौद्धिक र योगीका वैदिक पुस्तक प्रकाशन गरेका छन् र प्रकाशनको लागि तयार गर्दैछन्।
उनले अभियानको पक्ष-पोषण मात्र नभएर स्वाधीन महापुरुष नरहरिनाथ योगीको पुस्तकको थप संस्करण समेत बजारमा ल्याएका छन्। किताबमा १ सय ५१ भन्दा बढी विद्वानहरूले योगी नरहरिनाथ अभिनन्दन ग्रन्थमा काम गरेका रहेछन्। राष्ट्रको स्वाधीन महापुरुषको जीवन गाथा समेटिएको किताबमा देशको राजनीतिक, धार्मिक, कृषि, संस्कृति, उद्योग व्यवसाय लगायतका बहुआयमिक चरित्रका विषय पुस्तकमा समेटिएको छ। उक्त योगी नरहरि नाथको संस्करण किताब २०८२ बजारमा लोकार्पण गर्न सफल भएकोमा सनातन दङ्ग छन्।
२०५४ सालमा डा.प्रपन्नाचार्यको सम्पादनमा पाँच सय प्रति बजारमा आएको किताब डा.गोविन्द टण्डनद्वारा सम्पादित पुस्तक सनातनको संयोजकत्वमा १ हजार प्रति बौद्धिक तथा वैदिक भेलाद्वारा लोकार्पण गरिएको थियो।
यस्तै ४ सय ५० भन्दा बढी वैदिक दर्शन र संरक्षणका पुस्तकहरू प्रकाशन गर्ने सनातनको इच्छा छ। मिल्केका झिल्के, डा. स्वामी प्रपन्नाचार्यको सम्पादन र प्रकाशनमा रहेको ‘किरात इतिहास र संस्कृति’अनुसन्धानको कृति, त्यस्तै महायोगी शसीधरको ‘सधुसार’, ६४ शिव लिङ्ग लगायत थुप्रै महत्त्वपूर्ण किताबहरू प्रकाशन गर्ने सनातनको योजना छ।
चाँडै सिद्ध सम्पथ हिमाल यात्रामा सनातन निस्कने आवश्यक तयारी गरिरहेका छन्। २०८३ सालभित्रै दस हजार किलोमिटर यात्रामा निस्कने अबको प्रमुख योजना रहेको छ। मठ प्रतिष्ठापन तथा सिद्ध गर्ने यो यात्रा भारत तथा नेपालको प्रसिद्ध हिमाली क्षेत्रहरू रहेका छन्। निकट भविष्यमा भारत, भुटान, बङ्गलादेश, बर्मा र चीन लगायत देशहरूमा महासिद्व शक्ति पीठ तथा मठ प्रतिष्ठापन गर्ने लक्ष सनातनको छ।
आफ्ना दैनिक गतिविधि सकेसँगै सनातन दिनभरिको थकान र कोलाहल बिसाउन कुटी फर्कन्छन्। विगत दस वर्ष यतादेखि सनातनको स्वर्गीय आनन्द यही कुटीमा बित्दै आएको छ। उनी भन्छन्,’ मस्त निद्रा यहीँ ‘कुटी’मा लाग्छ।’
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.