काठमाडौं-स्थानीय पालिकाहरूले संवैधानिक व्यवस्था अनुसार भटाभट आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गर्न थालेका छन्।
केन्द्र, प्रदेश र स्थानीय तीनै तहका सरकार बजेटमा व्यस्त छन्। ७५३ वटा पालिका मध्ये केही महानगरपालिका, नगरपालिका र गाउँ पालिकाले बजेट सार्वजनिक गरेका छन्।
कालिकोटको रास्कोट नगरपालिकाले साउन १ गतेबाट सुरु हुने आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। असार ७ गतेदेखि सुरु भएको नगर सभाको १६औँ अधिवेशनमा नगर प्रमुख धर्मराज शाही (पोषण)ले नीति तथा कार्यक्रम सार्वजनिक गर्दै कालीकोट जिल्लाका संस्थापक स्वर्गीय धर्मदत्त उपाध्यायको सम्मानमा ‘धर्मदत्त आधारभूत विद्यालय’ स्थापना गर्ने घोषणा गरेका छन्।
उपाध्यायले वि.सं. २०३४ मा कालीकोट जिल्लाको नामकरण गराउन महत्त्वपूर्ण भूमिका खेलेका थिए। विद्यालय उपाध्यायको जन्मस्थल रास्कोट नगरपालिका वडा नं. ४ मा स्थापना गरिने र आवश्यक भौतिक संरचना तत्काल निर्माण गरिने भनिएको छ।
नीति तथा कार्यक्रममा रैथाने बालीको खेती प्रवर्द्धन र उक्त बालीहरूको बजारीकरणमा प्राथमिकता दिने नगरपालिकाको नीति तथा कार्यक्रममा राखिएको छ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडसँग सहकार्य गर्दै नेपाल सरकारको अनुदान प्राप्त खाद्य सामग्रीहरू बिक्री गर्न केन्द्र स्थापना गर्ने, कोदो, फापर, चिनो, कागुनो, गहत, सिमी, ओखर, स्याउलगायत स्थानीय उत्पादन किसानहरूसँगै खरिद गरिने र कम्पनीलाई बिक्री गरिने व्यवस्था मिलाइने भनिएको छ।
प्रत्येक महिनाको १ गते आरसिपि बजारमा कृषि मेला आयोजना गरी फलफूल, तरकारी र सागसब्जीको नियमित कारोबार सहजीकरण गरिने नीति तथा कार्यक्रममा छ। स्थानीय कुखुरा, कालिज, बाख्रा, भैँसी पालन र दुग्ध डेरी व्यवसायमा संलग्न कृषकलाई आर्थिक सहयोग उपलब्ध गराइने घोषणा नगर प्रमुख पोषणले गरे।
‘ह्यापी मदर्स कार्यक्रम’
नगरपालिकाले सामाजिक न्याय र समावेशितामुखी योजनाहरू पनि अघि सारेको छ। शहीद, बेपत्ता, घाइते परिवार, महिला स्वास्थ्य स्वयंसेविका, तथा विशिष्ट सामाजिक–राजनीतिक योगदान गर्ने व्यक्तिका लागि स्वास्थ्य बिमा निःशुल्क गरिने भनिएको छ।
‘एक घर, एक धारा’ कार्यक्रमलाई सबै घरमा विस्तार गरी स्वच्छ खानेपानीयुक्त नगरपालिका बनाउने नीति लिइएको छ। एक हजारभन्दा बढी नागरिकलाई अल्पकालीन रोजगारी, कम्तीमा ५० जनालाई उद्यमशीलता तथा सीप तालिम, दीर्घ रोगीलाई मासिक पाँच हजार रुपैयाँ सहायता, भूमि बैङ्कको स्थापना, र रास्कोटलाई ‘मिठो ओखर हब’को रूपमा विकास गर्ने योजनाहरू पनि नीति तथा कार्यक्रममा समावेश छन्।
नगरपालिकाले ‘ह्यापी मदर्स कार्यक्रम’ राष्ट्रिय परिचयपत्र प्रविष्टि इकाई, इलाका प्रशासन कार्यालय स्थापनाका लागि निर्णायक पहल, मेयर हेल्थ कार्यक्रम, मेयर छात्रवृत्ति कोष, शैक्षिक क्रान्ति अभियान, मेयर कप, विद्यालय नर्सिङ कार्यक्रम, उपप्रमुख लक्षित वर्ग सशक्तीकरण कार्यक्रम, नागरिक निर्जीवन घर बिमा, आपत्कालीन बाल संरक्षण कोष, लगायतका विगतका कार्यक्रमलाई निरन्तरता दिएको छ।
यस वर्ष मेयर छात्रवृत्ति कोषबाट एमबीबीएस अध्ययन गरिरहेका वडा नं. ८ का विद्यार्थी जनक राज बराललाई पाँच लाख रुपैयाँ छात्रवृत्ति दिइएको जानकारी सभामार्फत सार्वजनिक गरिएको नगर प्रमुख शाहीले जानकारी दिए।
नगर उपप्रमुख मनिराज बरालले नीति तथा कार्यक्रम कार्यान्वयन गर्न ४७ करोड २२ लाख ८२ हजार ५ सय ५१ रुपैयाँको बजेट सार्वजनिक गरे। जसमध्ये ३५ करोड ७ लाख १८ हजार रुपैयाँ चालु खर्चका लागि र १२ करोड १५ लाख ६४ हजार ५ सय ५१ रुपैयाँ पुँजीगत खर्चका लागि विनियोजन गरिएको छ।
बर पीपलका चौताराहरू बनाउने
पछिल्लो समयमा विकासका नाममा वर्षौँ पुराना बर पीपलका चौताराहरू नाश हुने क्रम तीव्र बनेको बेला चितवनको भरतपुर महानगरपालिकाले बर पीपलका चौताराहरू बनाउने र रोप्ने अभियान चलाउने भएको छ।
महानगरको १७औँ नगरसभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै महानगर प्रमुख रेणु दाहालले महानगर भित्रका सार्वजनिक जग्गा तथा स्थानमा हरियाली प्रवर्द्धनसँगै वरपीपल रोप्ने कार्यलाई प्राथमिकतामा राख्दै निरन्तरता दिँदै जाने बताइन।
महानगरपालिकाले नीति तथा कार्यक्रम कार्यान्वयनका लागि पाँच अर्ब १९ करोड ७१ लाख ६६ हजार रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेको छ। विपद् व्यवस्थापनका लागि विपद् स्वयंसेवकहरूलाई तालिम दिन आपतकालिन कार्य सञ्चालन केन्द्र स्थापना गर्नुका साथै विपद्बाट जोगिन, राहत उद्धारको विषयमा महानगर चनाखो ढङ्गले अगाडि बढेको मेयर दाहालले बताइन।
झापाको झापा गाउँपालिका पनि विपद्को पूर्व तयारीमा जुटेको छ। बाढी पहिरोको उच्च जोखिममा रहेको भन्दै विपद्जन्य सामग्रीहरूसहित तयारी अवस्थामा रहेको गाउँपालिका अध्यक्ष अन्जु देवी थपलियाले बताइन।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.