सुर्खेत-कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि प्रस्तुत गरेको ३२ अर्ब ९९ करोड ६६ लाख ५५ हजारको बजेटप्रति तीव्र असन्तुष्टि जनाउँदै प्रतिपक्षी दलहरू निरन्तर संसद् अवरुद्ध गरिरहेका छन्।
नेकपा (माओवादी केन्द्र), एकीकृत समाजवादी र राप्रपाले बजेट प्रक्रियामै गम्भीर त्रुटि भएको आरोप लगाउँदै सरकारमाथि हमला तीव्र पारेका छन्।
बजेट पेस गर्ने भनिएको समय दिउँसो ३ बजेबाट सरेर राती मात्र प्रस्तुत हुनु, स्थानीय तहबाट सङ्कलित योजनाको बेवास्ता, र आयोजना बैङ्कको नाममा मन्त्रीहरूले बिचौलियाको भूमिका खेलेको आरोप प्रतिपक्षको मुख्य आलोचना हो।
माओवादी केन्द्रका प्रमुख सचेतक कृष्णबहादुर जिसीले मन्त्रीहरू आफैँ आयोजना बैङ्कका नाममा योजना छान्न बसेको गुनासो गरे। “१५ लाखभन्दा कम लागतका योजना पनि कसरी समेटिए ?” भन्दै उनले बजेट र आयोजना बैंकबीच तादात्म्यता नभएको बताएका छन्।
यस्तै, एकीकृत समाजवादीकी सांसद कल्याणी खड्काले बजेट कसले बनायो भन्ने नै स्पष्ट नभएको भन्दै “झ्यालबाट आएको बजेट” को आरोप लगाइन्। उनले बजेटले समानुपातिक विकासको मर्म समेत आत्मसात् नगरेको बताइन्।
अर्की राप्रपाकी सांसद सन्तोषी शाहीले सांसद र स्थानीय तहबाट आएका योजना ओझेलमा परेर व्यक्तिगत पहुँचबाट आएका योजनाहरू मात्र समावेश भएको दाबी गरिन्। “व्यक्तिको विकासका लागि योजना ल्याउने हो ?” भन्दै उनले सरकारको नीति नै प्रश्नवाचक बनाएको बताइन्।
तीन दलको साझा चेतावनी छ-बजेट सच्याइएन भने संसद् चल्न दिने छैनौँ।
सरकारका प्रवक्ता तथा कृषि मन्त्री विनोद शाहले विपक्षीको आरोप अस्वीकार गर्दै ९९ प्रतिशत योजना प्रक्रियाबाटै आएको उनले बताए। उनले व्यक्तिबाट आएका योजना हटाएर सांसद, पालिका र वडाबाट सिफारिस भएका योजनाहरूलाई समेटिएको दाबी गरे।
“हामी पहिलो वर्षमै १०० प्रतिशत दाबी गर्दैनौँ,” शाहले भने, “तर प्रक्रिया नपुगेका केही योजना मात्र छुटेका छन्, तिनलाई अर्को वर्ष समेटिन्छ।” साथै, उनले कमजोरी सुधार्दै अघि बढ्ने सरकारको प्रतिबद्धता पनि दोहोर्याएका छन्।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.