कालीकोट — कालीकोटका ९ वटै स्थानीय तहले पहिलो पटक असार १० को समय सीमाभित्र नीति कार्यक्रम र बजेट सार्वजनिक गरेका छन्। यसअघि आधा जसो स्थानीय तहको बजेट समय सीमा कटेपछि आउने गरेकामा यो पटक सुधार गर्दै सबै स्थानीय तहले असार १० गतेको समय सीमाभित्र नीति कार्यक्रम र बजेट प्रस्तुत गरेका हुन्।
तीन नगरपालिका र ६ गाउँपालिका रहेको कालीकोटका ९ वटै स्थानीय तहले आर्थिक वर्ष २०८२/०८३ का लागि कुल ३ अर्ब ७५ करोड ७१ लाख ९१ हजार ३ सय २९ रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेका छन्। आन्तरिक आय नभएका स्थानीय तह सङ्घीय र प्रदेश अनुदानमा अझै निर्भर छन्।
बजेट खर्च अनुसारको उपलब्धि नभएको नागरिकको गुनासो छ। प्रदेश र सङ्घबाट आउने बजेट बाहेक ४ अर्ब खर्च गर्दा पनि नागरिकको जीवनमा परिवर्तन आउन सकेको छैन।
यहाँका ९ मध्य ४ स्थानीय तहले सोमबारसम्म गाउँ तथा नगर सभा सम्पन्न गरिसकेका थिएँ भने थप ५ वटाले मङ्गलवार बजेट सार्वजनिक गरेको जिल्ला समन्वय समिति कालीकोटले जनाएको छ।
नागरिकको चासो : उपलब्धिमूलक कार्यक्रमको अपेक्षा
नागरिकले पालिकाले गरेका कामको हिसाब र उपलब्धि खोज्न सुरु गरेका छन्, जसका कारण जनमुखी कार्यक्रम ल्याउनै पर्ने बाध्यता देखिएको स्थानीय सरकारहरूको भनाइ छ। ९ वटा स्थानीय तह मध्यकै सबैभन्दा बढी बजेट ल्याएको तिलागुफा नगरपालिकाले शिक्षक नियमित गर्न विद्यालयमा डिजिटल हाजिरीको व्यवस्था गर्ने नीति ल्याएको छ भने नरहरिनाथ गाउँपालिकाले मावि तहमा विद्यालय नर्स राख्ने घोषणा गरेको छ।
नेपालकै अग्लो झरना रहेको पचालझरना गाउँपालिकाले डाक्टर पढ्ने विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने योजना सार्वजनिक गरेको छ। असार ६ गते गाउँ सभा आयोजना गरेको पचालझरना गाउँपालिकाले ४३ करोड ८४ लाख ३९ हजार ३ सय ५२ रुपैयाँको बजेट ल्याएको उपाध्यक्ष अल्कीना बमले जानकारी दिइन। पालिकाले नीति तथा कार्यक्रममा लक्षित वर्गको क्षमता विकास, सामाजिक सुरक्षा, कृषि, पशुपालन, रोजगारी, पर्यटन प्रवर्द्धन र भौतिक पूर्वाधारलाई प्राथमिकतामा राखेको छ।
अधिकांश पालिकाको प्राथमिकतामा शिक्षा, स्वास्थ्य, रोजगारी
शिक्षा र स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राख्दै रास्कोट नगरपालिकाले असार ७ गते नगर सभाको आयोजना गर्दै ४७ करोड २२ लाख ८२ हजार ५ सय १० रुपैयाँको बजेट सार्वजनिक गरेको छ। आन्तरिक कलहमा फसेको सदरमुकामको खाँडाचक्र नगरपालिकाले बस्ती स्तरका भेला नगरेरै नगर सभाको आयोजना गरेको छ।
५३ करोड ५५ लाख ५५ हजार ९ सय २० रुपैयाँको बजेट प्रस्तुत गरेको खाँडाचक्र नगरपालिकाले विगतका कार्यक्रमलाई निरन्तरता दिएको उपप्रमुख गणेशबहादुर शाहीले सुनाए।
जिल्लामै सबैभन्दा बढी ७० करोड १४ लाख ९ हजार ७ सय १० रुपैयाँको बजेट विनियोजन गरेको तिलागुफा नगरपालिकाले विद्यालय गाभ्ने, सबै बस्तीमा भरपर्दो सडक पुर्याउने, अर्ग्यानिक उत्पादनमा जोड दिने कार्यक्रम ल्याएको उप–प्रमुख महेन्द्र बहादुर शाहीले जानकारी दिए।
नयाँ सोच र नाम परिवर्तनसम्मको प्रस्ताव
स्थानीय सरकारको जिम्मेवारी ‘मिसन रोजगारी’ भन्ने नाराका साथ नरहरिनाथ गाउँपालिकाले ५१ करोड ८३ लाख ८० हजार ५ सय रुपैयाँको बजेट ल्याएको छ। यो पालिकाले नरहरिनाथ गाउँपालिकाको नाम समेत संशोधन गरी “योगी नरहरिनाथ गाउँपालिका” बनाउनका लागि प्रदेश सरकार र सङ्घीय सरकारसँग आवश्यक समन्वय गर्ने, साथै पालिकालाई नगरपालिका बनाउन आवश्यक पहल गर्ने नीति तथा कार्यक्रममा समावेश गरेको छ।
साथै, पहिलो पटक मावि तहमा विद्यालय नर्स कार्यक्रम ल्याएको पालिका अध्यक्ष नगेन्द्रबहादुर विष्टले बताए। त्यस्तै, गुणस्तरीय शिक्षाका लागि जनप्रतिनिधि र कर्मचारीका सन्तानलाई अनिवार्य रूपमा सामुदायिक विद्यालयमा भर्ना गरिने व्यवस्था र विपद् पीडितका लागि सहयोग गर्ने योजना सहित सान्नी त्रिवेणी गाउँपालिकाले ४१ करोड ९२ लाख ६२ हजार ४१ रुपैयाँको बजेट ल्याएको उपाध्यक्ष पार्वती सिंह सन्ज्यालले बताइन।
कालीकोटकै पनि दुर्गम र विकट मानिने पलाँता गाउँपालिकाले ४८ करोड २३ लाख ३२ हजार ८ सय ४६ रुपैयाँको बजेट ल्याएको गाउँपालिकाले जनाएको छ। यस्तै, शुभकालिका गाउँपालिकाले ४६ करोड २० लाख ५० हजार ४ सय रुपैयाँ र महाबै गाउँपालिकाले ३५ करोड ८७ लाख ४७ हजार ९ सय ६६ रुपैयाँको बजेट सार्वजनिक गरेका छन्।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.