पुरानो पुस्ताका आँखाबाट नयाँ पुस्ता

पुरानो पुस्ताका आँखाबाट नयाँ पुस्ता

जसरी भोक कुन रेस्टुरेन्टमा के खाएर मेटाइन्छ भन्ने कुरा महत्त्वपूर्ण छैन। त्यसैगरी सेक्स पनि कोसँग र कसरी गरिन्छ भन्ने कुरा अर्थहीन हो।

1.6k
SHARES

पूर्वार्ध

ई.सन् २०२५ सँगै नयाँ पुस्ताको आरम्भ भएको छ। २०२५ देखि २०३५ मा जन्मेकालाई पुस्ता बेटा (Generation Beta) भनिएको छ जसले जन्मैबाट एआई (Artificial Intelligence) अर्थात् ‘कृत्रिम दिमाग’ खेलाउने चलाउने भएको छ र यो पुस्ता पूर्णतया डिजिटल हुने छ भनेर भनिन्छ। मानव जाति पैदल हिँड्न छाडेर बैलगाडा, घोडासवारी, साइकिल आदि हुँदै जेट प्लेन, बुलेट ट्रेन देखि उड्ने कारसम्म आइपुगेको छ। मान्छे पठाएर खबर पठाउने सरल उपायबाट, चिठी, टेलिग्राम, इमेल आदि प्रविधि उपयोग गर्दै मोबाइल युगमा आइसके मान्छे। तर अझै छिटो काम सक्ने हतारमा छ मान्छे। उसको हातमा भए ता बच्चा पनि नौ महिनाको सट्टा नौ घण्टा मै जन्माउँथे होला। के ठेगान वा भविष्यमा जन्माउँछ पनि कि?

हामी कस्तो समयमा बाँच्दै छौँ र अगाडि जीवन झन् कस्तो हुने छ। आउँदा दिनहरूमा हामीले देखेका, गरेका, भोगेका, उचित–अनुचित, सही–गलत छुट्टाएका धेरै कुराहरू अब त्यस्तै हुने छैनन्। ती मध्ये कतिपयका स्वरूप परिवर्तन हुने छन् भने कतिपय त लोप भएर जाने छन्। म २००८ सालको पुरानो पुस्ताको मान्छे। मेरो दृष्टिले हाम्रो पुस्तासँग सुपरिचित केही महत्त्वपूर्ण कुराहरू लोप भइरहेको देखिरहेको छ। पृथ्वीबाट विभिन्न वनस्पतिहरू, जीवजन्तुहरू लोप भइरहेका छन् र उनको संरक्षणका लागि विभिन्न प्रयास पनि भइरहेका छन्। पर्यावरण विनाशको वर्णन विश्लेषण, समाधान आदि आदि पर्याप्त मात्रामा उपलब्ध छन्। म यहाँ यस्ता लोपोन्मुख कुराहरूको चर्चा गर्दै छु जसको संरक्षणका लागि कुनै प्रयास गरिएको छैन, र शायद गर्न सम्भव पनि छैन। किनभने यी मानव कल्याणका लागि मानवद्वारा नै निर्मित भएका हुन्।

पैसाको काम छैन!

म आफै प्रत्यक्षदर्शी भएको एउटा घटनाबाट सुरु गर्ने अनुमति चाहन्छु। घटना सन् २०१९ को अमेरिकामा भएको हो। हामी बसयात्रामा थियौँ। बाटाको एउटा स्टपमा अनुहारले थाई वा भियतनामी जस्ती देखिने एउटी महिलाले बसमा पस्नलाई अनुरोध गरिन् ड्राइभर सापसँग। तर पस्न, यात्रा गर्न पाइनन्—“मसँग पैसा छ तिर्छु” भन्दै पर्सबाट डलर झिकेर देखाउँदा पनि पाइनन् किनभने ड्राइभरले नगद पैसा नलिने, र उनीसँग भाडा तिर्न कार्ड थिएन।

भगवान् सर्वशक्तिशाली छ। ऊ बिना काम चल्दैन। भगवानलाई देख्न सकिन्न, मात्र महसुस गर्न सकिन्छ। भनिन्छ, पैसा भगवान् हो। किनभने ऊबिना पनि काम चल्दैन। तर अब छिटै भगवान् जस्तै पैसा पनि अदृश्य हुनेवाला छ। अबको पचास वर्षपछि पैसा देखिने छैन, यो राष्ट्र बैङ्कको गभर्नरको सही भएको हात्ती, आदिका फोटा भएका स्पेसल कागतका टुक्रा जसलाई हामी नोट भन्छौँ र जतनका साथ जोगाउँछौँ अब आउँदा दिनहरूमा हुने छैन। सिक्का त कोमामा छ। टेक्निकली मात्र बाँचेको छ, नत्रभने त्यसको कुनै काम छैन। एक र दुई रुपैयाँ दाजुभाइ नोटहरू पनि मरिसके अब पालो अरू ठुला नोटहरूको आउँदै छ छिटै।

आफ्नै देशमा विशेष गरिकन शहर बजारमा, होटलमा, पसलमा यहाँसम्म कि साग तरकारी किन्दा पनि मान्छेले नगद पैसा तिर्न छाडिसके। म र मजस्ता केही लठुवा, थोत्रा बुढापाकाहरूले मात्र पैसामा तिर्छन्। हुन त पैसाको इतिहास लामो छ। सुरुमा पैसा भन्ने जन्तु थिएन। किनभने मानिसको आवश्यकता सीमित थियो र शिकारी युगदेखि खेतबारीको प्रारम्भिक चरणसम्म मान्छेलाई पैसाको खाँचो थिएन, किनभने व्यापार सुरु भएको थिएन। मान्छे पहिला गुफामा नाङ्गै बस्थे। दिनमा शिकार गरेर जनावर मार्थे र त्यसकै मासु खान्थे। न घर बनाउने चिन्ता, न शरीर ढाक्ने आवश्यकता, न खाना पकाउने लोभ। पैसा किन चाहियो र! बिस्तारै जीवन जटिल हुँदै गयो। मान्छेले गुफा छाडे, बस्नलाई घर बनाउन थाले। शिकारसँगै अन्नबाली उब्जाउन थाले, त्यसलाई पकाएर खान थाले। लाज लाग्न थाले शरीर छोप्न थाले। यी आवश्यकता परिपूर्ति उसले एक्लै गर्न नसक्ने भए, र एक अर्काको भर पर्नु परेपछि साटासाटको रूपमा व्यापारको सुरुवात भयो—म तलाईं यो दिन्छु, तँ मलाई त्यो दे। म सानो हुँदासम्म मरणासन्न अवस्थामा यसको प्रचलन देखेको हुँ—आमाले गहुँ वा धानसँग तरकारी वा लाहीको चुरा साटेको। यो साटासाट व्यापारका आफ्नै सीमाहरू भएकाले यसलाई सिक्काले विस्थापित गरे र सिक्काको कमी कमजोरीलाई हटाउन चाइनाले पहिलो पल्ट कागत नोट बनाए र चलाए। त्यही कागत नोट अब विस्थापित हुन लागेको हो।

२००८ साल मेरो पुस्ता : २०८२ साल मेरो नातिको पुस्ता। मेरो नातिलाई मेरो पुस्ताको कुरा सुन्दा सपना झैँ लाग्छ: गाईबस्तु चराएको, दूध दुहेको, हलो जोतेको, ढिकी जाँतो गरेको, आफ्नो बस्ने आसन बोरा लिएर स्कुल गएको, डंडीबियो खेलेको, खोलामा नाङ्गै नुहाको, बोटबाट टिपेर आँप खाको। केही दिन अगाडि ऊ म नजिक आयो र सोध्यो, “कोपा, जुनकिरी कस्तो हुन्छ?” उसको प्रश्नले म झसङ्ग भएँ। मेरो पुस्तादेखि उसको पुस्तासम्ममा अर्थात् २००८ देखि २०८२ को यो अवधिमा कति परिवर्तन भइसके। हामीले देखे गरेका धेरै कुराहरू अबका पुस्ताले देख्न गर्न पाउने छैनन् वा देखे भने पनि वृत्तचित्रमा हेर्ने छन्।

अर्को घतलाग्दो घटना यस्तो छ। मेरो नाति भर्खर ७ वर्ष टेकेको छ, तर जेनेरेसन जेडको न पर्‍यो, पैसा चिन्दैन वा चिन्न चाहँदैन। एक दिन उसकी आमा उसलाई मेरो जिम्मामा छाडेर जान्छिन्। भोक लाग्यो भन्छ र, मैले हुन्छ रेस्टुरेन्ट जाऊँ भन्दा केएफसी जाने भन्छ। मलाई थाहा पनि छैन केएफसी कहाँ छ। उसैले ठाउँको नाम भन्छ र बाटो पनि गाइड गर्छ। जे होस् त्यहाँ ऊ आफैँ अर्डर गर्छ र खाइसकेपछि मैले बिल तिर्न वालेट झिक्दा मोबाइलबाट तिर्न भन्छ, “मोबाइलबाट तिर्नु नि।”

“मलाई मोबाइलबाट तिर्न आउँदैन”, म भन्छु, र अलि अफ्ठेरो महसुस गर्छु।

“मलाई आउँछ”, ऊ भन्छ। “मोबाइल दिनुस् म तिरिदिन्छु।”

“मेरोमा मोबाइल बैङ्किङ छैन” मैले भनेपछि ऊ अलि निराश देखिँदै चुप लाग्छ।

पैसा भगवान् जस्तै अमूर्त हुन लागेको छ। अब दशैंमा टीका थापेपछि भुराभुरीहरूले दक्षिणामा सय, पाँच सयको नोट पाउने छैनन्, श्रीमान्ले श्रीमती र श्रीमतीले श्रीमानको डरले हजार हजारको नोटहरू किताबका पानामा वा दालको डब्बामा राख्ने छैनन्, सडक छेउका पसल र होटेल मालिकहरूसँग पैसा राख्न ससाना पेटीहरू हुने छैनन्, र कुमालले ढुकुटी भुँड्को बनाउने छैनन्। सिक्काहरूलाई पर फालेर ढुङ्गाले हिर्काएर पैसा जित्ने खोपी खेल खेल्ने अन्तिम पुस्ता हाम्रै हो र दशैँमा बैङ्कसँग नयाँ नोट माग्ने अन्तिम पुस्ता पनि हामी नै हुने छौँ। त्यसैपनि पैसाको मोल निरन्तर घट्दै छ, झर्दै छ।

तर:

जति तल झरे पनि पैसा त्यति झर्ने छैन

जति पैसाको लागि मान्छे तल झरेको छ

जाऊ पैसा जाऊ तिमी खुसीखुसी जाऊ

मान्छेको मन तिमीसँग अघाइसकेको छ

वैवाहिक सम्बन्ध कता जाँदै छ?

अहिलेको युगमा वैवाहिक सम्बन्धका बारे नयाँ नयाँ व्याख्याहरू आएका छन्। विवाह विपरितलिंगीमा मात्र होइन समलिङ्गीमा (पुरुष पुरुष तथा महिला महिलामा) कानुनी मान्यता प्राप्त गरेर आरम्भ भइसक्यो। पूर्वीय दर्शनमा विशेष रूपले हिन्दु समुदायमा विवाहलाई पवित्र सम्बन्धको रूपमा लिइन्थ्यो। यो एक जन्म होइन सात जन्मको सम्बन्ध मानिन्थ्यो, र विवाहपछि परपुरुष वा परनारीसँगको शारीरिक सम्बन्धलाई अवैध, अनैतिक र दण्डनीय पनि। पश्चिमी समाज विवाहलाई दुई पक्षबीच एक सम्झौता माने पनि विवाहेत्तर शारीरिक सम्बन्ध त्यहाँ पनि अवैध र अनैतिक मानिन्थ्यो। तर आज त्यो स्थिति छैन। विवाहपछि यहाँसम्म कि छोराछोरी पाइसकेपछि पनि शारीरिक सम्बन्धका प्रशस्त उदाहरणहरू देख्न–सुन्न पाइन्छ। यस्तो सम्बन्ध हुनु अनौठो र नौलो होइन, पहिला पनि यस्तो हुन्थ्यो तर त्यसलाई अनैतिक मानिन्थ्यो र त्यस्ता सम्बन्ध राख्ने व्यक्तिहरू त्यसमा आत्मग्लानि महसुस गर्थे। आज त्यसमा आत्मग्लानि गर्दैनन्, बरु सम्बन्ध एक्सपोज्ड भयो भने कुनै शर्म मान्दैनन्। सोसल मिडियामा यस्ता घटनाका प्रशस्त उदाहरणहरू देख्न पाइन्छ। एउटा घटनामा श्रीमान् विदेश गएपछि अर्कै परपुरुषसँग गइसकेकी महिला श्रीमान् स्वदेश फर्केर खोजतलास गरी भेटाएपछि, युट्युबरले ‘किन यस्तो गर्नुभयो दिदी’ भनी सोध्दा ‘खै थाहा छैन किन गरेँ’ जबाफ दिइन, र फेरि ‘अब के गर्नुहुन्छ त’ भनी सोध्दा ‘लगे भने फेरि जान्छु’ भनिन्। यसले विवाह, विवाहेत्तर सम्बन्ध र सेक्स सम्बन्धमा समाजमा भइरहेको परिवर्तनलाई छर्लङ्ग पार्छ।

केही वर्ष अगाडि जापानमा यो सम्बन्धी एउटा सर्वेक्षण गरिएको थियो। परिणाममा के पाइयो भने ७० प्रतिशतले परपुरुष-स्त्रीसँग उनीहरूको शारीरिक सम्बन्ध भएको, र आफ्नो पार्टनरसँग सम्भोग नगरेको वर्षौैं भएको पनि स्वीकार गरे। उनीहरूले यसमा शर्म मान्नु वा आफूलाई दोषी मान्ने कुनै कुरै नभएको भने। उनीहरूका अनुसार सेक्स त एउटा शारीरिक आवश्यकता हो—भोक लागे जस्तै सेक्सको पनि इच्छा हुनु स्वाभाविक हो, र जसरी भोक लागेपछि खाना खाइन्छ त्यसरी नै इच्छा भएपछि सेक्स गर्ने हो। जसरी भोक कुन रेस्टुरेन्टमा के खाएर मेटाइन्छ भन्ने कुरा महत्त्वपूर्ण छैन। त्यसैगरी सेक्स पनि कोसँग र कसरी गरिन्छ भन्ने कुरा अर्थहीन हो।

यी त विवाहेत्तर शारीरिक सम्बन्ध सम्बन्धी कुराहरू भए। तर मलाई के लाग्छ भने आउँदा दिनहरूमा विवाहको चलन नै लोप भएर जानेछ, किनभने नयाँ पुस्ताले यसलाई आवश्यक ठान्दैन। इन्डियामा एउटा सर्वेक्षण गरिएको थियो जसमा सहरी महिलाहरूलाई यसबारे सोध्दा ९० प्रतिशतले विवाह करियर विकासमा बाधक भनेर भनेका थिए। उहाँहरूलाई ‘सन्तानका लागि त विवाह चाहिन्छ नि’ भनेर प्रश्न गर्दा ‘जरुरी छैन, पति नै हुनुपर्छ भन्ने जरुरी छैन’ भन्ने जबाफ आएको थियो। कुरो सही हो। सन्तानोत्पादनका लागि पति भन्ने प्राणी कथमपि आवश्यक छैन, सन्तान त जोसुकैको सहयोग र संसर्गबाट प्राप्त गर्न सकिन्छ। विवाहप्रतिको धारणा त्यो पूर्वीय होस् वा पाश्चात्य धेरै बदलिसकेको छ। सामाजिक मूल्यमान्यताहरू छिन्नभिन्न हुँदैछन् तथा समाज र परिवार टुट्दै छन्। विवाह भन्ने प्रथा बिस्तारै समाप्त हुँदै छ र लिभिङ रिलेसनसिपमा रहनु यसको ज्वलन्त उदाहरण हो।

कार्यालयको के?

म के पनि देख्दै छु भने निकट भविष्यमा यी अफिस, स्कुल आदिहरू हुने छैनन् र यसको आरम्भ केही वर्ष अगाडिदेखि भइसकेको छ। यसको कारण हो मेसिन र तकनीकको अत्यधिक विकास। आज बिजुलीको बिल तिर्न बिजुली अफिस गएर लाइन लाग्नु पर्दैन। विभिन्न किसिमका फारमहरू घरै बसेर भरिन्छ। खाना खान होटेलै जानु पर्दैन घरमा नै आइपुग्छ। मिटिङहरूका लागि अफिस जानु पर्दैन, र अफिसका धेरै कामहरू घरमै बसेर गरिन्छ। कोरोना कालमा स्कुलको काम घरमा न बसेर गरिएको हामीलाई थाहा नै छ। मान्छेले सँधैदेखि काम छिटो र सजिलोसँग होस् भन्ने चाहना राखेर तदनुरूप मेसिन र तकनीकको विकास गर्दै आएको छ। यसले आज जीवन धेरै सुविधापूर्ण भएको पनि छ तर यसको अन्त कहाँ गएर हुने हो त्यो सोचेर मलाई डर डर लाग्छ। यो जेनेरेसन बेटाको समय हो, एआई ‘कृत्रिम दिमाग’को संसार हो। आज केही जान्नु पर्‍यो, केही खोज्नु पर्‍यो, केही लेख्नु पर्‍यो, जुनसुकै कामको लागि गुगल छ, डिपसिक छ, ग्रोक छ र यस्ता नयाँ नयाँ जन्तुहरू जन्मिने क्रम जारी छ। यी कृत्रिम दिमागहरूलाई खेलाउँदा खेलाउँदै हाम्रो आफ्नो दिमाग खिया लागेर बेकम्मा हुने हो कि?

२०५० सम्ममा के के लोप हुँदै छन् त्यसको संक्षिप्त विवरण तलको टेबलमा राखिदिएको छु।

उत्तरार्ध

यो संसार चलायमान छ, गतिशील छ र परिवर्तनशील पनि। हिजो जे थिए ती आज छैनन् र आज जे छन् ती भोली हुने छैनन्। हिजो जे सही र ठिक थिए आज ती गलत र बेठीक भएका छन्, र ती भोली के हुने छन् थाहा छैन। मान्छेले विकासका खुड्किलाहरू चढ्दै जाँदा कुनै दिन फेरि झर्नुपर्ने हुन्छ कि? किनभने टुप्पामा पुगेपछि त माथि जानु सम्भव हुँदैन तल झर्नै पर्छ। यसका केही लक्षणहरू पनि देखिन थालेका छन्। मानव जीवनको विकासको क्रममा विवाह प्रथा थिएन आज फेरि हामी त्यतै फर्किँदैछौँ। सुरुमा मान्छे नाङ्गै बस्थे र पछि गुप्ताङ्ग मात्र छोप्न थाले, आज मान्छेले त्यही चाहेको छ गुप्ताङ्ग मात्र छोप्ने र त्यस तर्फ बढ्दै छ। मान्छेले खाना पकाएर खान सिकेपछि माटाका भाँडामा पकाउँथे, आज त्यो चलन पुनर्जीवित हुँदै छ।

म साइलेन्ट जेनेरेसनको मान्छे हो। अहिले जेनेरेसन बेटा हो। म यस जेनेरेसनका धेरै कुराहरू जान्दिन, सिक्न रहर पनि छैन। यो छोटो जीवनमा धेरै देखेँ, सिकेँ अब नयाँ देख्ने रहर पनि छैन। यति मात्र आशा गर्दछु कि नयाँ जेनेरेसनले खूब विकास गरोस् तर कम से कम आफ्ना बुबालाई चिनोस्—न बिर्सोस्। झन्डै एक दशक अघि लेखेको यो मेरो कविता यहाँ सान्दर्भिक भएकोले त्यसको केही अंश राख्दैछु।

समयले कति काँचुली फेरिसक्यो
वा मै बुढो भएँ शायद।

छोरीले सिङ्गापुरबाट पठाइदिएको
सामसुङ ट्याब्लेट चलाउन जान्दिनँ
जाँगर पनि चल्दैन।
अस्ट्रेलियाबाट ट्विट गर्छन् नातिहरूले
फर्काउन जान्दिनँ
कहिलेकाहीँ त लाग्छ
केही त जान्दिनँ म —
स्काइप वा भाइवरमा च्याटको साटो
साथीहरूले पठाएका पुराना पत्रहरू
पढेर समय काट्छु
सयौँ चोटि पढिसकेँ होला
फेरिफेरि पढ्न मन लाग्छ
बुढो भएर त होला शायद।

समयले कति काँचुली फेरिसक्यो
वा मै बुढो भएँ शायद!

बैठकमा झुन्डिएको चान्सलर पदक
अहिले त्यहाँ छैन
बुहारीले त्यसलाई गलाएर
नयाँ डिजाइनको झुम्का बनाइन्
राम्रो सुहाउँछ उनलाई
तर मलाई त्यो ठाउँ खालीखाली लाग्छ
सधैँ त्यहाँ हेर्ने बानी परेकाले होला शायद।

समयले कति काँचुली फेरिसक्यो
वा मै बुढो भएँ शायद!

भुइँतलामा पछाडितिर
८ बाइ ८को एउटा स्यानो कोठा छ
जहाँ जिरो वाटको मधुरो बत्ती बल्छ
त्यहाँ पुराना फर्निचर, सुटकेस र कन्टरहरूसँगै
एउटा रेमिंङ्गटन टाइपराइटर निस्तब्ध पल्टेको छ
त्यसैमा टाइप गरेको मेरो पहिलो आर्टिकल
करिकुलम डेभलपमेन्ट जर्नल टीयुमा प्रकाशित भएको थियो
अहिले ऊ थकाइ मार्दै छ।
त्यहीँ अर्को कुनामा
१९९४मा बेलायतबाट ल्याएको एक जीबीको कम्प्युटर
चलहल नगरी बसेको छ
र एक कार्टून फ्लफी डिस्कहरू
छरिएका छन् यत्रतत्र
जसको अब कुनै उपयोगिता छैन
बुढो भएर त होला शायद।

समयले कति काँचुली फेरिसक्यो
वा मै बुढो भएँ शायद।

(आफूलाई मानवीय संवेदनाका कवि भन्न रुचाउने बिष्णु एस.राईले साहित्यका विभिन्न विधाहरूमा कलम चलाएका छन्। राईका विभिन्न कविताहरू विद्यालय तथा विश्वविद्यालय पाठ्यक्रममा समावेश गरिएर पढाइँदै छन्।)

समाचार शेयर गर्नुहोस्
1.6k
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.