कालीकाेट — २६ वर्षको प्रतीक्षापछि हुम्ला जिल्लाको सदरमुकाम सिमकोट राष्ट्रिय सडक सञ्जालमा जोडिएको छ। खार्पुनाथ गाउँपालिका–५ स्थित चुवाखोलामा कर्णाली नदीमाथि निर्माण गरिएको बेलीब्रिज पुल बनेसँगै हुम्लाको सिमकोट अब राष्ट्रिय सडक सञ्जालमा जोडिएको हो।
पुलको औपचारिक उद्घाटन असार २२ गते प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने कार्यक्रम तय भएको छ। नेपाली सेनाले झन्डै ४ करोड रुपैयाँको बजेटमा ३५ दिनमा पुल निर्माण सम्पन्न गरेको हो। यससँगै हुम्ली जनताको दशकौँ पुरानो सडक सपना साकार भएको छ।
गत वर्ष चैतको अन्तिम साता नेपाली सेनाले सवारीसाधन सञ्चालनका लागि सडक ट्र्याक खोलेपछि करिब २ सय ६९ किलोमिटर लम्बाइको सडकमा सवारी चल्न थालेका थिए।
तर चुवाखोलामा पुल नहुँदा हुम्ला पूर्ण रूपमा राष्ट्रिय सडक सञ्जालमा जोडिएको थिएन। अब पुल बनेसँगै हुम्लाबाट भारतीय सहर रुपैडिहा हुँदै चीनको सीमा नाका हिल्सासम्म एउटै सवारी साधनबाट यात्रा गर्न सकिने भएको छ।
हुम्लाका प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयका अनुसार यसअघि पुल नहुँदा यात्रुहरूलाई ३ चरणमा सवारी साधन परिवर्तन गरेर यात्रा गर्नुपर्ने बाध्यता थियो। त्यसका कारण यात्रुहरू महँगो भाडा तिर्न बाध्य थिए।
उनले भने, “खार्पुमा पुल बनेसँगै अब सिधा रुपैडिहाबाट हिल्सासम्म गाडी जान सक्छ। यात्रुका लागि यो राहतको कुरा हो।” उनका अनुसार रुपैडिहादेखि हिल्सासम्मको दूरी करिब ५ सय ५ किलोमिटर छ।
कालीकोटको खुलालुबाट सुरु हुने कर्णाली करिडोरले बाजुरा, हुम्ला लगायतका हिमाली जिल्लालाई सडक सञ्जालसँग जोड्ने महत्त्वाकाङ्क्षी योजना हो। यसले नेपाल–भारत–चीन त्रिदेशीय व्यापार मार्गको सम्भावनालाई समेत अघि सारेको छ।
यस पुल निर्माणसँगै हुम्लाको भौतिक पूर्वाधारमा मात्र होइन, आर्थिक, सामाजिक तथा सीमावर्ती सम्बन्धमा समेत नयाँ अध्याय सुरु हुने अपेक्षा गरिएको छ।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.