कालीकोट — कालीकोटको कालो नामक चर्चित गीतबाट सर्वाधिक लोकप्रियता कमाएका गायक तथा सङ्गीतकार धर्मराज न्यौपाने ‘शिशिर’को नयाँ मौलिक असारे लोक देउडा गीत ‘घुम सेरा’ सार्वजनिक भएको छ।
गायक न्यौपानेले असार १५ अर्थात् राष्ट्रिय धान दिवसलाई लक्षित गर्दै आफ्नो अफिसियल युट्युब च्यानल ‘धर्मराज न्यौपाने’ बाट उक्त गीतको भिडियो सार्वजनिक गरेका हुन्। नेपाली समाजमा रोपाइँ, खेतीपाती र मौसमी उत्सवसँग गाँसिएको असारे गीत ‘घुम सेरा’ले कर्णालीको मौलिक संस्कृति, रहनसहन र ग्रामीण जीवनशैलीलाई सजीव ढङ्गले प्रस्तुत गरेको छ।
गीतमा गायक धर्मराज न्यौपाने ‘शिशिर’सहित तिलक बुढा, गायिका गौरी भट्ट र कल्पना मल्लको सशक्त स्वर रहेको छ। गीतको शब्द र सङ्गीत स्वयं धर्मराज न्यौपानेको रहेको छ भने सङ्गीत संयोजन राजेन्द्र बाजुरालीले गरेका छन्। रेकर्डिस्ट तथा मिक्सिङको जिम्मा विजय कुमार थापा मगरले सम्हालेका छन्।
भिडियोमा गायक धर्मराज न्यौपाने, दिनेश सञ्ज्याल, यशोदा बम र सम्झना बमको अभिनय रहेको छ। छायाङ्कन हरीश महराले गरेका हुन् भने रङ्ग सम्पादन विनोद बमले गरेका छन्। भिडियो निर्देशन स्वयं गायक न्यौपानेले गरेका छन्। भिडियोले असारको हरियाली, ग्रामीण महिलाको श्रम, खेतालोको उत्सव र परम्परागत देउडा संस्कृतिलाई दृश्य मार्फत जीवित बनाउने प्रयास गरेको देखिन्छ।
विगत दुई दशकदेखि गायन तथा सङ्गीत क्षेत्रमा क्रियाशील न्यौपानेले विशेषतः कर्णाली क्षेत्रको मौलिक संस्कृति, भूगोल र जनजीवनलाई गीत-सङ्गीत मार्फत उजागर गर्दै आइरहेका छन्।
उनले यसअघि ‘कालीकोटकाे कालो’, ‘सङ्कटका बेला नेता चिन्नु छ’, ‘बिरामी भा छौँ रे’, ‘रास्कोट नगरपालिका’, ‘आमाको सम्झना’, ‘देश जोगाउन उठौँ’, ‘मुखियाको छोरो’, ‘न्याउल्या चडिअ’, ‘भन्देऊ चरी रुनु पर्दैन’ जस्ता चर्चित गीतहरूमा स्वर दिएका छन्, जसले समाजमा विशेष सन्देश दिनुको साथै जनतासँग गहिरो सम्बन्ध बनाएका छन्।
‘घुम सेरा’ ले पुनः एक पटक न्यौपानेको साङ्गीतिक यात्रामा अर्को उल्लेखनीय अध्याय थपेको छ। मौलिकता, सन्देश र साङ्गीतिक शैलीको समायोजनसहित सार्वजनिक भएको यो गीत असारका हरियाली धुनमा झुम्न चाहने श्रोता-दर्शकका लागि उपयुक्त स्वाद बन्न पुगेको छ।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.