काभ्रे — काठमाडौँबाट झन्डै ५० किलोमिटर पूर्वतर्फ पर्ने भकुण्डेबेशीका कान्छामान बोम्जनको जीवन पछिल्लो वर्ष बिरुवा बेचेरै फेरिएको छ।
बुद्धचित्तको बिरुवा उनले आफ्नै नर्सरीमा उत्पादन गरेर बिक्री गर्दै आएका छन्। अहिले उनी बुद्धचित्तका बिरुवा बेचेरै वार्षिक लाखौँ रुपैयाँ कमाइरहेका छन्।
“पाँचमुखे, छमुखे बुद्धचित्त त तिमाल जस्ता ठाउँमा पनि सहजै पाइँदैन,” बोम्जन भन्छन्, “तर मेरो नर्सरीमा सय रुपैयाँदेखि १५ सय रुपैयाँसम्मका बिरुवा छन्।” उनका अनुसार, कसले कति मूल्यको बिरुवा किन्छ भन्ने कुरा बिरुवामा भर पर्छ।
बोम्जन सस्तोमा बिक्री हुँदै आएको बिरुवा समेत सम्भावित क्षेत्रमा महँगोमा बिक्री भइरहेको बताउँछन्। “कसैले एक–दुईवटा मात्रै लगे भने १०० रुपैयाँमा दिन्छु, धेरै लगे ८० रुपैयाँमा पनि दिन्छु,” उनी भन्छन्, “तर व्यापारीले त यही बिरुवा ८ सयदेखि २ हजार रुपैयाँसम्ममा बेचिरहेका छन्।”
भकुण्डेबेशीकै एक किसानले त घरको छतमा बुद्धचित्त लगाएका छन्। यो वर्ष दाना लागेको त्यो बुद्बचित्तकाे रुखलाई १० लाख रुपैयाँसम्म अफर गरे। तर, किसानले बिरुवा बेचेनन्। “त्यस्तो साख र महत्त्व पाएको छ बुद्बचित्तकाे मालाले,” बोम्जन भन्छन्।
बुद्धचित्तको फल बयर वा रुद्राक्षजस्तै देखिने गाढा र कडा दाना हो। एक दाना बिक्री गर्दा १० देखि ३० हजार रुपैयाँसम्म आम्दानी हुन्छ। तर धेरै किसानले दाना फुटाएर बिरुवा उमार्दैनन्, सीधै दाना नै बिक्री गर्छन्।
बोम्जनले भने केही वर्षअघि बुद्धचित्तका दाना फुटाएर बिरुवा उमारे। अहिले उनको नर्सरीमा वार्षिक रूपमा ८ देखि १० लाख रुपैयाँ नाफा भइरहेको छ। “२३ लाख रुपैयाँ खर्च भयो होला, खर्च कटाएर बचेको पैसा हो त्यो,” उनी भन्छन्।
बुद्धचित्तको बिरुवा न अत्यधिक चिसो न अत्यधिक तातो ठाउँमा राम्रो हुन्छ। “६ महिना चिसो र ६ महिना तातो हुने ठाउँमा राम्ररी फस्टाउँछ,” उनी सुझाउँछन्, “तर बाह्रै महिना चिसो हुने ठाउँ भने उपयुक्त हुँदैन।”
नर्सरीलाई अब औपचारिक रूपमा दर्ता गरेर व्यावसायिक ढङ्गले विस्तार गर्ने उनको योजना छ। बिहानै घाम लाग्ने ठाउँमा लगाउने हो भने बिरुवा अझ छिट्टै बढ्ने उनको अनुभव छ।
बजारको माग र सम्भावना
भकुण्डेबेशी नजिकैको बिपी राजमार्ग हुँदै पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका मानिस यात्रा गर्ने क्रममा त्यहीँको चिया–नास्ता पसलमै बुद्धचित्तको बिरुवा किन्छन्। तिमालजस्तै चर्चित क्षेत्रसम्म पुग्न नसक्ने ग्राहकका लागि भकुण्डेबेशीकै नर्सरी गन्तव्य बन्दै गएको छ।
बुद्धचित्तका माला नाप्ने यन्त्र नभए पनि बोम्जनले ८ एमएम र ९ एमएमका माला लाखौँमा बिक्री हुने गरेको सुनिरहेका छन्। “काठमाडौँमै बनाइएका माला त तिमालभन्दा राम्रो पर्छन् भन्ने पनि सुनिन्छ,” उनी भन्छन्।
काभ्रेको गिम्दीमा एक जना किसानले एउटै दाना ८ लाख रुपैयाँमा बिक्री गरेको उदाहरण पनि छ। बुद्धचित्त अब केवल धार्मिक वस्तु होइन, सम्भावना र आम्दानीको स्रोत बनेको छ।
गाउँमै आम्दानी गर्ने लहर
पैसा कमाउन बिदेसिने लहर चलिरहेको छ। केही युवा भने गाउँमै बसेर बुद्धचित्तको बिरुवा लगाएर लाखौँ आम्दानी गर्न सकिनेमा उत्साहित छन्।
“तर, फल कस्तो दिन्छ भन्ने हो,” किसान भन्छन्,“छिमेकमा दुईवटा बिरुवा लगाएर लाखौँ कमाएको देखेपछि हामी पनि बिरुवा खोज्दै हिँडिरहेका छौँ।”
कतिपय किसान टुलुटुलु हेरेर बसेका भए पनि, धेरै किसानले अब चुप लागेर बस्न मिल्दैन भन्ने बुझिसकेका छन्। लहलहैमा लागेर भए पनि बुद्धचित्तको बिरुवा लगाउन तम्सिरहेका छन्। कसैले छिमेकीको आम्दानी देखेर प्रतिस्पर्धामा लागेका छन् भने कसैले ‘नेपालमै सम्भावना छ’ भन्ने बुझेर।
बिरुवा व्यापारीहरू पनि यही उत्साहलाई बुझेर सम्भावित ठाउँहरूमा पुगेर अचाक्ली मूल्यमा बिक्री गरिरहेका छन्। १०० रुपैयाँमा पाइने बिरुवा अहिले ८ सयदेखि २ हजार रुपैयाँसम्ममा बेचिन थालेको छ।
“नेपालमा नहुने केही छैन, गर्यो भने यहीँ सबैथोक हुन्छ” भन्ने विश्वास किसानमा पलाइरहेको छ। यसले बिदेसिनु भन्दा आफ्नै माटोमा पसिना बगाएर सम्भावनाको बिरुवा उमार्ने बाटो देखाएको छ।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.