काठमाडौं केवल नेपालको राजधानी होइन, शैक्षिक गतिविधिको प्रमुख केन्द्र पनि हो, जहाँ देशभरिबाट विद्यार्थीहरू उज्ज्वल भविष्यको आकाङ्क्षासहित आइपुग्छन्। यद्यपि शिक्षण संस्थाहरू सशक्त भए पनि विद्यार्थीहरूको बसोबास, विशेषतः होस्टेल व्यवस्थापन अझै पनि अव्यवस्थित र समस्यापूर्ण रहेको देखिन्छ।
होस्टेलहरूमा भई रहेको भेदभाव, शोषण र गैरजिम्मेवार व्यवस्थापनका कारण विद्यार्थीहरू मानसिक, सामाजिक तथा शैक्षिक रूपमा निरन्तर दबाबमा रहेका छन्। काठमाडौँका धेरै निजी होस्टेलहरू “नेपाल होस्टेल सङ्घ” मा दर्ता नभएका र दर्ता भए पनि नाफामुखी सोचका आधारमा सञ्चालित भइरहेका छन्। विद्यार्थीहरूबाट महँगो शुल्क असुली गर्ने यस्ता होस्टेलहरूले भने आधारभूत सेवा र जिम्मेवारीहरू पूरा गर्न चासो देखाउँदैनन्।
धेरैजसो होस्टेलमा खानेपानीको कमी, सफाइको अभाव, स्वास्थ्यमा असर पार्ने खाना, तथा लाइट र इन्टरनेट सेवामा अस्थिरता जस्ता समस्या सामान्य छन्।
अझ दुखद कुरा त के भने, एउटै कोठामा बस्ने विद्यार्थीहरूबाट फरक–फरक शुल्क लिइन्छ, जुन आर्थिक रूपमा कमजोर वर्गका विद्यार्थीहरूका लागि अपमानजनक र अन्यायपूर्ण व्यवहार हो।
नेपालको सामाजिक विभाजन र पूर्वाग्रहहरू होस्टेलको भित्री संरचनामा पनि झल्किएका छन्। विशेषगरी मधेसी, दलित र अन्य वञ्चित समुदायका विद्यार्थीहरू प्रति केही होस्टेल सञ्चालक वा कर्मचारीहरूको व्यवहार पक्षपातपूर्ण देखिन्छ। जस्तै:
मधेसी विद्यार्थीहरूलाई उनीहरूको उच्चारण वा लुगा लगाउने तरिकाका आधारमा हेपिने गरिन्छ।
छात्राहरूलाई भने छात्राहरूभन्दा फरक रूपमा कठोर नियम लगाइन्छ, जस्तै, बेलुका ५ बजेपछि बाहिर जान नपाउने, पाहुना भेट्न अभिभावकको अनुमति आवश्यक पर्ने।
दलित विद्यार्थीलाई भान्सामा खाना बनाउनबाट रोक लगाइन्छ।
विद्यार्थीहरूलाई आफैँले खाएको भाँडाकुँडा आफैँ सफा गर्न लगाइन्छ, शौचालय सफा गर्न लगाइन्छ, एउटै कोठामा धेरै विद्यार्थीहरू भेडा–च्याङ्ग्राजस्तै अटाउन खोजिन्छ आदि।
यस्ता विभेदपूर्ण व्यवहारहरूले विद्यार्थीहरूको आत्मसम्मान र आत्मबलमा गम्भीर असर पार्छ, जसले उनीहरूको शैक्षिक वातावरण नै प्रतिकूल बनाउँछ।
धेरै होस्टेलहरूमा व्यवस्थापकहरूको व्यवहार कठोर र धम्कीपूर्ण देखिन्छ। विद्यार्थीहरूले जब सेवा वा सुविधाबारे गुनासो गर्छन्, तब उनीहरूलाई ‘कोठा खाली गर’ भन्ने चेतावनी दिइन्छ, डिपोजिट फिर्ता नदिने, वा सामान्य गल्तीलाई लिएर कडा कारबाहीको डर देखाउने जस्ता घटनाहरू सामान्य भइसकेका छन्।
यसरी भय र असहजताको वातावरणमा बस्नुपर्दा विद्यार्थीहरू अध्ययनभन्दा बढी मानसिक तनाव र डरमा दिन बिताउन बाध्य छन्।
होस्टेलहरूमा सुरक्षा सुनिश्चित गर्ने नाममा अत्यधिक निगरानी र नियन्त्रण गर्ने प्रचलन व्यापक छ।
जसमा समावेश छन्:
कोठामा बाहिरबाट ताला लगाउने,
हरेक आगन्तुकका लागि कडाइका साथ पहिचान प्रक्रिया अपनाउने,
CCTV मार्फत निरन्तर गतिविधिहरू अनुगमन गर्ने,
र यहाँसम्म कि मोबाइल प्रयोग समेत नियन्त्रण गर्ने प्रयास।
यी सबै उपायहरूले विद्यार्थीहरूको व्यक्तिगत स्वतन्त्रता सीमित गर्ने मात्र होइन, उनीहरूको मानसिक स्वास्थ्यमा समेत नकारात्मक प्रभाव पार्छ। अध्ययन र स्वतन्त्रताको खोजीमा रहेका विद्यार्थीहरूले आफूलाई जेलजस्तो वातावरणमा सीमित महसुस गर्ने अवस्था उत्पन्न भएको छ।
नेपालमा होस्टेल सञ्चालन र व्यवस्थापन सम्बन्धी ठोस कानुनी संरचना अझै प्रभावकारी रूपमा कार्यान्वयनमा आएको छैन। यसको परिणामस्वरूप, अधिकांश होस्टेलहरूले आफ्नै मनपरी नियमहरू लागू गर्दै आएका छन्, जसमा कहिलेकाहीँ जबरजस्ती र असंवैधानिक गतिविधिहरू पनि देखिन्छन्।
सरकारी संयन्त्रहरूद्वारा प्रभावकारी अनुगमन नहुनुका कारण विद्यार्थीहरूका समस्या बेवास्ता हुँदै आएका छन्, र उनीहरूको आवाज दबिइरहेको छ। त्यसैले शिक्षण संस्था, स्थानीय सरकार र मानव अधिकार निकायहरूले संयुक्त पहलमा यस्तो दमन रोक्न प्रभावकारी संरचना विकास गर्नु आजको जरुरी आवश्यकता हो।
शिक्षा प्रत्येक व्यक्तिको आधारभूत मानव अधिकार हो, र सुरक्षित तथा गरिमायुक्त आवास प्राप्त गर्नु विद्यार्थीहरूको जन्मसिद्ध अधिकार हो। होस्टेल केवल बस्ने स्थान मात्र नभएर विद्यार्थीहरूको दोस्रो घर हो। त्यसैले होस्टेलको व्यवस्थापन पनि घरजस्तै सुरक्षात्मक, सम्मानजनक र समानतापूर्ण हुनुपर्छ।
विद्यार्थीहरू भविष्यका नेतृत्वकर्ता हुन्, जसले डर, भेदभाव र शोषणबाट मुक्त भएर आत्मसम्मान र स्वतन्त्रताको वातावरणमा हुर्कन पाउनु आवश्यक छ।
यसको लागि कानुनी मापदण्डको विकास र कार्यान्वयन, नेपाल होस्टेल सङ्घ र काठमाडौं महानगरपालिकाद्वारा होस्टेलहरूको नियमित अनुगमन, विद्यार्थी गुनासो सुन्ने प्रभावकारी प्रणाली र व्यापक सामाजिक जागरण आवश्यक छ।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.