चक्रपथभित्र अनिश्चितकालिन कर्फ्यु

चक्रपथभित्र अनिश्चितकालिन कर्फ्यु

794
SHARES

काठमाडौं – काठमाडौँको चक्रपथभित्र अनिश्चितकालिन कर्फ्यु आदेश जारी गरिएको छ। मङ्गलवार बिहान साढे ८ बजेदेखि लागू हुने गरी अर्को आदेश नभएसम्म चक्रपथभित्र कर्फ्यु आदेश जारी गरेको जिल्ला प्रशासन कार्यालय काठमाडौँले जनाएको छ।

तोकिएको क्षेत्रभित्र आवतजावत गर्न, कुनै जुलुस, सभा, प्रदर्शन बैठक, घेराउ लगायतका भेला गर्न नपाइने सूचनामा भनिएको छ।

ललितपुर जिल्ला प्रशासन ललितपुर महानगरपालिकाका केही क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ। जिल्ला प्रशासन कार्यालयले बिहान ७ बजेदेखि राति १२ बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरेको हो।

भैँसेपाटी क्षेत्र वडा नं ४, १८ र २५ पूर्वमा भैँसेपाटीबाट बुङ्गमती जाने सडक, पश्चिममा सिजी हाउजिङ तथा चोभार गल्छी सडक, उत्तरमा गायत्री पेट्रोल पम्पभन्दा तलको विष्णुदेवी मन्दिर, दक्षिणमा इटनी जाने ओह्रालोसम्म, सानेपा क्षेत्र वडा नं २, पूर्वमा सानेपा चोकबाट इन्द्रायणी मन्दिरसम्मको पक्की सडक, पश्चिममा बल्खु पुलदेखि मनमोहन पार्कसम्म बागमती करिडोर सडक, उत्तरमा बल्खु पुलदेखि सानेपा चोकसम्मको चक्रपथ सर्भिस लेन, दक्षिणमा इन्द्रायणी मन्दिरबाट बागमती करिडोर जाने पक्की सडकसम्म कर्फ्यु आदेश जारी भएको छ।

च्यासल क्षेत्र वडा नं ९, पूर्वमा मनोहरा खोला करिडोरको झोलुङ्गे पुल, पश्चिममा च्यासल रङ्गशाला, उत्तरमा मनोहरा खोला, दक्षिणमा मल पोखरी जाने बाटोसम्म कर्फ्यु लगाइएको छ। प्रमुख जिल्ला अधिकारी घिमिरेले शान्ति, सुरक्षा कायम गर्न र सम्भावित अप्रिय गतिविधि नियन्त्रण गर्न कर्फ्यु आदेश जारी गरिएको जनाएका छन्।

सोमबार भएको जेनजी आन्दोलनमा काठमाडौँमा १८ र इटहरीमा दुईसहित २० जनाको मृत्यु भएको छ भने ४ सयभन्दा बढी घाइतेको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।

अमेरिकासहित सात देशका दूतावासले सोमबार जेन–जी प्रदर्शनमा भएको घटनाबारे संयुक्त विज्ञप्ति जारी गर्दै शान्तिपूर्ण तरिकाले समाधान खोज्न आग्रह गरेका छन्। जेन–जी आन्दोलनमा १९ जनाको ज्यान जाने गरी भएको घटनापछि हिजो साँझ सात राष्ट्रको दूतावासले एकसाथ विज्ञप्ति जारी गरेका हुन्।

विज्ञप्ति जारी गर्नेमा अस्ट्रेलिया, फिनल्यान्ड, फ्रान्स, जापान, कोरिया, बेलायत र अमेरिकाका दूतावासहरू छन् । ‘हामी शान्तिपूर्ण सभा र अभिव्यक्ति स्वतन्त्रताको सार्वभौमिक अधिकारप्रति आफ्नो दृढ समर्थन पुनः व्यक्त गर्छौँ। हामी सबै पक्षलाई अधिकतम संयम अपनाउन, परिस्थिति थप बिग्रिन नदिई शान्तिपूर्ण तरिकाले समाधान खोज्न तथा यी मौलिक अधिकारको पूर्ण संरक्षण सुनिश्चित गर्न आग्रह गर्छौँ,’ विज्ञप्तिमा भनिएको छ।

दूतावासहरूले सोमबार भएको घटनाबारे दुख पनि व्यक्त गरेको छ। ‘हामी काठमाडौं तथा नेपालका अन्य स्थानमा आज देखिएका हिंसात्मक घटनाप्रति गहिरो दुःख व्यक्त गर्छौँ। यी घटनाका कारण ज्यान गुमाउने दुःखद अवस्था उत्पन्न भएको र कयौँ घाइते भएकामा हामी संवेदनशील भएका छौँ,’ उनीहरूले भनेका छन्।

दूतावासहरूले पीडित परिवारजन र प्रभावित व्यक्तिहरूप्रति हार्दिक समवेदना प्रकट गर्दै घाइते सबैलाई शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन्।

यस्तै, जेनजीको आन्दोलनमा सरकारले गरेको अत्यधिक दमनको तत्काल छानबिन गर्न अन्तर्राष्ट्रिय मानव अधिकार सङ्गठनहरूले माग गरेका छन्। संयुक्त राष्ट्र सङ्घीय मानव अधिकार एजेन्सी ह्युमन राइट्स कमिसनले युवाहरूमाथि भएको अत्यधिक दमनको तत्काल छानबिन गर्न माग गरेको छ।

एक विज्ञप्ति जारी गर्दै एजेन्सीले सामाजिक सञ्जालहरूमाथि लगाइएको प्रतिबन्ध फुकुवा गर्नेबारे विचार गर्न आग्रह गरेको छ।

यस्तै एमनेस्टी इन्टरनेशनलले पनि सामाजिक सञ्जालमाथिको प्रतिबन्धले अभिव्यक्ति स्वतन्त्रता हनन भएको भन्दै सरकारी प्रयासको निन्दा गरेको छ। एक विज्ञप्ति जारी गर्दै एमनेस्टीले युवाहरूको आवाज सुन्न र बल प्रयोग नगर्न नेपाल सरकारलाई आग्रह गरेको छ।

समाचार शेयर गर्नुहोस्
794
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.