रास्वपाका २० सांसदको सामूहिक राजीनामा

रास्वपाका २० सांसदको सामूहिक राजीनामा

854
SHARES

काठमाडौं — जेनजी पुस्ताद्वारा सुरु गरिएको शान्तिपूर्ण आन्दोलनमाथि सरकारले गरेको बर्बर दमनको विरोधस्वरूप राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सबै २० जना सांसदले सामूहिक राजीनामा दिएका छन्।

रास्वपा संसदीय दलले जारी गरेको विज्ञप्तिमा देशमा व्याप्त भ्रष्टाचार, कानुनी शासनको अवहेलना, क्रूर राजनीतिक अभ्यास र सामाजिक सञ्जाल बन्द गरेर अभिव्यक्ति स्वतन्त्रता खोसिएको घटनासँगै सरकारले निहत्था युवामाथि गरेको ‘आमहत्या’को घोर निन्दा गरिएको छ।

“आफ्नै सन्तानको रगतमा लतपतिएर कुशासन लम्ब्याउने कुचेष्टा अब जनताले सहने छैनन्, यो आततायी शासनविरुद्ध जनप्रतिवाद हुनेछ,” विज्ञप्तिमा भनिएको छ।

संसदीय दलले सरकारको औचित्य समाप्त भइसकेको निष्कर्ष निकाल्दै पाँच बुँदे मागसहित प्रधानमन्त्रीको तत्काल राजीनामा गर्न चेतावनी दिएको छ।

ती मागहरूमा उच्चस्तरीय न्यायिक छानबिन आयोग गठन, सर्वपक्षीय नागरिक सरकार गठन, प्रधानमन्त्री, गृहमन्त्री, सञ्चार मन्त्री र काठमाडौँका प्रमुख जिल्ला अधिकारीलाई बर्खास्त गरी हिरासतमा लिने, दोषीमाथि कारबाही गर्ने र संविधान संशोधन प्रक्रिया सुरु गर्ने छन्।

रास्वपाले वर्तमान सङ्घीय संसद्‌ राष्ट्रिय मुद्दाको समाधान दिन असफल भइसकेको भन्दै शीघ्र अन्तरिम नागरिक सरकार गठनको प्रस्तावसमेत अघि सारेको छ।

सामूहिक राजीनामा दिने सांसदहरूमा दलका नेता रवि लामिछाने, पूर्वनेता डोल प्रसाद अर्याल, उपनेता विराजभक्त श्रेष्ठ, प्रमुख सचेतक सन्तोष परियार, सचेतक निशा डाँगी, डा. स्वर्णिम वाग्ले, डा. तोसिमा कार्की, शिशिर खनाल, सुमना श्रेष्ठ, गणेश पराजुली, सोबिता गौतम, हरि ढकाल, प्रा.डा. चन्दा कार्की (भण्डारी), असिम शाह, लक्ष्मी तिवारी, अशोक कुमार चौधरी, शिव नेपाली, बिनिता कठायत र विन्दवासिनी कंसकार रहेका छन्।

कार्यवाहक सभापति तथा पूर्वनेता डोल प्रसाद अर्यालले विज्ञप्तिमार्फत संसदीय दल एकमत भएर राजीनामा दिने निर्णय भएको जानकारी गराएका छन्।

समाचार शेयर गर्नुहोस्
854
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.