काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले विषम परिस्थितिको शान्तिपूर्ण समाधानका लागि आन्दोलनकारी नागरिकलगायत सबैलाई सहयोग गर्न आग्रह गरेका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा स्वीकृत भइसकेकाले अहिलेको विषम परिस्थितिबाट मुलुक, जनता र लोकतन्त्रलाई माया गर्दै समस्या समाधानका लागि सबै पक्षले सहयोग गर्ने विश्वास आफूले गरेको राष्ट्रपति पौडेलले बताए।
राष्ट्रपति पौडेलले लोकतन्त्रमा नागरिकले उठाएका मागहरू जेनजीका प्रतिनिधिसमेत बसी वार्ता र संवादमार्फत समाधान गर्न सकिने भएकाले संयमित हुन र वार्तामा आउन अपिल गरे।
नेपाली सेनाले पनि देशका सम्पूर्ण युवा जनशक्ति र नागरिकलाई संयमित रहन तथा परिस्थितिलाई थप जटिल हुन नदिन आह्वान गरेको छ। सेनाले राष्ट्रिय एकता र सामाजिक सद्भावलाई कायम राख्न सबैमा संयमता अपनाउन अनुरोध गरेको छ।
सेनाले विज्ञप्ति जारी गर्दै मुलुकको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता र जनताको जिउधनको सुरक्षाप्रति आफ्नो अटुट प्रतिबद्धता दोहोर्याएको छ।
आन्दोलनका क्रममा भएको जनधनको क्षतिप्रति दुःख प्रकट गर्दै सेनाले ज्यान गुमाउनेहरूको आत्माको चिरशान्तिको कामना र शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेको छ।
जनसम्पर्क तथा सूचना निर्देशनालय जङ्गी अड्डाबाट जारी विज्ञप्तिमा नेपाली सेनाले हालको संवेदनशील अवस्थालाई मध्यनजर गर्दै नेपाल र नेपाली जनताको हित र सुरक्षासहित ऐतिहासिक, सांस्कृतिक, पुरातात्त्विक र राष्ट्रिय सम्पत्तिको संरक्षण सबैको साझा जिम्मेवारी भएको उल्लेख गरेको छ।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.