काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सरकार र प्रतिद्वन्द्वी राजनीतिक दलका नेताहरूप्रति आक्रोश व्यक्त गरेका छन्।
सहकारीको रकम अपचलनको आरोपमा हिरासतमा रहेका उनलाई जेनजी आन्दोलनले बाहिर निकालेपछि अपिल जारी गर्दै सरकार र प्रतिपक्ष दलका नेताहरूप्रति आगो ओकलेका हुन्।
उनले भनेका छन्, “यस देशका लुटेरा नेताहरूले सजाय पाउने क्रम जारी छ। यिनको निजी सम्पत्ति यिनको होइन, देशको ३ पुस्तालाई लुटेर यिनीहरूले जोडेका हुन। यिनको बाँकी सम्पत्ति पनि पूर्ण रूपमा राष्ट्रियकरण गरिनुपर्छ र यिनीहरूलाई कानुनी दायरामा समेत ल्याउनैपर्छ।”
तर, उनले आन्दोलनका क्रममा अत्यन्त संयमित भई राष्ट्रिय सम्पत्ति जोगाउन आवश्यक रहेको बताए। लामिछानेले अपिल जारी गर्दै भने,“राष्ट्रिय सुरक्षासँग सरोकार राख्ने प्रहरी, सुरक्षा निकाय, न्यायालय लगायतका दस्ताबेजहरू राष्ट्रका महत्त्वपूर्ण सम्पत्ति हुन, तिनको संरक्षण गर्न सकिएन भने मुलुकको संवेदनशील दस्ताबेजहरू नास हुन सक्छन्। जुन तपाई हाम्रा लागी र यो देशका लागी अत्यन्त क्षतिपूर्ण हुन सक्छन्। सरकारी सम्पत्तिहरू क्षति हुँदा राष्ट्रकै सम्पत्तिको क्षति हुने हुँदा यसको संरक्षण गर्ने जिम्मेवारी पनि हाम्रै हो। ”
लामिछानेले सरकारी सम्पत्तिको संरक्षण नागरिककै जिम्मेवारी भएको उल्लेख गर्दै आन्दोलन शुद्ध रूपमा जेनजी पुस्ताको भएको दाबी गरे। लामिछानेले अपिल जारी गर्दै भने, “मुलुकको भविष्यको नेतृत्व जेनजीकै माग र परिकल्पना अनुरूप अघि बढ्नुपर्छ। म सदैव नागरिक सर्वोच्चताको पक्षमा छु।”
उनले आम नागरिकको दबाबपछि कानुनबमोजिम प्रक्रिया पूरा गरी मात्र आफू कारागारबाट रिहा भई नागरिकबीच आएको बताए। कानुनप्रति आफू बफादार रहने प्रतिबद्धता जनाउँदै भविष्यमा आइपर्ने सम्पूर्ण आवश्यक कानुनी प्रक्रियाका लागि तयार रहने उनले बताएका छन्।
अपिलको अन्त्यमा लामिछानेले सबै नागरिकलाई संयमित रहन अनुरोध गरेका छन्।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.