कुकुर–बिरालो बन्ध्याकरणका लागि आवेदन माग्दै काठमाडौं महानगर

कुकुर–बिरालो बन्ध्याकरणका लागि आवेदन माग्दै काठमाडौं महानगर

405
SHARES

काठमाडौँ – काठमाडौँ महानगरपालिकाले आर्थिक वर्ष २०८२/०८३ का लागि महानगरभित्र रहेका सामुदायिक कुकुर र बिरालोलाई बन्ध्याकरण तथा रेबिजविरुद्धको खोप (भ्याक्सिनेसन) गर्न इच्छुक संघसंस्थाहरूलाई आवेदन दिन आह्वान गरेको छ।

इच्छुक संस्थाले १५ दिनभित्र महानगरको कृषि तथा पशुपन्छी विभागमा सम्पर्क गरी आवेदन पेस गर्नुपर्नेछ। महानगरले बन्ध्याकरण तथा खोप भ्याक्सिनेसनको दर प्रति गोटा २ हजार ५ सय रुपैयाँ तोकेको छ।

आवेदन पेस गर्न चाहने संस्थाले आफ्नो विधान र दर्ता प्रमाणपत्रको प्रतिलिपि, काठमाडौँ महानगरपालिकाको मौजुदा सूचीमा सूचीकृत भएको प्रमाणपत्र, कुकुर र बिरालो बन्ध्याकरणसम्बन्धी अघिल्लो अनुभवका प्रमाणपत्र, पशु चिकित्सकको प्रमाणपत्र, पशु ओसारपसारका लागि प्रयोग हुने सवारी साधन, सेल्टर र बन्ध्याकरण कक्ष भएको प्रमाण, भाडामा भए सम्झौता पत्र तथा बन्ध्याकरणका लागि आवश्यक सामग्रीको व्यवस्था सम्बन्धी कागजात पेस गर्नुपर्नेछ।

यस्ता संस्थाहरूले पेस गरेको सेवा उपलब्ध गराउने पूर्वाधार मूल्याङ्कन गरी अन्तिम छनोट गरिने र छनोट भएका संस्थासँग सम्झौता गरेर कार्यादेश दिइने कृषि तथा पशुपन्छी विभागका पशु चिकित्सक डा. पूजा खनालले जानकारी दिइन। उनका अनुसार, छनोट भएका संस्थाले कार्य राम्ररी सम्पादन गरेको वा नगरेको विषयमा नियमित अनुगमन गरिनेछ।

महानगरले बर्सेनि सामुदायिक कुकुर र बिरालोको बन्ध्याकरण तथा खोप भ्याक्सिनेसन गर्दै आएको जनाएको छ। आर्थिक वर्ष ०८०/०८१ मा ५५ सय कुकुर र बिरालोको बन्ध्याकरण गरिएको र १६ हजार वटामा रेबिजविरुद्धको खोप लगाइएको थियो। त्यस्तै आर्थिक वर्ष ०८१/०८२ मा ६ सय ७० बन्ध्याकरण र १६ हजार ५ सय ६९ रेबिजविरुद्धको खोप भ्याक्सिनेसन गरिएको खनालले जानकारी दिइन।

समाचार शेयर गर्नुहोस्
405
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.