निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

मौसम बदली : “धान काट्न हतार नगर्नुहोस्”

मौसम बदली : “धान काट्न हतार नगर्नुहोस्”

283
SHARES

काठमाडौँ – देशभर अहिले मौसम बदली भएको छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालमा पश्चिमी वायुका साथै अरब सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभावले बदली भएको हो।

मौसम बदलीसँगै देशका विभिन्न स्थानमा चिसो बढेको छ। मौसमविद् डेभिड ढकालका अनुसार कात्तिक १२ गतेसम्म देशका उच्च पहाडी र हिमाली भू–भागमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना छ।

हालको मौसमी प्रणाली अझै केही दिन सक्रिय रहने भएकाले पश्चिमी र मध्य क्षेत्रका पहाडी भू–भागमा हिमपात र वर्षा दुवैको सम्भावना छ।

महाशाखाका अनुसार गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी र हिमाली भू–भागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ। साथै, गण्डकी प्रदेशका उच्च हिमाली भू–भागका एक–दुई स्थानमा भारी हिमपातको पनि पूर्वानुमान गरिएको छ।

सम्भावित हिमपात र वर्षाको कारणले दैनिक जनजीवन, यातायात, पर्वतारोहण, कृषि तथा पर्यटन गतिविधिमा समेत असर पर्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। पर्वतीय मार्गमा हिउँले यातायातमा अवरोध हुन सक्ने र दृश्यता घट्ने सम्भावना भएकाले यात्रुहरूलाई सावधानी अपनाउन सुझाव दिइएको छ।

मौसमविद् ढकालका अनुसार, यो प्रणाली अझै केही दिन सक्रिय रहन सक्ने भएकाले विभिन्न क्षेत्रमा निरन्तर वर्षा र हिमपातको क्रम जारी रहन सक्छ। उनले मौसममा आएको बदलीले कृषि क्षेत्रमा पनि प्रत्यक्ष प्रभाव पार्ने भएकाले किसानलाई तत्काल धान नकाट्न सुझाव दिए।

मौसम पूर्वानुमान महाशाखाले विशेष गरी गोरखा, मनाङ, मुस्ताङ, डोल्पा, म्याग्दी, कास्की, पर्वत र आसपासका जिल्लाहरूमा बढी सतर्कता अपनाउन आग्रह गरेको छ।

त्यस्तै दोलखा, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, धादिङ, लमजुङ, हुम्ला, जुम्ला, मुगु, कालिकोट, दैलेख, जाजरकोट, सल्यान, दुवै रुकुम, बागलुङ, सुर्खेत, बाँके र बर्दिया जिल्लाका बासिन्दाहरूलाई पनि ख्यालपूर्वक रहन अनुरोध गरिएको छ।

समाचार शेयर गर्नुहोस्
283
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.