निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

माओवादीभित्र अराजकता : प्रचण्डकै स्वीकारोक्ति

माओवादीभित्र अराजकता : प्रचण्डकै स्वीकारोक्ति

225
SHARES

काठमाडौँ – जेनजी आन्दोलनपछि राजनीतिक दलभित्रको असन्तुलन माओवादी केन्द्रभित्र पनि स्पष्ट रूपमा देखिन थालेको छ। दश वर्ष सशस्त्र युद्धको नेतृत्व गरेर तीन पटक देशको प्रधानमन्त्री बनेका नेकपा (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल प्रचण्ड कै शब्दमा अहिले पार्टीभित्र अराजकता सिर्जना भएको छ।

शनिवार पार्टीको केन्द्रीय सचिवालय बैठकमा प्रचण्ड र नेता जनार्दन शर्माबीच विवाद भएपछि माओवादी केन्द्रभित्र आन्तरिक असन्तोष सतहमा आएको छ। पार्टी एकताको तयारीका क्रममा नेतृत्व र कार्यदिशामा देखिएको मतभेदले बैठक नै तातेको छ।

बैठकमा नेता जनार्दन शर्माले पार्टी एकताको नाममा महाधिवेशन टार्ने प्रचण्डको योजना रहेको आरोप लगाएपछि वातावरण बिग्रेको हो। प्रचण्डले आफू संयोजक बन्ने गरी अन्य दलहरूसँग एकता गर्ने योजना अघि बढाइरहेका बेला शर्माले त्यसलाई प्रत्यक्ष चुनौती दिए।

शर्माको भनाइपछि प्रचण्ड आक्रोशित बने। प्रचण्डका अनुसार, “बैठक राम्रो वातावरणमा चलिरहेको थियो तर जनार्दन शर्मा अराजक शैलीमा बाहिरिए।”

शर्माले आफ्नो लिखित धारणा बैठकमा पेस गर्दै माओवादी केन्द्र र एकीकृत समाजवादीबीच हुन लागेको पार्टी एकताको विरोध गरेका थिए। शर्माको तर्क थियो, यस्तो एकताले माओवादी आन्दोलनको मौलिकता, सिद्धान्त र पहिचान नै मेटिनेछ।

माओवादी केन्द्रले हाल नेकपा (एकीकृत समाजवादी), नेकपा (समाजवादी), जनसमाजवादी पार्टी, नेपाल समाजवादी पार्टी र नेपाल कम्युनिस्ट पार्टी (चिरन पुन समूह) सँग पार्टी एकता गर्ने निर्णय गरेको छ।

नेकपा (एकीकृत समाजवादी) ले पनि माओवादी केन्द्रसँग पार्टी एकता गर्ने निर्णय औपचारिक रूपमा गरिसकेको छ।

बैठकपछि पार्टीका उपाध्यक्ष तथा प्रवक्ता अग्निप्रसाद सापकोटाले राजनीतिक, वैचारिक र सैद्धान्तिक सहमति भइसकेकाले एकता प्रक्रिया अघि बढाउने निर्णय भएको जानकारी दिए। उनका अनुसार, “अब एकता केवल प्रक्रियागत विषय हो, सबै पक्षबीच मूल धारणा मिलिसकेको छ।”

तर, माओवादी केन्द्रभित्र यो विषयमा स्पष्ट दुई धार देखिएका छन्। अध्यक्ष प्रचण्डले पार्टी एकतालाई ‘राष्ट्रिय आवश्यकता र बायाँ शक्तिको एकीकरणका लागि आवश्यक कदम’ भन्दै समर्थन गरिरहेका छन् भने नेता जनार्दन शर्माले आन्दोलनको आत्मा र माओवादी पहिचान जोगाउन एकता प्रक्रियामा पुनर्विचार गर्नुपर्ने धारणा राखिरहेका छन्।

जेनजी आन्दोलनपछि पार्टीभित्रको यो विवादले एकताको भविष्य र प्रचण्डको नेतृत्व क्षमता दुवै परीक्षणको मोडमा पुगेको देखिएको छ।

समाचार शेयर गर्नुहोस्
225
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.