मंसिर २१ देखि समानुपातिकतर्फको चुनावका लागि दल दर्ता

मंसिर २१ देखि समानुपातिकतर्फको चुनावका लागि दल दर्ता

395
SHARES

काठमाडौँ – फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रम मङ्सिर २० गतेदेखि सञ्चालन हुँदैछ।

निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन अधिकृतको कार्यालय कान्तिपथस्थित केन्द्रीय कार्यालयमै स्थापना गरेसँगै सो कार्यक्रमका लागि तयारी औपचारिक रूपमा सुरु गरिएको हो।

निर्वाचन आयोगद्वारा स्वीकृत कार्यक्रम अनुसार मङ्सिर २१ गते बिहान १० बजेदेखि २३ गते दिउँसो ४ बजेसम्म समानुपातिक निर्वाचन प्रणालीमा भाग लिन चाहने राजनीतिक दलले निवेदन पेस गर्नुपर्ने आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए।

यस्तै, मङ्सिर २४ गते बिहान १० देखि दिउँसो ४ बजेसम्म निवेदन पेस गर्ने राजनीतिक दलहरूको नामावली प्रकाशित गरिने आयोगले जनाएको छ। आगामी पुस १३ र १४ गते उम्मेदवारको बन्दसूची पेस गर्नुपर्नेछ भने माघ २० गते बन्दसूचीको अन्तिम प्रकाशन हुने प्रवक्ता भट्टराईले बताए।

आयोगको केन्द्रीय कार्यालय कान्तिपथमै निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएकाले आयोगका सचिव महादेव पन्थलाई निर्वाचन अधिकृत तोकिएको छ। सहायक निर्वाचन अधिकृतको रूपमा आयोगका सहसचिव यज्ञप्रसाद भट्टराईलाई तोकिएको छ। समानुपातिक निर्वाचन व्यवस्थापनका लागि कुल ४१ जना कर्मचारी कार्यरत रहनेछन्।

आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आगामी प्रतिनिधिसभा निर्वाचन सफलतापूर्वक सम्पन्न गराउन कम्मर कसेर लाग्न कर्मचारीलाई निर्देशन दिएका छन्। आयोगमा १२० दलले निर्वाचनमा सहभागिताका लागि निवेदन दिएको र तीमध्ये २६ दल जेनजी आन्दोलनपछि दर्ता भएका नयाँ राजनीतिक दल रहेको आयोगले जनाएको छ।

विद्यमान कानुन अनुसार प्रतिनिधिसभाका १६५ सदस्य प्रत्यक्ष निर्वाचन (पहिलो हुने नै निर्वाचित) प्रणालीबाट र ११० सदस्य समानुपातिक प्रतिनिधित्व प्रणालीबाट चयन गरिने व्यवस्था छ। प्रत्यक्ष प्रणालीतर्फ उम्मेदवारी मनोनयनका लागि माघ ६ गते सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ता कार्यक्रम तोकिएको आयोगले जनाएको छ।

समाचार शेयर गर्नुहोस्
395
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.