‘देश बङ्गलादेश नबनोस्’ भनेको भोलिपल्टै मन्त्रिपरिषद् विस्तार

‘देश बङ्गलादेश नबनोस्’ भनेको भोलिपल्टै मन्त्रिपरिषद् विस्तार

418
SHARES

काठमाडौँ – जेनजी आन्दोलनपछि बनेको वर्तमान सरकारले गठनको सय दिन अर्थात् ‘हनिमुन पिरियड’ कटिसक्दासमेत मन्त्री थप्ने क्रम रोकेको छैन। मन्त्रिपरिषद् छैटौँ पटक विस्तार भएको छ।

राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा मौजुदा मन्त्रिपरिषद्मा नियुक्ति, हेरफेर र कार्यविभाजन गर्दै मन्त्रिपरिषद् गठन गरेका हुन्।

भदौ २७ गते प्रधानमन्त्रीमा नियुक्त कार्कीले पटक–पटक गरी शुक्रवार छैटौँ पटक मन्त्रिपरिषद् विस्तार गरेकी हुन्। सरकार गठनको प्रारम्भिक सय दिनलाई परम्परागत रूपमा ‘हनिमुन पिरियड’ मानिन्छ। तर, जेनजी आन्दोलनपछि बनेको सरकारले सय दिन नाघिसक्दासमेत मन्त्री थपिरहँदा सरकारको आकार र व्यवस्थापनमाथि प्रश्न उठ्न थालेको छ।

राजनीतिक दल र जेनजीका करिब २५–३० वटा समूहले प्रधानमन्त्रीको राजीनामा मागिरहेको प्रधानमन्त्री कार्कीले नै बताएकी थिइन। उनले देश बङ्गलादेश नबनोस् भनेकी थिइन। प्रधानमन्त्रीकाे यो अभिव्यक्ति आएको भोलिपल्ट उनले परराष्ट्र मन्त्रीमा बालानन्द शर्मालाई नियुक्त गरेकी हुन्। मन्त्रिपरिषद् विस्तार गर्दै आएकी कार्कीले अहिले आफूसँग रक्षा मन्त्रालय मात्र बाँकी राखेकी छन्।

राष्ट्रपति पौडेलसमक्ष नवनियुक्त परराष्ट्र मन्त्री शर्माले मन्त्री पद तथा गोपनीयताको शपथ लिएका छन्। यससँगै मन्त्रिपरिषद् १५ सदस्यीय बनेको छ। १५ जना मध्ये एउटा मात्र मन्त्रालयको जिम्मेवारी पाउने मन्त्रीको सङ्ख्या १० जना छ।

प्रधानमन्त्रीसहित अर्थ मन्त्री र श्रम मन्त्रीले दुई–दुई वटा मन्त्रालयको जिम्मेवारी लिएका छन्। तीन–तीन वटा मन्त्रालयको जिम्मेवारी सम्हाल्ने भाग्यमानी मन्त्रीमा कुलमान घिसिङ र अनिलकुमार सिन्हा बनेका छन्।

प्रधानमन्त्री कार्कीले रक्षा मन्त्रालय आफैँसँग राखेकी छन् भने रामेश्वर खनालले अर्थ तथा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी सम्हालेका छन्। कुलमान घिसिङले ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास गरी तीन वटा मन्त्रालयको जिम्मेवारी पाएका छन्।

ओमप्रकाश अर्यालले गृह मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् भने अनिलकुमार सिन्हाले उद्योग, वाणिज्य तथा आपूर्ति, कानुन, न्याय तथा संसदीय मामिला र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन गरी तीन मन्त्रालयको जिम्मेवारी लिएका छन्।

महावीर पुनले शिक्षा, विज्ञान तथा प्रविधि, मदनप्रसाद परियारले कृषि तथा पशुपन्छी विकास, जगदीश खरेलले सञ्चार तथा सूचना प्रविधि र सुधा गौतमले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको जिम्मेवारी सम्हालेका छन्।

बब्लु गुप्ता युवा तथा खेलकुद मन्त्री बनेका छन्। राजेन्द्रसिंह भण्डारीले श्रम, रोजगार तथा सामाजिक सुरक्षा र खानेपानी मन्त्रालयको जिम्मेवारी पाएका छन्। माधवप्रसाद चौलागाईं वन तथा वातावरण मन्त्री बनेका छन् भने श्रद्धा श्रेष्ठ महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नियुक्त भएकी छन्।

जेनजी आन्दोलनपछि राजनीतिक स्थिरता, सुशासन र सानो तथा प्रभावकारी सरकारको अपेक्षा गरिए पनि सरकार गठनको सय दिन नाघिसक्दासमेत मन्त्रिपरिषद् विस्तार भइरहनुले सरकारको प्राथमिकता र राजनीतिक इच्छाशक्तिमाथि प्रश्न उठाएको छ।

समाचार शेयर गर्नुहोस्
418
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.