नेपाल, हमाल र मानन्धरलाई गोविन्द वियोगी पत्रकारिता पुरस्कार

नेपाल, हमाल र मानन्धरलाई गोविन्द वियोगी पत्रकारिता पुरस्कार

597
SHARES

काठमाडौं – सम्पादक समाज नेपालले संस्थापक अध्यक्ष एवं वरिष्ठ पत्रकार गोविन्द वियोगीको स्मरणमा स्थापना गरेको ‘गोविन्द वियोगी पत्रकारिता पुरस्कार–२०८२’ रत्न राज्यलक्ष्मी क्याम्पस, पत्रकारिता तथा आमसञ्चार विभागका प्रमुख डा. जगत नेपाललाई प्रदान गर्ने निर्णय गरेको छ।

सम्पादक समाज नेपालको निर्णय अनुसार उक्त पुरस्कार प्रमाणपत्रसहित नगद २५ हजार एक रुपैयाँ राशिको रहेको छ।

यस्तै, गोविन्द वियोगी विशेष पत्रकारिता पुरस्कार वातावरण संरक्षण तथा जलवायु परिवर्तनका प्रभाव न्यूनीकरणका विषयमा निरन्तर कलम चलाउँदै आएकी गोरखापत्र दैनिककी पत्रकार चाँदनी हमाल तथा नेपाल भाषामार्फत पत्रकारिता क्षेत्रमा योगदान पुर्‍याउँदै आएका ‘शुक्रवाः या तँसापौ’ साप्ताहिकका स्तम्भकार राजेन्द्र मानन्धरलाई प्रदान गर्ने निर्णय गरिएको सम्पादक समाज नेपालले जनाएको छ। विशेष पत्रकारिता पुरस्कार जनही १५ हजार एक रुपैयाँ नगद र प्रमाणपत्रसहित प्रदान गरिने छ।

सम्पादक समाज नेपालका महासचिव श्याम डोटेलका अनुसार, सम्पादक समाज नेपालको २०८२ पुस २७ गते बसेको बैठकले यस वर्षका लागि वरिष्ठ पत्रकार शरदचन्द्र वस्ती र सुदर्शन आचार्यलाई सम्पादक समाज नेपाल सम्मान प्रदान गर्ने निर्णयसमेत गरेको छ।

बैठकले २०८२ माघ ३ गते शनिवार संस्थाको आफ्नै भवन गोविन्द वियोगी पत्रकारिता अध्ययन केन्द्र, सुइरेचौर, शिवपुरी–७ मा पुरस्कार तथा सम्मान हस्तान्तरण कार्यक्रम आयोजना गर्ने निर्णय गरेको छ।

समाजका अध्यक्ष पुरु रिसालको अध्यक्षतामा बसेको बैठकले नेपाल पत्रकार महासङ्घका पूर्व अध्यक्ष होमनाथ दाहाल तथा वरिष्ठ सञ्चारकर्मी माइकल (हरिश) चन्दको निधनप्रति शोक प्रस्ताव पारित गर्दै दिवङ्गत आत्माको चिरशान्तिको कामना र शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गरेको छ।

समाचार शेयर गर्नुहोस्
597
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.