काठमाडौँ – प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवार बन्न नागरिक सरकारका तीन मन्त्रीले राजीनामा दिएका छन्। प्रधानमन्त्री सुशीला कार्कीले उनीहरूको राजीनामा स्वीकृत गरेकी छन्।
उम्मेदवारी दर्ताको अघिल्लो दिन सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेल र खेलकुद मन्त्री बब्लु गुप्ताले प्रधानमन्त्री कार्कीलाई राजीनामा बुझाएका हुन्।
तीन–तीन मन्त्रालय सम्हाल्दासम्हाल्दै अवस्थामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गरेका कुलमान घिसिङ राजीनामा दिएर पुनः उज्यालो नेपाल पार्टीमा फर्केका छन्। उनले उज्यालो नेपाल पार्टीबाटै उम्मेदवारी दर्ता गर्ने तयारी गरेका छन्।
उम्मेदवार मनोनयनको अघिल्लो दिन मात्र राजीनामा दिएका मन्त्रीद्वय खरेल र गुप्ताले भने रास्वपाको टिकट लिएर उम्मेदवारी दिन लागेको बताएका छन्। खरेल ललितपुर–२ र गुप्ता सिराहाबाट चुनाव लड्न लागेका हुन्।
सरकारका प्रवक्ता समेत रहेका मन्त्री खरेलले आफू ललितपुर क्षेत्र नम्बर–२ बाट उम्मेदवार बन्न लागेको कुरा पत्रकार सम्मेलनमार्फत जानकारी दिए।
उनले आफूलाई प्रधानमन्त्री सुशीला कार्कीदेखि अन्य मन्त्रीहरूको समर्थन रहेको बताए।
तीन जना मन्त्रीको राजीनामासँगै मन्त्रिपरिषद् १२ सदस्यीयमा झरेको छ। भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि मन्त्री बनेका कुलमान, जगदीश र बब्लुले नियुक्तिको चार महिना नपुग्दै राजीनामा दिएर पूर्वमन्त्री भएका छन्।
भ्रष्टाचारको अन्त्य, बेथिति र विसङ्गतिको विरोध तथा सुशासनयुक्त देश निर्माणको जेनजी आन्दोलनको म्यान्डेट विपरीत तीनै जना मन्त्रीले आफ्नै सम्पत्ति विवरण सार्वजनिक नगरी सरकार छाडेका छन्। उनीहरूले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सम्पत्ति विवरण बुझाए पनि ती विवरण गोप्य राखिएको छ।
यिनै मन्त्रीहरू मङ्गलवार उम्मेदवारी दर्ता गर्दा भने निर्वाचन आयोगको व्यवस्थाअनुसार खामबन्दी सम्पत्ति विवरण बुझाउन बाध्य हुनेछन्। १६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवारको मनोनयनपत्र दर्तासँगै हरेक उम्मेदवारले खामबन्दी सम्पत्ति विवरण बुझाउनुपर्ने व्यवस्था निर्वाचन आयोगले गरेको छ।
नागरिक सरकारका मात्रै होइन, राजनीतिक दल र स्वतन्त्रतर्फबाट निर्वाचित जनप्रतिनिधिहरूले समेत फागुन २१ को निर्वाचनको भारी बोक्दै उम्मेदवार बन्न खाइपाइ आएको पदबाट राजीनामा दिएका छन्।
मधेस प्रदेशका पूर्वमुख्यमन्त्री सतिशकुमार सिंहले प्रदेशसभा सदस्य पदबाट राजीनामा दिएका छन्। बागमती प्रदेशसभाका मात्र ६ सांसदले राजीनामा दिएका छन्।
कांग्रेसका कुन्दन काफ्ले, एमालेका अमनकुमार मास्के र प्रकाश श्रेष्ठ, नेकपाका युवराज दुलाल (शरद) र वसन्तकुमार मानन्धर तथा राप्रपाका सुनिल केसीले राजीनामा दिएका हुन्। दुलाललाई नेपाली कम्युनिस्ट पार्टीले सिन्धुपाल्चोक क्षेत्र नम्बर–२ मा र काफ्लेलाई कांग्रेसले दोलखाबाट टिकट दिएको छ।
लुम्बिनी प्रदेशसभा सदस्य धर्मबहादुर चौधरी, धनबहादुर मास्के र कन्हैया बनियाँले पनि प्रदेशसभा सदस्यबाट राजीनामा दिएका छन्। सुदूरपश्चिम प्रदेशसभा सदस्य डा. तारा जोशीको पनि राजीनामा आएको छ। जोशीलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले डडेलधुराबाट प्रतिनिधिसभाको उम्मेदवार बनाएको छ।
डडेलधुरा क्षेत्रबाट पूर्वप्रधानमन्त्री तथा कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा २०४८ सालदेखि निरन्तर चुनाव जित्दै आएका छन्। २०७९ को निर्वाचनमा देउवाविरुद्ध उम्मेदवारी दिएका स्वतन्त्र उम्मेदवार सागर ढकालले १३ हजारभन्दा बढी मत प्राप्त गरेका थिए। ढकाल केही साताअघि रास्वपामा प्रवेश गरे पनि जिल्लास्तरको विरोधपछि उनी पछि हटेका छन्।
स्रोतका अनुसार देउवाले कांग्रेसको रुख चुनाव चिन्ह लिएर डडेलधुराबाट अन्तिम पटक चुनाव लड्ने इच्छा व्यक्त गरेका छन्। तर विशेष महाधिवेशनबाट कांग्रेस सभापतिबाट पदच्युत भइसकेपछि उम्मेदवार बन्न उनले पार्टीका नवनिर्वाचित सभापति गगन थापाको अन्ततः अनुमति लिनुपर्ने अवस्था सिर्जना भएको छ। टिकट वितरणको सम्पूर्ण जिम्मेवारी अब गगन थापाको हातमा रहेको छ।
काठमाडौँ, भरतपुर र धरानका मेयर क्रमशः बालेन साह, रेणु दाहाल र हर्क साम्पाङले राजीनामा दिइसकेका छन्। भरतपुर महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएर सांसद बन्ने तयारीमा जुटेकी रेणु दाहालले आफूले गरेको कामबाट जनता खुसी भएकाले आफ्नो जित सुनिश्चित रहेको दाबी गरिन्।
यसअघि काठमाडौँ–१ मा नेपाली कांग्रेसका प्रकाशमान सिंहसँग चुनाव लडेको अनुभव रहेको उल्लेख गर्दै अहिले रास्वपासँग डराउनु पर्ने अवस्था नरहेको उनले बताइन्।
बर्दिया–१ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बन्न राष्ट्रियसभा सदस्यबाट राजीनामा दिएका बामदेव गौतम पछि हटेका छन्। नेपाली कम्युनिस्ट पार्टीले बर्दिया–१ बाट विष्णुप्रसाद थारु र २ बाट सुरेश पन्तलाई टिकट दिएको छ।
२०४८ सालदेखि निरन्तर चुनावी राजनीतिमा सक्रिय गौतम २०७४ मा बर्दिया–१ बाट पराजित भएपछि राष्ट्रपतिबाट राष्ट्रियसभा सदस्यमा मनोनीत भएका थिए। २०५१ को मध्यावधि निर्वाचन जितेर गृहमन्त्री बनेका गौतमले २०५६ र २०६४ मा हार व्यहोरेका थिए भने २०७० मा बर्दिया–१ र प्युठान–१ बाट चुनाव जितेका थिए।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.