निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

कलाकारका दीर्घकालीन समस्या मुख्य एजेन्डा बनाएर चुनावी प्रतिस्पर्धामा पौडेल

कलाकारका दीर्घकालीन समस्या मुख्य एजेन्डा बनाएर चुनावी प्रतिस्पर्धामा पौडेल

220
SHARES

काठमाडौँ – निर्वाचनको माहोल तीव्र बन्दै गएको छ। समावेशी समाजवादी पार्टीबाट काठमाडौँ क्षेत्र नम्बर १० मा प्रत्यक्षतर्फको उम्मेदवार बनेका पूर्णचन्द्र पौडेलले कलाकारका दीर्घकालीन समस्या र अधिकारलाई मुख्य एजेन्डा बनाएर चुनावी प्रतिस्पर्धामा उत्रिएको बताएका छन्।

उनले कलाकार समुदायको साझा आवाज संसद्मा पुर्‍याउने उद्देश्यसहित उम्मेदवारी दिएको स्पष्ट पारेका छन्। उनले सबै कलाकारहरू एकजुट रहेको उल्लेख गर्दै, जुनसुकै क्षेत्रका भए पनि राष्ट्रको शिर उच्च राख्न कला, गला र क्षमताले भ्याएसम्म योगदान गर्नु सम्पूर्ण कलाकारहरूको परम कर्तव्य र दायित्व भएको बताएका छन्।

उनले लोक संस्कार, संस्कृति, रीतिरिवाज, धर्म, परम्परा, जातजाति, भाषाभाषी, लोकगीत र सङ्गीतको माध्यमबाट देशको पहिचान उजागर गर्दै आएका कलाकारहरू राष्ट्रको एक अभिन्न अङ्ग भएको धारणा व्यक्त गरेका छन्।

अपिलमा कलाकारहरूको हितका लागि राजनीतिक नेतृत्वबाट आजसम्म पर्याप्त र जोडदार आवाज नउठेको यथार्थलाई पनि औँल्याइएको छ।

मनोरञ्जनका विभिन्न क्षेत्रमा निरन्तर काम गर्दै आएका कलाकारहरूले उचित पारिश्रमिक नपाउँदा जीवन गुजारा नै चलाउन नसक्ने अवस्था भोग्नुपरेको, पारिश्रमिक पाए पनि आधारभूत आवश्यकता पूरा गर्न अपुग हुने समस्या रहेको उल्लेख गरिएको छ। गाँस, बाँस र कपासको अभाव तथा मानसिक तनावका बीच कलाकारहरूले जीवन गुजारिरहेको उनको भनाइ छ।

आर्थिक अभावकै कारण धेरै कलाकारहरूले आफ्नो साङ्गीतिक कला रेकर्ड गर्न नसकेर गाउँपाखा, वनजङ्गलमै आफ्ना आवाजमार्फत पीडा पोख्दै गुनगुनाउन बाध्य भएको उल्लेख गर्दै, विकल्पको अभावमा सिर्जनात्मक क्षमताको उचित प्रयोग हुन नसकेको तथ्य अपिलमा समेटिएको छ। सामान्य रोग लाग्दा पनि आर्थिक अभावका कारण समयमै उपचार नपाई अकालमै ज्यान गुमाउनु परेका घटना भएको भन्दै उनले गहिरो चिन्ता व्यक्त गरेका छन्।

कलाकारहरूको उज्ज्वल भविष्य सुनिश्चित गर्न ‘कलाको सम्मान’लाई मुख्य एजेन्डा बनाएर २०८२ फागुन २१ गते हुन गइरहेको निर्वाचनमा उम्मेदवारी दिएको उनले बताएका छन्। उनले कलाकारका पक्षमा संसद्मार्फत ठोस नीति र कानुनी व्यवस्था गराउने प्रतिबद्धता व्यक्त गरेका छन्।

उम्मेदवारले सार्वजनिक गरेका एजेन्डाअनुसार आर्थिक अभावका कारण कलाकारहरू गीत रेकर्ड गर्नबाट वञ्चित हुन नपर्ने सुनिश्चितता पहिलो प्राथमिकतामा राखिएको छ। त्यसैगरी कलाकारको रोयल्टी र सामाजिक सुरक्षा भत्ता सम्बन्धी स्पष्ट नियम बनाई त्यसको प्रभावकारी कार्यान्वयन गरिनुपर्ने माग उनले अघि सारेका छन्।

कलाकारलाई बिना रोकटोक जुनसुकै देशमा जान सकिने व्यवस्था गर्न निःशुल्क भिसा र टिकट प्रणाली सहज र सरल बनाइनुपर्ने उनको धारणा छ।

त्यसैगरी तोकिएका मापदण्ड पूरा गरेका कलाकारहरूलाई राष्ट्रिय कलाकारको परिचयपत्र प्रदान गरी छुट्टै कलाकार सामाजिक सुरक्षा भत्ता उपलब्ध गराइनुपर्ने एजेन्डा पनि उनले समेटेका छन्।

राम्रो कला, गला र अभिनय क्षमता भएका, कलाकारिता क्षेत्रमा भविष्य र सपना बोकेका व्यक्तिहरूलाई गाउँ–गाउँबाट पहिचान गरी निःशुल्क अवसर प्रदान गर्नुपर्ने आवश्यकता औँल्याउँदै उनले प्रतिभाको खोज र संरक्षण राज्यको दायित्व भएको बताएका छन्। साथै कलाकारहरूका लागि निःशुल्क स्वास्थ्य बीमा व्यवस्था गरिनुपर्ने विषयलाई पनि आफ्नो एजेन्डामा प्राथमिकताका साथ समावेश गरेका छन्।

उम्मेदवार पौडेलले कलाकारका यी मुद्दा केवल चुनावी नारामा सीमित नराखी कानुनी र संरचनागत रूपमा समाधानका लागि संसद्मार्फत पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

समाचार शेयर गर्नुहोस्
220
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.