निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

राष्ट्रिय सभा निर्वाचनमा कांग्रेस–एमाले गठबन्धन विजयी

राष्ट्रिय सभा निर्वाचनमा कांग्रेस–एमाले गठबन्धन विजयी

168
SHARES

काठमाडौँ – राष्ट्रिय सभाको निर्वाचनमा १८ जना सदस्य निर्वाचित भएका छन्। नेपाली कांग्रेस र नेकपा एमालेबीच भएको तालमेल अनुसार नै सातै प्रदेशमा गठबन्धनका उम्मेदवारहरू निर्वाचित भएका छन्।

निर्वाचन परिणामअनुसार नेपाली कांग्रेसका ९, नेकपा एमालेका ८ र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का एक जना उम्मेदवार राष्ट्रिय सभा सदस्यमा विजयी भएका छन्। कोशी प्रदेशबाट दलिततर्फ नेकपा एमालेका सोमनाथ पोर्तेल र महिलातर्फ पनि एमालेकै उम्मेदवार रोशनी मेचे विजयी भएका छन्।

कोशी प्रदेशमै मतदानअघि नै खुला सदस्यतर्फ नेपाली कांग्रेसका सुनिलबहादुर थापा निर्विरोध निर्वाचित भएका थिए, जसले गठबन्धनको अग्रसरता मतदानअघि नै देखाएको थियो।

मधेश प्रदेशमा कांग्रेसका धर्मेन्द्र पासवान र रञ्जित कर्ण, नेकपा एमालेबाट रेखाकुमारी झा र लोसपाबाट महन्थ ठाकुर निर्वाचित भएका छन्। कांग्रेसका पासवान दलित कोटाबाट र कर्ण अल्पसङ्ख्यक कोटाबाट निर्वाचित भएका हुन् भने एमालेकी झा महिला कोटाबाट र ठाकुर अन्य समूहबाट विजयी भएका हुन्।

बागमती प्रदेशमा पनि कांग्रेस–एमाले गठबन्धनका उम्मेदवारहरू विजयी भएका छन्। नेपाली कांग्रेसकी गीता देवकोटा र नेकपा एमालेका प्रेमप्रसाद दंगाल राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएका हुन्।

गण्डकी प्रदेशबाट प्रा.डा. जगत तिमिल्सिना र सम्झना देवकोटा विजयी भएका छन्। नेपाली कांग्रेसबाट उम्मेदवार बनेका जगत अन्य समूह कोटाबाट तथा नेकपा एमालेकी सम्झना महिला कोटाबाट निर्वाचित भएकी हुन्।

लुम्बिनी प्रदेशमा नेपाली कांग्रेसका वासुदेव घिमिरे जङ्गली अपाङ्गता भएकाहरूको समूहबाट र खुलाबाट चन्द्रबहादुर केसी विजयी भएका निर्वाचन आयोगले जनाएको छ। लुम्बिनी प्रदेशमा महिलातर्फ नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्री निर्वाचित भएकी छन्।

कर्णाली प्रदेशमा नेपाली कांग्रेसका ललितजंग शाही र नेकपा एमालेकी मिनासिंह रखाल निर्वाचित भएका छन्। सुदूरपश्चिम प्रदेशमा पनि गठबन्धनकै प्रभाव देखिँदा नेपाली कांग्रेसका खम्मबहादुर खाती र नेकपा एमालेकी लीला भण्डारी विजयी भएका छन्।

सातै प्रदेशमा भएको मतदानमा ९५ दशमलव ६८ प्रतिशत मत खसेको थियो। नवनिर्वाचित राष्ट्रिय सभा सदस्यहरूको कार्यकाल आगामी फागुन २१ गतेदेखि सुरु हुने सङ्घीय संसद् सचिवालयले जनाएकाे छ।

उनीहरूको कार्यकाल ६ वर्षको हुनेछ। कांग्रेस–एमालेबीचको बलियो गठबन्धनका कारण नेपाली कम्युनिस्ट पार्टीका सबै उम्मेदवारहरू यस निर्वाचनमा पराजित हुन पुगेका छन्।

हाल राष्ट्रिय सभामा पहिलो दल रहेको नेपाली कम्युनिस्ट पार्टी निर्वाचन परिणामपछि दोस्रो दलमा झरेको छ। निर्वाचनपछि नेपाली कांग्रेस पहिलो दल बनेको छ भने नेकपा एमाले तेस्रो दल बनेको छ।

समाचार शेयर गर्नुहोस्
168
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.