फाष्ट ट्रयाकको रेखाङ्कन र जिरो बिन्दु परिवर्तनको तयारी

फाष्ट ट्रयाकको रेखाङ्कन र जिरो बिन्दु परिवर्तनको तयारी

441
SHARES

काठमाडौँ – प्रधानमन्त्री सुशीला कार्कीले सडक पूर्वाधारलगायतका विकास निर्माण अघि बढाउँदा धार्मिक विश्वास र सांस्कृतिक सम्पदालाई असर पुर्‍याउन नहुने बताएकी छन्।

मुलुकको प्राथमिकता प्राप्त राष्ट्रिय गौरवको आयोजना काठमाडौँ–तराई मधेश द्रुतमार्ग निरीक्षणका क्रममा मङ्गलवार ललितपुरको खोकनामा आयोजित कार्यक्रममा उनले स्थानीयका सरोकारलाई गम्भीर रूपमा लिई समाधान खोज्न निर्देशन दिइन।

स्थानीय सङ्घर्ष समितिका प्रतिनिधिहरूले द्रुतमार्ग आवश्यक भए पनि यसको प्रवेश बिन्दु र रेखाङ्कन वैज्ञानिक, सामाजिक र सांस्कृतिक प्रभाव मूल्याङ्कनका आधारमा पुनःनिर्धारण गर्नु पर्ने माग गर्दै आएका छन्।

प्रधानमन्त्री कार्कीले भनिन्,“स्थानीयका सरोकारलाई गम्भीरतापूर्वक ध्यान दिई समाधान खोज्नुपर्छ। आवश्यक परेको खण्डमा रेखाङ्कन र जिरोविन्दु समेत परिवर्तनका लागि तयार हुनुपर्छ। उहाँहरूको विश्वासमा आघात नपुग्ने गरी हाम्रा विकास निर्माण अघि बढाउनुपर्छ।”

प्रधानमन्त्री कार्कीले भौतिक संरचना लगायतका निर्माण गरिँदा आवश्यक पर्याप्त खाली ठाउँको व्यवस्था मिलाउन समेत सुझाव दिइन।

उनले भनिन्, “प्राकृतिक विपद्को बेला खुला ठाउँ आवश्यक पर्छ, मानिसको ओहाेरदोहर, मेला, पर्व र भेला तथा जमघटका लागि पनि खुला ठाउँ आवश्यक पर्छ। त्यसकारण खाली ठाउँ देख्ने बित्तिकै संरचना बनाउनुपर्छ भन्ने धारणा त्याग्नुपर्छ। योजना बनाउँदा नै पर्याप्त खाली र खुला ठाउँ छाडेर योजना बनाउने र संरचना निर्माण गर्ने गर्नुपर्छ।”

प्रधानसेनापति अशोकराज सिग्देल र आयोजना प्रमुख उपरथी धर्मेन्द्र झाले आयोजनाको हालसम्मको कार्य प्रगति, चुनौतीलगायतका विषयमा प्रधानमन्त्री कार्कीलाई जानकारी गराएका थिए।

प्रधानमन्त्रीको निरीक्षण टोलीमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री, परराष्ट्रमन्त्रीलगायत थिए।

समाचार शेयर गर्नुहोस्
441
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.