काठमाडौँ – फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन जित्ने उद्देश्यसहित मैदानमा उत्रिएका उम्मेदवारहरू यतिबेला जनताको घरदैलोमा भोट माग्न व्यस्त छन्। जनताको मन जित्न उनीहरूले अनेकन् ‘चटक’ देखाइरहेका छन्।
मतदाताको मतलाई अवमूल्यन गर्दै कुखुराको भाले र बाख्राको पाठोलाई सोधेर पार्टीको चुनाव चिह्नको प्रचार गर्ने अभ्याससमेत देखिएको छ। तर केही उम्मेदवारहरू भने अनौठो शैलीमा मतसँगै ‘नोट’ पनि मागिरहेका छन्।
उम्मेदवारहरूले सार्वजनिक रूपमा आफ्नो बैङ्क खाता नम्बर र क्युआर कोड सामाजिक सञ्जालमार्फत सेयर गर्दै पैसा मागिरहेका छन्। रञ्जु दर्शना, गणेश कार्की, गोमा तामाङ (सरिन), महावीर पुन, टासी लाजोम र हर्क साम्पाङसहितका उम्मेदवारहरूले मतसँगै आर्थिक सहयोग पनि मागेका हुन्।
सुनसरी–१ बाट उम्मेदवार बनेका श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आर्थिक सहयोगसँगै श्रम गर्नका लागि आवश्यक औजारहरू पनि माग्दै आएका छन्। उनले गत पुस महिनामै फेसबुकमार्फत पार्टीको नामबाट खोलिएको बैङ्क खाताको क्युआर कोड सार्वजनिक गर्दै चन्दा मागेका थिए।
आफूहरू विदेशी फन्डिङबाट नचलेको र भारतीय गाडी प्रयोग गर्ने खालको नपरेको दाबी गर्दै पार्टीलाई सहयोग गर्न चाहनेले सहयोग गर्न सक्ने भन्दै क्युआर कोड सेयर गरिएको अध्यक्ष साम्पाङले बताए।
त्यस्तै, रास्वपा मोरङ–३ का उम्मेदवार गणेश कार्कीले पनि भोटसँगै नोट मागेका छन्। उनले फेसबुकमा क्युआर कोड सेयर गर्दै ‘लोकतान्त्रिक अभ्यासअनुसार नागरिकको सहयोग र सहभागिताबाट अभियान अघि बढाउने प्रयास गरेको’ उल्लेख गरेका छन्।
चुनावी स्रोत–साधनका लागि आर्थिक सहयोग गर्न चाहनेहरूका लागि आफ्नो व्यक्तिगत बैङ्क खाताको क्युआर कोड राखिएको उनले बताएका छन्। धेरै नागरिकले आर्थिक सहयोग गर्न इच्छा देखाएकाले त्यसरी क्युआर कोड सार्वजनिक गरिएको उनको भनाइ छ।
काठमाडौँ क्षेत्र नम्बर–१ बाट रास्वपाकी उम्मेदवार रञ्जु दर्शनाले पनि क्युआर कोड सेयर गर्दै लेखेकी छन्, ‘हरेक कार्य गर्न आर्थिक पाटो निकै महत्त्वपूर्ण हुन्छ। यो न त लुकाएर लुकिने कुरा हो, न त नदेखाएर नदेखिने कुरा हो। त्यसैले पारदर्शी रूपमा काम गर्न जरुरी छ। परिवर्तनको यात्रा हाम्रो सानो–ठूलो योगदानबाट सुरु हुन्छ। निर्वाचन अभियान सञ्चालन गर्न तपाईँको आर्थिक साथको पनि आवश्यकता छ। हाम्रो अभियानलाई साथ दिन सक्नुहुनेछ।’
फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि मतदातासँग भोट मात्र होइन, नोट पनि माग्ने यी उम्मेदवार उदाहरण मात्र हुन्। धेरै उम्मेदवारहरूले सामाजिक सञ्जालमा क्युआर कोड र बैङ्क खाताको विस्तृत विवरण राख्दै ‘जति सक्नुहुन्छ, उति दिनुहोस्’ भन्दै पैसा मागिरहेका छन्।
चुनावी खर्चका लागि उम्मेदवारहरूले फेसबुक, एक्स र टिकटकजस्ता प्लेटफर्ममार्फत आर्थिक सहयोग मागिरहेका छन्। मतदातासँग चन्दा माग्नेमा नयाँ उम्मेदवारसँगै सेलेब्रिटी अनुहारहरू पनि छन्।
कसैलाई दबाब वा प्रभावमा नपारी आर्थिक सङ्कलन गर्न पाइने भए पनि तोकेर मागिएको खण्डमा उजुरी परे आयोगले कारबाही अघि बढाउने निर्वाचन आयोगकी सहायक प्रवक्ता सीता पुन श्रीसले बताइन्।
निर्वाचन आयोगले आचारसंहिता उल्लङ्घनको आरोपमा स्पष्टीकरण सोधेका आधाभन्दा बढी उम्मेदवारले जवाफ नदिएको पाइएको छ। सहायक प्रवक्ता श्रीसका अनुसार केन्द्रीय आचारसंहिता अनुगमन समितिमा परेका उजुरीमध्ये हालसम्म २७ जनालाई स्पष्टीकरण सोधिएको छ।
तर तीमध्ये जम्मा १२ जनाले मात्रै आयोगमा स्पष्टीकरण बुझाएका छन्। बाँकी १५ जना उम्मेदवारले आयोगको पत्रलाई बेवास्ता गरेका छन्। स्पष्टीकरण सोधेर पनि कारबाही नगर्ने भन्ने गुनासो चिर्न यसपटक आयोगले कडाइका साथ काम गर्ने जनाएको छ।
स्पष्टीकरण दिएका र बाँकी रहेका उजुरीहरूको अध्ययन गर्न एउटा कार्यदल गठन गरिएको छ। सो कार्यदलको सिफारिसका आधारमा कारबाही गर्ने वा नगर्नेबारे ठोस निर्णय हुने सहायक प्रवक्ता पुनले बताइन्।
आसन्न फागुन २१ गते हुने निर्वाचनका लागि हालसम्म प्रत्यक्षतर्फ २५ जिल्लाका ३० लाख मतपत्र छपाइको काम सकिएको छ। निर्वाचन आयोगले आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता नारायणप्रसाद भट्टराईले प्रत्यक्षतर्फ करिब दुई करोड मतपत्रमध्ये १ करोड ७० लाख छपाइ गर्न बाँकी रहेको जानकारी दिए।
उनका अनुसार दैनिक १२ देखि १५ लाखको सङ्ख्यामा मतपत्र छपाइ भइरहेको छ। मतदाता नामावली छपाइको काम पनि आगामी हप्तासम्म सकिने उनको भनाइ छ। गएको हप्तादेखि प्रत्यक्षतर्फका मतपत्र छपाइ सुरु गरिएको हो।
समानुपातिकतर्फ आवश्यक दुई करोड ८ लाख ३० हजार मतपत्रको छपाइ कार्य भने सम्पन्न भइसकेको छ।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.