टोकियो – राष्ट्रपति रामचन्द्र पौडेलले जापानी व्यापारिक समुदायलाई नेपालमा लगानी र व्यापारका अवसर खोज्न आह्वान गरेका छन्। उनले नेपालमा लगानी तथा व्यापारका लागि नेपाल सरकार हरसम्भव सहयोग गर्न कटिबद्ध रहेको विश्वास व्यक्त गरे।
नेपाल–जापान कूटनीतिक सम्बन्ध स्थापना भएको ७० औँ वर्षगाँठका अवसरमा सोमबार टोकियोमा आयोजित जापानी व्यापारिक समुदायसँगको अन्तरक्रियात्मक कार्यक्रममा राष्ट्रपति पौडेलले यस्तो आह्वान गरेका हुन्।
कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले नेपाल जापानी निजी क्षेत्रसँग घनिष्ठ साझेदारी निर्माण गर्न चाहन्छ भने। “हामीले लगानीमा आकर्षक प्रतिफल, नाफा र पुँजी फिर्तीका लागि सहज प्रक्रियासहितको स्थिर समष्टिगत आर्थिक वातावरण तयार गरेका छौँ,” उनले भने।
“नेपाल सरकार वैदेशिक लगानीमा पूर्ण सहयोग, निर्बाध सहजीकरण र सुरक्षा प्रदान गर्न प्रतिबद्ध छ,” राष्ट्रपति पौडेलले जोड दिए।
उनले नेपाल–जापान कूटनीतिक सम्बन्धको ७० औँ वार्षिकोत्सवको सन्दर्भमा पारस्परिक लाभका क्षेत्रमा गहन सहकार्य अघि बढाउन यो उपयुक्त समय भएको बताए।
राष्ट्रपति पौडेलले गौतमबुद्धको दर्शनले नेपाल र जापान दुवैलाई आल्हादित गरेको उल्लेख गरे। उनले नेपाल–जापान सम्बन्ध सांस्कृतिक रूपले आदिकालदेखि रहँदै आएको बताए।
गौतमबुद्धको भनाइ उद्धृत गर्दै उनले भने, “शान्तिको विजय त्यो हो जसमा कसैको हार हुँदैन।” उनले जापानी लगानीकर्तालाई निर्धक्कसँग नेपालमा लगानी र व्यापार गर्न आग्रह गरे।
कृषि, जलस्रोत र पर्यटन क्षेत्रमा लगानी गरेर नेपाललाई पनि समृद्ध बनाउन र जापानले पनि फाइदा लिन सक्ने उनले बताए।
“नेपालमा लगानी गरे धन पनि हुन्छ, धर्म पनि हुन्छ,” राष्ट्रपति पौडेलले भने। “नेपाल र जापानबीच सद्भाव, मित्रता र सहयोगमा आधारित उत्कृष्ट सम्बन्ध रहिआएको छ,” उनले थपे।
आजको व्यापारिक समुदायको उत्साहजनक सहभागिताले नेपाल–जापानबीच तीव्र व्यापार र लगानी सम्पर्क स्थापित गर्न फलदायी हुने विश्वास उनले व्यक्त गरे।
यो वर्ष नेपाल र जापानबीचको कूटनीतिक सम्बन्धको ऐतिहासिक ७० औँ वार्षिकोत्सव परेको उल्लेख गर्दै राष्ट्रपति पौडेलले सरकारी तहमा मात्र नभई जनस्तरमा पनि सम्बन्ध प्रगाढ हुँदै गएको बताए।
नेपालको सामाजिक–आर्थिक विकास प्रयासमा दशकौँदेखि विश्वसनीय विकास साझेदारका रूपमा जापानले पुर्याएको सहयोगको उनले उच्च प्रशंसा गरे।
उनले राजनीतिक स्थिरतासँगै नेपालको प्रयास सामाजिक न्याय, सुशासन र जनताको समृद्धिमा केन्द्रित रहेको बताए।
यस वर्षको अन्त्यसम्म नेपाल अति कम विकसित मुलुकको हैसियतबाट स्तरोन्नति हुने र सन् २०३० सम्म मध्यम आय भएको मुलुक बन्नु अर्को महत्त्वपूर्ण उपलब्धि हुने उनको भनाइ थियो।
“यस्ता अभियानका लागि ठूलो स्रोत–साधन आवश्यक पर्छ,” राष्ट्रपति पौडेलले भने। “राष्ट्रिय प्राथमिकताका क्षेत्रमा विदेशी लगानी आकर्षित गर्ने, व्यापार विस्तार गर्ने, अन्तर–आबद्धता विविधीकरण गर्ने, पर्यटन प्रवर्धन गर्ने र उच्चस्तरीय प्रविधि हासिल गर्न हामी केन्द्रित छौँ,” उनले स्पष्ट पारे।
उनले आन्तरिक रूपमा सरकार र निजी क्षेत्रबीच हातेमालो र बाह्य रूपमा अन्य देशसँग साझेदारी बिना कुनै पनि मुलुक समृद्ध हुन नसक्ने धारणा राखे।
उदार आर्थिक नीतिको पालना गर्दै नेपालले उत्पादन, जलविद्युत्, पर्यटन, सेवा, सूचना प्रविधि, खानी र कृषिमा आधारित उद्योगलगायत झन्डै सबै क्षेत्र विदेशी लगानीका लागि खुला गरेको उनले बताए।
व्यापार सहज बनाउन, विदेशी लगानी आकर्षित गर्न र नवप्रवर्तन प्रवर्धनका लागि व्यापक कानुनी, प्रक्रियागत र संस्थागत सुधार गरिएको पनि उनले उल्लेख गरे।
“नेपाल लगानी बोर्डले ठूला लगानीकर्तालाई एकद्वार सेवा प्रदान गर्दछ,” राष्ट्रपति पौडेलले भने। अन्तर्राष्ट्रिय मुद्रा कोष, विश्व बैङ्क र प्रमुख अन्तर्राष्ट्रिय मूल्याङ्कन एजेन्सीहरूले नेपालले दक्षिण एसियामै सबैभन्दा अनुकूल मध्येको एक व्यावसायिक वातावरण प्रदान गर्ने पुष्टि गरेको उनले बताए।
भारत र चीनजस्ता विश्वका दुई उदयीमान अर्थतन्त्रबीच नेपाल रहेको भू–अवस्थितिले सम्भावित लगानीकर्तालाई बृहत्तर फाइदा पुर्याउने विश्वास पनि राष्ट्रपति पौडेलले व्यक्त गरे।
कार्यक्रममा जापानका लागि नेपालका कार्यवाहक राजदूत हरिहरकान्त पौडेलले स्वागत मन्तव्य व्यक्त गरेका थिए। परराष्ट्र मन्त्रालयका सचिव अमृत राई र सहसचिव भृगु ढुङ्गानाले नेपालमा लगानीको सम्भाव्यताबारे प्रस्तुति दिएका थिए।
कार्यक्रममा सहभागी जापानी व्यापारिक समुदायका सदस्यहरूले नेपालमा धेरै लगानीका अवसर रहेको थाहा पाउँदा खुसी लागेको प्रतिक्रिया दिएका थिए।
उनीहरूले यस कार्यक्रमले नेपालमा लगानीको ढोका खोल्न योगदान पुग्ने विश्वास व्यक्त गरेका थिए।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.