काठमाडौं – नेपाली कांग्रेसभित्र नक्कली र सक्कली विज्ञप्तिको वारले आन्तरिक विवादलाई थप तीव्र बनाएको छ। नेपाली कांग्रेसको नक्कली लेटरप्याड बनाई दुरुपयोग गरेको आरोपमा पूर्वउपसभापति पूर्णबहादुर खड्का स्पष्टीकरण दिनुपर्ने अवस्थामा पुगेका छन्।
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठकले नेपाली कांग्रेसको नक्कली लेटरप्याड बनाएर प्रयोग गरी आफूसँग नभएको जिम्मेवारी उल्लेख गर्दै आफू पार्टीको जिम्मेवारीमा छु भनी खड्काद्वारा अनधिकृत रूपमा चैत ३० गते प्रेस विज्ञप्ति जारी गर्ने कार्य पार्टीको विधान विपरीत देखिएको ठहर गरेको छ। कांग्रेसको विधान २०१७ (संशोधन सहित) को धारा ३४ को उपधारा ८ (घ) बमोजिम सात दिने स्पष्टीकरण सोध्ने निर्णय बैठकले गरेको छ।
यसअघि, कांग्रेस केन्द्रीय अनुशासन समितिको चैत १८ गतेको निर्णयानुसार विभिन्न सञ्चार माध्यम तथा सामाजिक सञ्जालहरूमा नेपाली कांग्रेसको नक्कली लेटरप्याड बनाएर प्रयोग गरी आफूसँग नभएको जिम्मेवारी उल्लेख गर्दै आफू पार्टीको जिम्मेवारीमा छु भनी चैत १४ गते अनधिकृत वक्तव्य जारी गर्ने कार्य गलत भएको भन्दै एक पटकका लागि सचेत गराउने निर्णय गरिएको थियो।
तर अनुशासन समितिबाट सचेत गराउँदा गराउँदै पनि पुनः चैत ३० गते खड्काद्वारा सोही प्रकृतिको कार्य दोहोरिएपछि सात दिने स्पष्टीकरण सोध्ने निर्णय गरिएको कांग्रेसले जनाएको छ।
प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ का सन्दर्भमा पार्टीका सदस्यहरूले अनुशासन उल्लङ्घन गरेका भए सोको उजुरी २०८२ चैत मसान्तभित्र नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिमा पठाउन निर्देशन गरिएकोमा सोको समयावधि २०८३ वैशाख मसान्तसम्म थप गर्ने निर्णय पनि कांग्रेसले गरेको छ।
देशको पुरानो लोकतान्त्रिक पार्टी नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिक गर्नै पर्ने बाध्यकारी अभियान सुरु गरेको छ, जसलाई कांग्रेसले ‘जरा अभियान’ नाम दिएको छ। क्रियाशील सदस्यता अनिवार्य अद्यावधिक गर्नुपर्ने व्यवस्थाको विरोधमा पूर्वउपसभापति खड्काले विज्ञप्ति निकालेका थिए।
विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन कुमार थापाले आफ्नो सदस्यता अद्यावधिक गरेर जरा अभियान सुरु भएको घोषणा गरेका छन्। कांग्रेसको यो अभियान वैशाख १५ गतेसम्म सञ्चालन हुनेछ र यस अभियानमा जोडिन सभापति थापाले आह्वान गरेका छन्।
चुनाव चिन्ह रुख रहेको कांग्रेसको जरा अभियान पार्टीका असन्तुष्ट पक्षलाई निहुँ खोज्ने बहाना बनेको छ। हाँगा–विगा सुकेर बुढो भएको रुखको जरामा पानी हालेर हरियो बनाउने सभापति थापाको अभियान तत्काल आवश्यक नरहेको पूर्वसभापति शेरबहादुर देउवा पक्षको तर्क छ।
खड्काले नयाँ सरकार बने लगत्तै पूर्वगृहमन्त्री रमेश लेखकको पक्राउको विरोधमा खड्काले कांग्रेसको लेटरहेड प्रयोग गर्दै वक्तव्य जारी गरेका थिए। त्यसपछि क्रियाशील सदस्यता अद्यावधिक गर्ने अभियानबारे पनि कार्यवाहक सभापतिकै हैसियतमा दोस्रो वक्तव्य जारी गरेपछि कांग्रेस एक नभएको सन्देश प्रवाह भएको छ, जसले सभापति थापालाई सार्वजनिक रूपमा धारणा राख्नुपर्ने बाध्यता सिर्जना गरेको छ।
कांग्रेसको जरा अभियान अन्तर्गत काठमाडौँको वडा नम्बर ३० मा आयोजित कार्यक्रममा सभापति थापाले अब धेरै नसहने बताएका थिए।
निर्वाचन आयोगले विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको कार्यसमितिलाई मान्यता दिएपछि तत्कालीन सभापति शेरबहादुर देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सर्वोच्च अदालतमा रिट निवेदन दिएका छन्, जुन हाल विचाराधीन अवस्थामा छ।
खड्काले अहिले पनि कार्यवाहक सभापतिकै हैसियतमा गरिरहेको काम नक्कली भएको आरोप लागेको छ। क्रियाशील सदस्यता अद्यावधिक अभियानमा सहभागी नहुने खड्का पक्षले जनाएको छ, जसलाई देउवा पक्षका नेता डा. प्रकाशशरण महतले आवश्यक नै नभएको प्रतिक्रिया दिएका छन्।
चुनावी नतिजाले कमजोर बनेको कांग्रेसभित्रको आन्तरिक किचलो सतहमा आएको छ। सर्वोच्च अदालतमा मुद्दा विचाराधीन हुँदा दुवै पक्षले आफूलाई आधिकारिक भएको दाबी गरिरहेका छन्, जसले लोकतान्त्रिक पार्टी कांग्रेसभित्रको घरझगडा छताछुल्ल भएको छ। दुवै पक्षबीच संवाद समेत नहुँदा अब कांग्रेसको विवाद ‘वार कि पार’को अवस्थामा पुगेको देखिएको छ।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.