कांग्रेस असन्तुष्ट पक्षको अडान: गगनले नै निम्तो दिनुपर्ने

कांग्रेस असन्तुष्ट पक्षको अडान: गगनले नै निम्तो दिनुपर्ने

109
SHARES

काठमाडौं – नेपाली कांग्रेसको आधिकारिकता विवाद अर्थात् कानुनी लडाई सकिएको छ। तर लोकतान्त्रिक इतिहास बोकेको पार्टीभित्र स्वाभिमानको सङ्घर्ष अझै समाप्त भएको छैन।

एकताबद्ध गर्ने जिम्मेवारी सानेपा पुगेको छ भने असन्तुष्ट पक्ष सानेपाको निम्तो कुरेर बसेका छन्। सानेपाले निम्तो कार्ड पठाउन अझै गमिरहेको छ, जसले पार्टीभित्र संवादको गति सुस्त बनाएको देखिएको छ।

फागुन २१ को चुनावमा हरिबिजोग तरिकाले जनमत गुमाएको कांग्रेस फुट्ने भन्दा पनि जुट्ने तिर लागेको देखिएको छ, तर यो जुटाइ स्वाभिमान र सम्मानको आधारमा हुनुपर्ने असन्तुष्ट पक्षको अडान छ। जसका लागि आधिकारिकता प्राप्त गरेको गगन थापा जिम्मेवार हुनुपर्ने असन्तुष्ट पक्षको माग छ।

आफैँ लुरुलुरु सानेपा नजाने अडानमा असन्तुष्ट पक्ष देखिएको छ। यो स्वाभिमानको समेत कुरा भएको असन्तुष्ट पक्षका नेता कुन्दनराज काफ्लेले बताए।

सर्वोच्च अदालतको फैसलापछि दोधारमा रहेका कांग्रेसका कुनै गुट–उपगुटमा नलागेका नेता–कार्यकर्ता रुख जता, आफूहरू त्यतै भन्ने लाइनमा देखिएका छन्। तर, पूर्वपदाधिकारीहरू भने अझै रोइलो गरिरहेका छन् र बिपी कोइरालाको इतिहास कोट्याइरहेका छन्।

छुट्टै पार्टी खोल्ने हल्ला समेत चलाइएका छन्। गगनलाई गलाउन असन्तुष्ट पक्षले निरन्तर गुट भेला चलाइरहेको छ। जुन भेलामा सहभागी कांग्रेस नेताहरू अब पार्टीलाई एकताबद्ध गराउने जिम्मेवारी गगन थापाकै हातमा रहेको बताउँछन्। अहिले नै पार्टी फुटाएर जाने छलफल नभएको कांग्रेस नेता श्याम घिमिरेले बताए।

राणा शासन ढाल्ने जब्बर कांग्रेस यतिबेला इतिहासकै कमजोर अवस्थामा पुगेको छ। लोकतान्त्रिक आन्दोलनको गौरव बोकेको पार्टीभित्र आत्ममन्थनको आवश्यकता देखाएको छ।

कांग्रेस संसदमा कमजोर प्रतिपक्षको रूपमा उभिएको छ भने जनताको आवाज बुलन्द गर्ने जिम्मेवारी निर्वाह गर्नुपर्नेमा आन्तरिक किचलोमा रुमलिएको छ। यसले कांग्रेस खिइँदै जान लागेको टिप्पणीहरू भइरहेका छन्।

कानुनी लडाई सकिएपछि अब आधिकारिकता पाएको पक्ष र असन्तुष्ट पक्ष एकै ठाउँमा बसेर विमति अन्त्य गर्नुपर्ने आवश्यकता कांग्रेसभित्र देखिएको छ। तर, त्यसका लागि गगन थापाले नै पहल गर्नुपर्ने निष्कर्ष असन्तुष्ट पक्षले निकालेको कांग्रेस नेता शिव प्रसाद हुमागाईँले बताए।

विशेष महाधिवेशनबाट निर्वाचित नेतृत्व नियमित १५ औँ महाधिवेशनको तयारीमा लागेको छ। यसलाई एकताको महाधिवेशन बनाउनुपर्ने दबाब बढ्दो छ।

विगतका मनमुटाब अन्त्य गरी एकतामा आउन सभापति गगन पक्षले आव्हान गरेको छ। तर व्यवहारमा त्यसको प्रभावकारिता परीक्षणकै चरणमा छ।

विशेष महाधिवेशनमा भाग लिएको या नलिएको भनेर फरक व्यवहार कांग्रेसभित्र नहुने र पार्टीलाई एकताबद्ध गराउन वर्तमान नेतृत्वले कुनै कसर बाँकी नराख्ने प्रवक्ता देवराज चालिसेले प्रस्ट पारे।

राजनीतिक रूपमा बाँकी रहेको कांग्रेसभित्रको विवाद समाधानका लागि वर्तमान नेतृत्वले वार्ता र संवाद जारी राखेको जनाएको छ। आउन चाहनेका लागि ढोका खुल्ला राखिएको बताएको छ। तर, जबरजस्ती भने कसैलाई पनि नगरिने प्रवक्ता चालिसेले बताए।

इतिहास बोकेको लोकतान्त्रिक पार्टी नेपाली कांग्रेसमा एकता अनिवार्य रहेकोमा दुवै पक्ष एकमत देखिएका छन्। पार्टीको विधान अनुसार असन्तुष्ट पक्षलाई एउटै मालामा उन्ने जिम्मेवारी वर्तमान संस्थापन पक्षकै काँधमा आइपुगेको छ।

अब मेरो गोरुको बाह्रै टक्का भनेर बस्नु भन्दा स्वाभिमान जोगाउँदै सहमति र सहकार्यको बाटो समातेर अगाडि बढ्नु नै कांग्रेसका लागि हितकर देखिएको छ।

समाचार शेयर गर्नुहोस्
109
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.